coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अदालतलाई धम्क्याइयो : दाहाल

आरोप–प्रत्यारोपको जुहारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहबीच आरोपप्रत्यारोपको जुहारी चलेको छ। नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संवैधानिक अंगहरूलाई धम्क्याएर प्रभावमा पार्न खोजेको आरोप लगाए। ओलीले पनि दाहाल–नेपाल समूहले निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाएका छन्।  

दाहालले भने ओलीको आरोपको खण्डन गर्दै आफूले संवैधानिक निकायलाई नधम्क्याएको बताएका छन्। ‘हामीले अदालतलाई पनि धम्क्याएका छैनांै, निर्वाचन आयोगलाई पनि धम्क्याएका छैनौं। हामीले विश्वास मात्रै दिलाएका हांै तर ओलीजीले विभिन्न बहानामा अदालत र निर्वाचन आयोगलाई धम्क्याउनु मात्रै भएको छैन, उहाँको त सेटिङ नै छ रे,’ दाहालले भने।  

नेकपा नेपाल–दाहालनिकट युवा विद्यार्थीको भेलालाई आइतबार सम्बोधन गर्दै दाहालले आक्रामक भएर आन्दोलनमा सहभागी हुन निर्देशन दिए। उनले अब साकाहारी आन्दोलनले नहुने भएकाले बलिदान दिन पनि तयार हुनुपर्ने बताए। ‘म त हिजो जनयुद्ध गर्दा पनि मर्न तयार भएर हिँडेको थिएँ र फेरि पनि मर्न तयार छु। त्यसकारण भेजिटेरियन (साकाहारी) खालको आन्दोलनले अब काम हुँदैन,’ दाहालले भने। उनले मुलुकलाई अँध्यारो सुरुङतर्फ लैजाने सेटिङ भएको शंका लागेको बताए। ‘हामीले अदालत र निर्वाचन आयोगलाई अहिले केही भन्दैनौं तर केपी सेटिङलाई त शंका गर्न पाइयो नि,’ दाहालले भने। उनले प्रतिनिधिसभा पुनस्र्थापना पनि नहुने तथा निर्वाचन आयोगले दलको आधिकारिकता र सूर्य चिह्न पनि ओली नेतृत्वको नेकपालाई नै दिने सेटिङमा काम भइरहेको आशंका व्यक्त गरे।  

दाहालले सात दशक लामो संघर्षपछि प्राप्त उपलब्धिमाथि प्रहार हुँदा आफूहरूले खुसियाली मनाउन नसक्ने बताए। ‘जनताले लडेर ल्याएका उपलब्धिमाथि प्रहार हुँदा हामी उत्सव मनाउन सक्दैनौं,’ उनले भने। दाहालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहारले देश स्तब्ध हुँदा प्रधानमन्त्री ओली हाँस्दै हिँडेको आरोप लगाए। ‘गणतन्त्रको उत्सवमा जनता नाच्दै हिँड्दा तपाईं रुँदै हिँड्नुभएको थियो। बयलगाडाको कथा हाल्दै। आज तपाईंले संविधानमाथि प्रहार गर्दा सिंगो देश स्तब्ध छ तर तपाईं हाँस्दै हिँड्नुभएको छ,’ उनले भने।  

कार्यक्रममा नेपाल–दाहाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओली कमरेड नभएर प्रतिक्रान्तिकारी भएको बताए। ‘ओली अब कमरेड होइनन्, प्रतिक्रान्तिकारी हुन्। उनले जनमतको अपमान गरेका छन्, उनी दक्षिणपन्थी भासमा फसेका छन्,’ खनालले भने।  

उनले ओलीले गणतन्त्रलाई नै संकटमा पारेका आरोप लगाए।  

कार्यक्रममा स्थायी कमिटी सदस्य भीम रावलले प्रधामन्त्री ओली ‘भगुवा’ भएको आरोप लगाए। उनले भने, ‘संसद् र पार्टीबाट भाग्नेलाई शब्दकोषमा एक नम्बरको भगुवा भनिन्छ ।’ रावलले ओलीमाथि संविधानविपरीत कार्य गरेको र संविधान नै मास्न खोजेको दोषारोपण पनि गरे। ‘तपाईं संविधानको कुन धाराअन्तर्गतको प्रधानमन्त्री हो ? जवाफ दिनुस् ओलीजी,’ रावलले भने। ओलीले संविधान र पार्टीमाथि नै खुँडा चलाएको भन्दै रावलले कम्युनिस्ट पार्टी र इतिहासमा सबैभन्दा घात गर्ने नेता ओली भएको बताए। 

प्रकाशित: ५ माघ २०७७ ०१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App