coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली समस्यै समस्याको पोको : नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यताबाट हटाउने तयारी भइरहेको बताएका छन्। सुर्खेतस्थित वीरेन्द्रनगरमा बिहीबार आयोजित पार्टी भेलामा अध्यक्ष नेपालले कम्युनिस्टको खोल ओढेका तानाशाहलाई पार्टीभित्र कुनै स्थान नभएको उल्लेख गरे।

अध्यक्ष नेपालले कम्युनिस्टमा पार्टीभन्दा नेता ठूलो नहुने तर ओली पार्टीभन्दा माथि हुन खोजेको बताए। ‘ओलीमा कम्युनिस्टसँग हुने गुन छैन,’ नेपालले भने, ‘त्यसैले पहिलादेखि पार्टी एकता गर्दासम्म समस्यै समस्या भएका छन्।’ उनले ओलीले प्रतिनिधिसभा विघटन गरी संविधानमाथि घात गरेको बताए। ओली समस्यै समस्याको पोको भएको उनको भनाइ थियो।

ओली समूहलाई धुले पार्टीको संज्ञा

अध्यक्ष नेपालले ओली समूहलाई सडकको धुले पार्टीको संज्ञा दिए। उनले भने, ‘त्यो कम्युनिस्ट पार्टी होइन।’ उनले अलमलिएर सडक धुले पार्टीमा गएका नेताकार्यकर्तालाई मूल घरमा फर्किन पनि आग्रह गरे। ‘अलमलिएर गएकालाई हराएको भन्न मिल्दैन,’ उनले भने, ‘त्यसैले कम्युनिस्टको मूल घरमा फर्किनुस्।’ नेपालले ओलीको भविष्य नभएकाले उनको गुलियो बोलीमा कार्यकर्ता भुल्न नहुने बताए।

कुकुरको पुच्छर बांगाको बांगै

अध्यक्ष नेपालले ओलीको बानीबेहोरालाई कुकुरको पुच्छरसँग तुलना गरे। उनले बांगो पुच्छर सोझिन्छ कि भनेर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले टिनका टिन तेल खर्च गरेको तर काम नलागेको बताए। ‘प्रचण्डले कुकुरको पुच्छर सोझिन्छ कि भनेर टिनका टिन तेल खर्च गर्नुभयो,’ नेपालले भने, ‘त्यति गरेर मालिस गर्दा पनि पुच्छर सोझिएन।’

प्रकाशित: ९ माघ २०७७ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App