१६ चैत्र २०८० शुक्रबार
राजनीति

कर्णालीमा ओली समूहको 'साइबर फोर्स' गठन

केही समय अगाडि पूर्वगृहमन्त्री भीम रावलको अभिव्यक्ति थियो, ‘मलाई ओलीका ‘साइबर सेना’ ले बदनाम गराउन खोजे।’ त्यस लगत्तै नेकपा केपी शर्मा ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले साइबर सेना बनाउने उद्घोष मात्रै गरेनन् जिल्ला दौडाहमा साइबर सेना बनाउने घोषणा गर्दै आएका छन्। त्यसपछि प्रधानमन्त्री ओलीका समर्थकहरूका लागि प्रयोग हुने चल्तीका शब्द अरिंगाल र हनुमान सामान्य बने। नेकपा अध्यक्षसमेत रहेका ओलीको प्रतिरक्षामा उत्रिनेलाई साइबर सेनाको संज्ञा दिन थालियो। त्यसकै निरन्तरता दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ओली समूहले कर्णालीमा पहिलोपटक साइबर फोर्स गठन गरेको छ। सरकारले गरेका राम्रा काम जनतासम्म सहज र छिटो पुर्‍याउने उद्देश्यले कर्णालीमा उक्त साइबर फोर्स गठन भएको हो।

केन्द्रमा साइबर सेना गठन नहुँदै युवा संघको विभागका रुपमा पहिलोपटक कर्णालीमा विद्यार्थी नेता राजेन्द्र अधिकारीको नेतृत्वमा साइबर फोर्स गठन गरिएको छ। अधिकारीलाई साइबर फोर्सको कर्णाली प्रदेश प्रमुख भनिएको छ। उक्त फोर्समा उनीसहित २८ जना सदस्य रहेका छन्। कर्णालीको जाजरकोटमा पनि उक्त फोर्स गठन भएको र अन्य जिल्लामा विस्तारको प्रक्रिया अगाडि बढाइएको साइबर फोर्स कर्णालीका प्रमुख अधिकारीले बताए। ‘हामीले केन्द्र, प्रदेश र जिल्लाका पार्टीसँग सहकार्य गरेर साइबर फोर्स गठन गरेका छौं,’ उनले भने, ‘सरकारले गरेका राम्रा काम जनतासम्म छिटो र सहज ढंगले पुर्‍याउने काम गर्नेछौं।’ 

अहिलेको पुस्ता सोच, विचार र क्रियाकलाप सामाजिक सञ्जालमा प्रयोग गर्दै आएको हुँदा इन्टरनेटका माध्यमबाट सामाजिक सञ्जाल प्रयोग गर्न साइबर फोर्स गठन गरिएको उनको भनाइ छ। ‘सामाजिक सञ्जाल असल विचार र व्यवहारको सम्प्रेषण गर्ने थलो भएता पनि यसको गलत प्रयोग गर्दै जनताबीच भ्रम छर्ने र समयलाई नकारात्मक दिशातर्फ मोड्न एउटा शक्ति प्रयत्नरत देखिन्छ,’ उनी भन्छन्, ‘यस्तोखाले भ्रम चिर्न व्यक्तिगत लाल्छना र गालीगलौज नभइ सत्यतथ्य विषय जनतासम्म पुर्‍याउँछौं।’ साइबर फोसमार्फत कर्णालीका जनतालाई सजग र सचेत बनाउने उनको भनाइ छ।

सबैखाले कूरीति, कूसंस्कार, प्रतिगमन, गैरराजनीतिक क्रियाकलापविरुद्ध सामाजिक सञ्जालमार्फत जनतासम्म सचेतना अभियान सञ्चालन गर्ने साइबर फोर्स कर्णालीले जनाएको छ। व्यक्तिवादी चिन्तनबाट माथि उठेर राष्ट्रिय हितमा भएका गतिविधिको जनतामा प्रष्टरुपमा सचेतना जागृत गर्ने कार्य साइबर फोर्सले गर्ने बताइएको छ। सरकारले गरेका जनमुखी, विकासका कामहरुको जनतामा सही जानकारी छिटो छरितोरुपमा सामाजिक सञ्जालमार्फत पुर्‍याउने कार्य गर्ने साइबर फोर्सको प्रमुख उद्देश्य हो। प्रगतिशिल कम्युनिस्ट विचार सिद्धान्त व्यवहारसम्बन्धी ज्ञानमूलक जानकारी प्रदान गर्ने तथा प्रचारप्रसार गर्नेसमेत उक्त फोर्सको उद्देश्य गरेको छ।

‘सामाजिक सञ्जालमा नेतृत्वप्रति अपमान, मानमर्दन तथा अपशब्द प्रयोग गर्ने क्रियाकलापविरुद्ध सचेतनात्मक आवाज उठाउने,’ उक्त फोर्सको उद्देश्य छ, ‘नियोजतरुपमा नेतृत्वको चरित्रहरुमा गर्नेखालका क्रियाकलापविरुद्ध सशक्तरुपमा प्रतिवाद गर्ने।’ साहीअनुसार फेसबुक पेज पनि बनाइएको छ। साइबर फोर्स भनिए पनि फेसबुक पेजमा ‘साइबर सेना’ नाम दिइएको छ। त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर राखिएको छ।

प्रकाशित: १ माघ २०७७ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App