१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘ओली नांगो राजा, बालुवा पेलेर तेल आउँदैन’

काठमाडौंमा दाहाल–नेपाल समूहले बुधबार आयोजना गरेको कार्यकर्ता भेलाका सहभागी । तस्बिर: दिपेश श्रेष्ठ/नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ‘नांगो राजा’ भएको टिप्पणी गरेका छन् । शरीरमा लुगा नलगाएको राजालाई सबैले आहा ! कति राम्रो लुगा लगाएको भन्ने तर राजाले आफू नांगो भएको महसुसै नगर्ने र नांगो कसैले पनि भन्न नसक्ने प्रसंग सुनाउँदै नेपालले ओली पनि नांगो राजा भएको टिप्पणी गरे । काठमाडौंमा दाहाल–नेपाल समूहले बुधबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

ओली कहिल्यै नसुध्रिने मान्छे भएकाले पार्टी एकता गर्ने वामदेव गौतमको प्रयास सफल नहुने नेपालल बताए । नेपालले २०५१ सालदेखि नै ओलीले पार्टीमा गुट चलाउँदै अलग पार्टीको अभ्यास गरेको आरोप लगाए । ‘उहाँले विभिन्न तहमा गुट चलाउनुभयो तर पनि पार्टीलाई विभाजन गर्न दिइएको थिएन,’ नेपालले भने, ‘कमरेड वामदेव गौतम अहिले बालुवा पेल्दै हुनुहुन्छ । प्रचण्ड (पुष्पकमल दाहाल) ले पनि कुकुरको पुच्छर सोझिन्छ कि भनेर तेल लगाउनुभयो । तर बालुवा पेलेर तेल निस्कनेवाला छैन । केपी ओली सुध्रिने मानिस होइनन् ।’

नेपालले भने, ‘कमरेड वामदेव गौतम अहिले बालुवा पेल्दै हुनुहुन्छ । दाहालले पनि कुकुरको पुच्छर सोझिन्छ कि भनेर तेल लगाउनुभयो । तर बालुवा पेलेर तेल निस्कनेवाला छैन । केपी ओली सुध्रिने मानिस होइनन् ।’

नेपालले लोकतन्त्र र संविधानलाई प्रहार गरेपछि प्रधानमन्त्री ओली एक्लिँदै गएको बताए । असंवैधानिक कदमले ओलीलाई एक्लो र निरीह बनाएको उनको भनाइ छ । अध्यक्ष नेपालले देश, जनता, नागरिक समाज सबैतिरबाट आफूहरूलाई समर्थन रहेको दाबीसमेत गरे । ‘ओली सबैतिरबाट एक्लिनुभएको छ । प्रायः तानाशाहहरू यसरी नै एक्लिन्छन्,’ नेपालले भने । ओलीले माक्सवादी आन्दोललाई सिध्याउन खोजेको र लोकतन्त्रको मर्ममाथि प्रहार गरेको नेपालको भनाइ थियो । उहाँलाई झुटबाहेक केही आउँदैन साँच्चै उहाँ झुटको पुलिन्दा नै हो भन्दै नेपालले झुट बोल्न माहिर रहेकोसमेत बताए । ‘उहाँले डम्मरु बजाउँदै केन्द्रीय सदस्य बन्न आउन भनेर टिकट बाँडिरहनुभएको छ,’ नेपालले भने । उनले ओलीले केन्द्रीय सदस्य पाँच हजार पुर्‍याउने तयारी गरिरहेको बताउँदै सडकछाप पार्टीमा कोको जाने हुन् त्यो हेर्न बाँकी रहेको पनि बताए । ‘ओलीले नेकपाको केन्द्रीय सदस्य चार सय ४१ बाट बढाएर पाँच सय ५६ त्यसबाट बढाएर एक हजार पाँच सय एक बनाउनुभएको छ, त्यसबाट पनि बढाएर २५ सय एक बनाउन लागेको म सुन्दै छु, २५ सय एकले पनि नपुगे पाँच हजारले त कम्तीमा पुग्ला ?’ नेपालले भने ।  

