जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्रीले आफ्नो नाम अनुसार नै संसदमाथि खड्ग प्रहार गरेर संविधानलाई नै सिध्याउन खोजेको आरोप लगाएका छन् ।संसद विघटनविरुद्ध जसपाले आज धरानमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो आरोप लगाएका हुन् ।
उनले प्रधानमन्त्रीको पुरा नाम खड्ग प्रसाद शर्मा ओली भएको उल्लेख गर्दै संसदमाथि खड्ग अर्थात तरबार प्रहार गरेको बताए । ‘खड्ग भनेको तरबार हो, त्यसको काम काट्ने हुन्छ,’ नेता राईले भने ,‘यसपाली आफ्नो नाम अनुसारकै संसद सिध्याउने काम गर्नुभयो । संसदमाथि खड्ग प्रहार गरियो ।’
नेता राईले कोभिडको महामारीबाट पीडित जनतालाई उपचारको व्यवस्था गर्नुपर्नेमा चुनावतिर लागेको भन्दै कटाक्ष पनि गरे । उनले भने ,‘जनतालाई उपचारको व्यवस्था गर्नुपथ्र्यो, उपकरणको व्यवस्था गर्नुपथ्र्यो, भ्याक्सिनको व्यवस्था गर्नु पथ्र्यो तर सरकार काम कुरा एकातिर, कुम्लो बोकी चुनावतिरको अवस्थामा छ ।’ उनले शिक्षाको अवस्था, स्वास्थ्यको अवस्था अस्तव्यस्त भएपनि प्रधानमन्त्री ओली एक्लै चुनावी भाषण गर्दै हिडिरहेको बताए । ‘लोकतन्त्रमाथि धावा बोलेर, संविधान मिचेर अहिले फेरि दुई तिहाई भोट चाहियो रे,’ उनले भने ,‘के को लागि फेरि चाहियो दुई तिहाई ? ओम्नी काण्डको लागि ? प्रिन्टिङ प्रेसमा ७० करोड कमिशनको लागि ?’
नेता राईले अहिलेको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था नै नभएको दाबी गरे । विगतमा बहुमत पाएको प्रधानमन्त्रीले नै संसद भंग गर्ने गरेको कारण २०७२ सालको संविधानमा त्यो प्रावधान हटाएको उनको जिकिर थियो ।
सोही सभालाई सम्बोधन गर्दे केन्द्रीय कार्यकारिणी सदस्य पर्शुराम खापुङले संविधान अपुरो भएपनि उपलब्धी जोगाउदै विधिसम्मतरुपमा संशोधन गर्नुपर्ने जसपाको धारणा रहेको बताए । ओलीको कदमले संविधान कागजको खोस्टामा परिणत हुने भन्दै उनले आन्दोलन गरेर संविधान र मुलुकलाई जोगाउने बताए । अर्का केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीले प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति ट्रम्प एकै प्रवृत्तिको भएको टिप्पणी गरे । अर्का नेता रकम चेम्जोङले देशीविदेशी प्रतिक्रियावादीहरुको उक्साहटमा लागेर देशलाई अन्धकारमा धकेलेको आरोप लगाए ।
प्रकाशित: ३ माघ २०७७ १९:३७ शनिबार