coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संविधान च्यात्न चाहन्छन् प्रधानमन्त्री : कांग्रेस केन्द्रीय सदस्य चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको संविधाननै भंग गर्ने ‘गेम प्लान’ को प्रारुप संसद विघटन भएको बताएका छन् । उनले प्रधानमन्त्रीको योजना संसद मात्रै हैन, संविधाननै च्यात्नु रहेको बताए । 

बिगतदेखिनै ओली संविधानदेखि असहमत रहँदै आएको भन्दै उनले भने ‘ओलीले संसद मात्रै हैन, संविधाननै ध्वस्त पार्न चाहन्छन् ।’ ओलीले संविधानले गरेका ब्यवस्थाहरु संघीयता ,गणतन्त्र, समावेशीताका बिषयका विरुद्ध बोलेको स्मरण गर्दै चौधरीले त्यसले पनि प्रधानमन्त्री संविधाननै ध्वस्त पार्न चाहन्छन् भन्ने प्रष्टै हुने चौधरीको दाबी छ ।

‘बिगतमा हेर्नुस् ओलीले संविधानले गरेका व्यवस्थाहरु संघीयता,गणतन्त्र, समावेशिता जस्ता कुनै पनि बिषयलाई स्वीकार गर्न सकेनन्, उनि यि बिषयको खिलापमा रहेर बोले,’ नागरिकसंग उनले भने ‘यसले पनि के पुष्टि गर्छ भने ओलीले यो संविधान चाहेका थिएनन्, फलतः अहिले च्यात्न चाहन्छन् ।’ 

उनले पुष्पकमल दाहालसंगको पार्टी एकताको प्रमुख कारण पनि संविधान ध्वस्त पार्ने नियोजित चाल भएको बताए । प्रचण्डलाई आफूमा बिलिन गराएर दुई तिहाईको बल पुग्ने र आफूले जे गर्न पनि सक्ने मनसाय ओलीमा रहेको योगेन्द्रले बताए । ‘पार्टी एकता गरेपछि प्रचण्ड आफूमा बिलिन हुन्छन्, अनि दुई तिहाईको बल आफूले पाउँछु भन्ने मनसाय ओलीले बोके,’ उनले भने ‘दुई तिहाईको बलमा आफूले संविधान च्यात्ने र आन्दोलनमा आउन सक्ने प्रचण्ड निरिह बन्ने उनको आँकलन थियो ।’

यसैगरि उनले ओली अहिले कांग्रेसलाई समेत उनको असंवैधानिक कदमको साक्षी राख्न कांग्रेस भित्र खतरनाक खेल खेलिरहेको समेत बताए । ‘कांग्रेसलाई पनि प्रभावमा पारेर आफ्नो असंवैधानिक कदमको सहयात्री बनाउन गेम खेलिरहेका छन्,’ चौधरीले भने ‘तर कांग्रेस संविधानकाे हत्या गर्ने सम्मको योजना बुन्ने ओलीको मतियार बन्दैन, हेक्का रहोस् उनले हत्या गर्न चाहेको संविधान निर्माता कांग्रेस हो ।’ 

प्रजातन्त्रवादी पार्टी भएर पनि चुनावदेखि डराएको भन्दै कांग्रेसलाई केपी समूहले उकास्न खोजिरहेको उनको भनाइ छ । उनले यो बिषयमा थपे ‘हिँजो राजा ज्ञानेन्द्रले पनि चुनाव गर्न खोजेका थिए, तर कांग्रेस चुनावको बिरोधमा सडकमा उत्रिएको थियो, आज केपी ओलीले गर्न थालेको चुनाव पनि उस्तै असंवैधानिक हो, संविधानको रक्षाकवचका रुपमा रहने कांग्रेस संविधानलाई मार्ने चुनावको पक्षमा रहन्न ।’ 

राजनीतिका नाममा मुलुकमा अस्थिरता लाद्न, गैरसंवैधानिक कुरालाई मानेर जाने कुरामा कांग्रेस कहिल्यै सहमत नभएको भन्दै उनले गैरसंवैधानिक कदमको बिरोधमा कांग्रेसले जहिल्यै खबरदारी गरिरहने बताए । 

 

यो पनि पढ्नुहोस्

‘भरतपुरमा माओवादीले मतपत्र च्यात्न लगायो’

 

प्रकाशित: ६ माघ २०७७ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App