नेपालले ओली गुट गलत बाटोमा रहेको बताउँदै कसैलाई पनि भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे । ‘तपाईहरू भ्रममा नपर्नू । ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्नुपर्छ । ओली झुटको पुलिन्दा हो । ओली समूहको पार्टी, पार्टी होइन, उनको समूह सडकको धुलोमा परिणत हुन्छ । त्यो समूहबाट असन्तुष्ट भएर यता आउने साथीको संख्या धेरै छ । उहाँमा भएको आरचण, संस्कार र सोचका कारण कोही टिक्नेवाला छैन त्यहाँ । त्यो समूह वा ओली कुनै पनि हालतमा कम्युनिस्ट होइन,’ अध्यक्ष नेपालले भने ।  

कुर्सी भाँचिदिन्छु भन्थे, संविधान नै भाँचिदिए : दाहाल  

दाहाल–नेपाल समूहका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट लोकतन्त्र नै खतरामा परेको बताएका छन् । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले ओलीबाट संविधान र लोकतन्त्र धरापमा परेको बताए।

‘ओलीले पहिला पनि भन्नुहुन्थ्यो, मैले छोड्नुपर्‍यो भने कुर्सी नै भाँचेर छोड्छु, हामीलाई कुर्सी मात्र भाँच्नुभयो भने त अर्को बनाऔंला भन्ने लागेको थियो तर उहाँले त संविधान नै भाँच्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र नै भाँच्ने छाँट आयो । अब कसरी सहने ?, दाहालले भने । उनले लोकतन्त्रमा सबैले बहुमतको सम्मान गर्नुपर्ने बताए । ‘लोकतन्त्रको कखरा भनेको बहुमत हो,’ उनले भने, ‘बहुमतलाई सबैले मान्नैपर्छ नभए दुनियाँ चल्दैन ।’ बहुमत नभएका बेला आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएको उल्लेख गर्दै उनले ओलीले जनतामाथि घात गरेको बताए । उनले नेता माधवकुमार नेपाल, झलनाथ खनालले समेत बहुमत नरहेपछि सजिलै प्रधानमन्त्री पदबाट राजीनामा दिएको तर अहिले ओलीले सत्ताका लागि जनतामाथि घात गरेको बताए । ‘उहाँले आफूले नै झलनाथ खनाललाई प्रधानमन्त्रीबाट हटाएको बिर्सनुभयो,’ दाहालले भने । उनले सबैभन्दा बढी ओलीलाई आफैंले तेल लगाएको बताए । ‘तीन वर्षको दौरानमा सबैभन्दा बढी मैले उहाँलाई तेल लगाएँ तर कुकुरको पुच्छर सोझिएन,’ दाहालले भने ।

‘नेपाल पहिलो अध्यक्ष’  

अध्यक्ष दाहालले कार्यकर्तालाई सम्बोधन गर्दै अहिलेको प्रमुख अतिथि माधव नेपाल साथै वरीयतामा पनि माधव नेपाल पहिलो अध्यक्ष भएको बताए । उनले आफू र नेपालबीच लामो सम्बन्ध रहेको र पार्टीमा को पहिलो र को दोस्रो भन्ने कुरा नरहने भए पनि नेपाललाई पहिलो अध्यक्ष मान्न कुनै अप्ठेरो नहुने बताए । उनले पार्टीभित्र ओलीले धेरै चलखेल गरेको र एउटै पद तीनजनालाई बिहान, बेलुका र दिउँसो बाँडेको आरोप लगाए । ओली लाजघिन नभएका निर्लज्ज व्यक्ति भएको तथा नैतिकताहीन व्यक्ति भएको समेत आरोप लगाए ।  

‘माधवजीकहाँ जाँदा बिहानै केपी ओलीका मान्छेले घेरिरहेको देख्छु, साँझ पनि केपीका मान्छेले नै घेरिरहेको देख्छु । मलाई कताकता माधवजीलाई केपीका मान्छेले भगाएर लाने हुन् कि भन्ने डर लागिरहेको थियो तर केपीको हेपाहा र तानाशाह प्रवृत्तिविरुद्ध सतिसाल जस्तो उभिनुभयो, यसकारण उहाँमा दृढता र अडान छ भन्ने महसुस भएको छ अब मलाई । तसर्थ माधवजीलाई प्रथम अध्यक्ष मान्न कुनै संकोच छैन । उहाँ नै प्रथम अध्यक्ष हो, यहाँको प्रमुख अतिथि पनि उहाँ नै हो,’ दाहालले भने ।  

