१६ चैत्र २०८० शुक्रबार
राजनीति

आज नेपाल–दाहाल समूहले राजधानीमा जनशक्ति प्रदर्शन गर्ने

विघटनको विरोधमा काला बेलुन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहले शुक्रबार राजधानी काठमाडौंमा जनशक्ति प्रदर्शन गर्ने भएको छ। नेपाल–दाहाल समूहले प्रतिनिधिसभा विघटनको विरोध र पुनस्र्थापनाको पक्षमा गर्न लागिएको प्रदर्शन र सभामा एक लाखभन्दा बढी मानिस सहभागी हुने दाबी गरेको छ। प्रधानमन्त्री केपाी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा ओली र नेपाल–दाहाल समूहमा विभाजित छ।

नेकपा नेपाल–दाहाल समूहले शुक्रबार बिहान ११ बजे काठमाडौंका विभिन्न १० स्थानबाट जुलुस निकाल्ने जनाएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको संघर्ष समितिले विरोध प्रदर्शन र सभाको कार्यतालिका सार्वजनिक गरेको छ। संघर्ष समितिले पार्टीका प्रदेश, जिल्ला, जनवर्गाीय संगठन, मोर्चालगायत सांगठनिक संरचनाहरूलाई सभामा सहभागी हुन निर्देशन दिएको छ। जुलुस र सभामा काठमाडौं उपत्यका बाहिरबाट पनि सर्वसाधारण, नेताकार्यकर्ता र शुभेच्छुक सहभागी हुने बताइएको छ। सभाको पूर्वसन्ध्यामा बिहीबार साँझ बबरमहलबाट मसाल जुलुस निकिालियो। यसैगरी काठमाडौंका विभिन्न स्थानबाट काला बेलुनसमेत उडाइयो।  

पार्टी स्थायी कमिटीका सदस्यहरूले माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसलगायत स्थानबाट जुलुसको नेतृत्व गर्नेछन्। जुलुसमा ७४ जिल्लाका सम्पर्क मञ्च, सबै जनवर्गीय संगठन, पार्टीका शुभचिन्तहरूलाई सहभागी हुन निर्देशन र आग्रह गरिएको छ। सर्वसाधारण जनतालाई पनि प्रतिगमनविरुद्ध उभिन आग्रह गरिएको छ। 

जनवर्गीय संगठन र सम्पर्क मञ्चहरूलाई संख्या तोकेर जुलुसमा मानिस सहभागी गराउन निर्देशन दिइएको छ। विभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भई मूल जुलुसमा परिणत हुने र उक्त जुलुस पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुने संघर्ष समितिका सहसंयोजक एवं प्रवक्ता योगेश भट्टराईले जानकारी दिए। ‘हामीले पार्टीका शीर्ष नेताहरूले जुलुसको नेतृत्व गर्ने स्थान तोकेका छौं।  

उहाँहरूले नेतृत्व गरेको जुलुस मूल जुलुसमा सहभागी भएर आमसभामा परिणत हुनेछ’, उनले भने। जुलुसको नेतृत्व पार्टी प्रवक्ता श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, बेदुराम भुसाल, भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाई, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, भट्टराईले गर्नेछन्। विरोधसभामा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले सम्बोधन गर्नेछन्।

प्रकाशित: ९ माघ २०७७ ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App