coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्रीको भारत भ्रमणः महत्वपूर्ण सम्झौता नगर्न सुझाव

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणका लागि बिहीबार त्यसतर्फ जाँदैछन् । कतिपय जानकारले मन्त्री ज्ञवालीको भ्रमण समय अनुकूल नभएको टिप्पणी गरेका छन् । कतिपयले भ्रमण गरे पनि दुईपक्षीय महत्वपूर्ण सम्झौता नगर्न सुझाव दिएका छन् ।

मन्त्री ज्ञवालीको भ्रमणप्रति ध्यानाकर्षण भएको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख, कूटनीतिक क्षेत्रका जानकार, बुद्धिजीवीलगायतको समूहले बुधबार विज्ञप्ति जारी गरी महत्वपूर्ण सम्झौता नगर्न सचेत गराएको छ । ‘परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन माघ १ देखि ३ गतेसम्म भारत भ्रमण गर्ने उल्लेख गरेको बेहोराप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा छ ।  

उक्त समूहले सीमा विवादलगायतका कारण भारतसँग चिसिएको सम्बन्धलाई पुनः सम्मानजनक अवस्थामा पु¥याउन र कोभिड–१९ विरूद्धको भ्याक्सिन प्राप्त गर्न भ्रमण फलदायी हुन सक्ने तर महत्वपूर्ण सम्झौता गर्न नहुनेमा ध्यानाकर्षण गराएको छ । मुलुकको राजनीति तरल अवस्थामा भएका बेला राजनीतिक नेतृत्व अनेक प्रकारको चाप र दबाबमा रहने र आफ्नै कमजोरीबाट एकपक्षीय वा असमान लाभ उठाउन बाह्यपक्ष सक्रिय रहने भन्दै समूहले यसतर्फ परराष्ट्रमन्त्रीलाई सचेत गराएको छ । 

‘यस पृष्ठभूमिमा भ्रमणमा जानु नै पर्ने कूटनीतिक प्रतिबद्धताको अवस्था हो भने बृहत्तर राष्ट्रिय सहमतिबिना कुनै पनि राष्ट्रिय सरोकारका मामिलामा मुलुकलाई न्यून लाभ हुने वा तत्काल न्यूनाधिक लाभ हुनेजस्तो देखिए पनि दीर्घकालमा त्यसबाट क्षति पुग्ने वा गम्भीर दायित्व सिर्जना हुनेगरी सहमति जनाउने वा समझदारी गर्ने वा त्यसप्रकारको कुनै पनि दस्तावेजमा हस्ताक्षर गर्नेजस्ता कामकारबाही नगर्नका लागि हामी सरकारको गम्भीर ध्यानाकर्षण गछौं,’ विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा इन्दिरा दली, डा. ऋषि अधिकारी, कृष्ण ज्ञवाली, डा. खगेन्द्र प्रसाई, दिपेन्द्रबहादुर क्षत्री, निनु चापागाइँ, मानवी पौडेल, युवराज पाण्डे, लीलामणि पौड्याल, सूर्यनाथ उपाध्याय, डा. सूर्यराज आचार्य, डा. सोमलाल सुवेदी, शारदाप्रसाद त्रिताल, डा. शुरवीर पौड्याल र हिरण्यलाल श्रेष्ठको नाम छ ।

कूटनीतिक क्षेत्रका कतिपय जानकारले मन्त्री ज्ञवालीको भ्रमणका लागि समय अनुकूल नभएको टिपपणी गरेका छन् । पूर्वपरराष्ट्रसचिव एवं कूटनीतिक मामिलाका जानकार मधुरमण आचार्यले परराष्ट्रमन्त्रीको भारत भ्रमणलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘बलिया छिमेकीसँग गहन विषयमा गम्भीर वार्ता आफू कमजोर भएका बेला होइन, बरु पर्खिएर भए पनि आफू बलियो भएका बेला मात्र गर्नुपर्छ ।’ नेपालमा कामचलाउ सरकार भएका बेला भारतले दबाब दिएर दीर्घकालीन स्वार्थ पूरा गर्ने सम्झौतामा हस्ताक्षर गराउन सक्ने भन्दै कूटनीतिक क्षेत्रका जानकारले सरकारलाई सचेत गराएका छन् ।

प्रकाशित: १ माघ २०७७ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App