दाहालले एमाले महासचिव मदन भण्डारीद्वारा प्रतिपादित तथा एकीकरण हुनुअघि एमालेको सिद्धान्त रहेको जनताको बहुदलीय जनवाद आफ्नो कारणले नगुमेको बताएका छन् । मदन भण्डारीको योगदानलाई राजनीतिक प्रतिवेदनमा मूल्यांकन गरिएको जनाउँदै दाहालले ओलीले जबज छाडेपछि आफू पनि सहमत भएको बताए ।  

‘काम गर्न नदिएको प्रमाण चाहियो’  

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको काम गर्न नदिएको भन्ने आरोपको खण्डन गर्दै त्यसको प्रमाण दिनुपर्ने बताएका छन् । ‘पार्टीले काम गर्न नदिएको भन्नुभयो, त्यसको प्रमाण दिन म चुनौती दिन्छु,’ दाहालले भने । प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी गर्‍यो, काम गर्न दिएन भनेर दाबी गरेका छन्, बरु पार्टीले यसरी काम गरौंभन्दा उहाँ सधैं भागेर हिँडेको समेत स्मरण गरे । ‘ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस् । कुन काममा भाँजो हाल्यो ? बरु पार्टीले यसो गरौं भन्दा त्यसविपरीत चलेको उनको आरोप छ । देश कोरोना महामारीमा रहेका बेला सबैलाई समेटेर संयन्त्र बनाऔं भन्दा आफूलाई व्यंग्य गर्दै हिँडेको होइन पार्टीका नेताहरूको विश्वास लिन किन सकिनँ भनेर केपी ओलीले हेर्नुपर्दैन ?’ दाहालले प्रश्न गरे । उनले यदि ओलीले भनेको जस्तै पार्टीले काम गर्न नदिएकै भए उनीसामु नेताहरूको विश्वास लिने वा बहुमत सदस्यहरूलाई अघि बढ्न दिएर बाटो खुला गर्नुपर्नेमा संसद् विघटन गरेर गलत बाटो रोजेको आरोप लगाए ।

‘२८ प्रतिशत सदस्य रहेका ओली भगौडा’

अध्यक्ष दाहालले आफूहरूसँग ७२ प्रतिशत केन्द्रीय सदस्य रहेकाले ओलीले भगौडा भन्नु जोकर भने जस्तो हो भनेका छन् । उनले ओलीले तीन पटक पार्टी फुटाउन खोजेको बताउँदै २८ प्रतिशतभन्दा कम सदस्य भएका ओली नै भगौडा रहेको बताए । ‘पोहोर सालदेखि तीनपटक पार्टी फुटाउन खोज्नुभयो हामीले जोगायौं । अहिले त घरमै आगो लगाइदिनुभयो, अस्तिको बैठकमा भारतले र साथीहरूले हटाउन खोजेको भन्नुहुन्थ्यो । भारतले हटाउन खोज्दैमा हटाउन हुँदैन भनेर हटाएका थिएनौं,’ दाहालले भने । दाहालले प्रधानमन्त्रीले एक सयजना केन्द्रीय सदस्य लिएर ११ सय भन्दै नौटंकी गरिरहेको बताए । ‘तपाई नौटंकी प्रदर्शन गर्दै हुनुहुन्छ, कहिलेकाहीँ विक्षिप्त मानसिकताजस्तो लाग्छ, साथीहरू पोलिटिकल जोकरजस्तो लाग्छ । एक सयजना बसेर ११ सय केन्द्रीय सदस्य बनायौं भन्ने ? यसलाई विक्षिप्त र बौलाहट किन नभन्ने ?’ दाहालले भने । उनले ७० प्रतिशत केन्द्रीय सदस्य भएको समूहलाई भगौडा भनेको भन्दै पार्टी बैठकबाट भागेर हिँड्ने भगौडा हुन्छ कि पार्टी बैठक राख्नेहरू भन्दै प्रश्नसमेत गरेका थिए ।

ओलीले कम्युनिस्ट आदर्श त्यागे : शाक्य  

कार्यक्रममा नेकपा वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आचरण र व्यवहार सबै त्यागेको बताएकी छिन् । उनले कम्युनिस्ट पार्टी सिध्याउन लागिपरेको आरोप लगाउँदै ओलीमा कम्युनिस्ट मूल्यमान्यता, आदर्श नरहेको प्रमाणित भएको बताएकी हुन् । ‘केपी ओली कमरेड होइन अब । उहाँ तानाशाही, निरंकुश शासक हो,’ उनले भनिन् ।

प्रकाशित: १ माघ २०७७ ००:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App