१६ चैत्र २०८० शुक्रबार
राजनीति

केपी ओलीले भारतसँग घुँडा टेकिसके : डा. भट्टराई

संसद विघटनविरुद्ध जसपाले बुधबार पोखरामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा जसपा राष्ट्रिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई। तस्बिर : उमेश पुन

जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले भारतसामु घुँडा टेकिसकेको दाबी गरेका छन्। जनता समाजवादी पार्टीको संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीविरुद्ध पोखरामा बुधबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले आफ्नो शासन सत्ता लम्ब्याउन केपी ओलीले भारतसामु घुँडा टेकिसकेको दाबी गरेका हुन्।  

'हिजो जोसँग लड्यो त्यहिसँग केपी ओलीले घुँडा टेकिसके',उनले भने,‘ओलीले आत्मसमर्पण गरेर शासन सत्ता लम्ब्याउँदैछन्, त्यसका लागि नै प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रघाती कदम चालेका हुन्। यसको भरपर्दो आधार र प्रमाण हामीसँग छन्।’  ओलीले ठूलो राष्ट्रघात गर्न लागेकोसमेत दाबी गरे। ओली नक्कली राष्ट्रवादको खोल ओढेर आएका हुन्,उनले भने,‘पकेटमार आफैले अरुलाई पकेटमार भन्छ र आफू पकेट मारेर भाग्छ। केपी ओलीमा यहि प्रवृत्ति छ। यसैको आडमा उसले ठूलो राष्ट्रघात गर्दैछ।’

अध्यक्ष डा.भट्टराईले डोनाल्ड ट्रम्पलाई जस्तै केपी ओलीलाई पनि महाअभियोग लगाउनुपर्ने बताए। जसरी अमेरिकामा डोनाल्ड ट्रम्पलाई त्यहाँको संसदले महाअभियोग लगाउँदैछ, त्यसरी नै केपी ओलीलाई पनि हामीले कार्वाही गरेर महाअभियोग लगाउने दिशातिर पनि जान सक्छौं, त्योबाटो हामीसँग छ। तर त्यसका लागि नेपाली कांग्रेसले खुट्टा कमाउनु भएन। र्‍याल काढ्नु भएन।‘ उनले केपी ओली प्रवृत्ति पनि कोरोना भाईरस जस्तै भएकाले यसबाट सचेत र सतर्क रहनुपर्ने बताए। केपी ओलीलाई धुलिसात नभएसम्म सबै पार्टी एकजुट भएर लड्नुपर्ने उनले बताए।

डा.भट्टराईले न्यायालय पनि जनताप्रति जवाफदेहि हुनुपर्ने बताए। ओली र तिनका आसेपासेले अदालतलाई धम्क्याउने, तर्साउने गरिराखेको भन्दै उनले भने,‘यस्तो बेला अदालत पनि डगमगाउन सक्छ, यस्तोबेला संविधान अनुकुल नै फैसला हुन्छ भन्न सकिन्न। त्यसैले हामी सबै सचेत हुनुपर्छ। सडकबाट खबरदारी गरिरहनुपर्छ।’ अदालतबाट संसद भंगलाई सदर गरिदिएमा जनताको अदालतबाट फैसला गर्नुपर्ने भन्दै उनले भने,‘सर्वोच्च अदालत भन्दा जनताको अदालत माथि हुन्छ, त्यस्तोबेला सडकबाटै फैसा गर्नुपर्ने हुनसक्छ।’ उनले सभामुखमार्फत प्रतिनिधि सभाको बैठक बोलाउनु पर्नेसमेत बताए। यसो गरिएमा मात्र साँचो अर्थमा लोकतन्त्रको रक्षा हुने उनको भनाई थियो। अहिले चुप लागेर बसियो भने संघीयता विघटन गर्ने, धर्मनिरपेक्षता, समावेशीतासमेत ओलीले हटाउने आशंका उनले गरे।

केपी ओलीलाई कंश र रावणको संज्ञा दिदै उनले भने,‘सामन्तवादको अवशेषको रुपमा केपी ओलीले प्रतिनिधित्व गरेका छन्, यसले आफूपनि डुब्ने र अरुलाईपनि नडुबाएसम्म छोड्दैन। त्यसैले यसको सर्वनाश गर्नुपर्छ।’

डा.भट्टराईले केपी ओलीले चुनाव नगराउने ठोकुवा गरे। हुँदाखाँदाको दुई तिहाईको सरकार ढालेर ओलीले चुनाव गर्छन् भनेर पत्याउनु वेवकुफी हुने उनको भनाई छ। ओलीलाई हिटलरसँग तुलना गदै उनले भने, ‘हिटलरपनि उखान तुक्का भन्थे, मीठा भाषण गर्थे, तर सत्तामा पुगेपछि संवैधानिक अंग सबै भत्काए र नक्कली न्यायालय, संसद बनाएर तानाशाही शासन लागु गरे। त्यसरी नै केपी ओली अगाडि बढेका छन्।’ उनले ओलीले संकटकाल लगाउन सक्ने समेत बताए।

जनता समाजवादी पार्टीका अशोक राईंले केपी ओलीले चुनावको सपना बाँढ्दै देशलाई प्रतिगमनतर्फ लगिरहेको आरोप लगाए। चुनाव गराउनका लागि ओलीले संसद विघटन नगरेको बताउँदै उनले भने,‘तर कांग्रेस दुई वर्षपछि हुने चुनाव २ वर्ष अघि नै आयो भनेर दशैं आएझैं रमाईरहेको छ।’ कांग्रेसले ओली प्रवृत्ति नबुझ्दा संयुक्त संघर्ष गर्न नसकिएको उनको भनाई छ। ओलीले संसद भंग गरेर संविधानलाई नै भंग गरेको आरोप लगाउँदै उनले भने,‘ओलीले ७० वर्षदेखिको आन्दोलनको उपलब्धी सिध्याउनका लागि संसद भंग गरेको हो। कांग्रेसको यस्तै प्रवृत्तिका कारण खड्ग ओली प्रवृत्ति हावी हुन खोजेको छ।’ शरदसिंह भण्डारीले ओली राष्ट्रघाती भन्दै बालुवाटारबाट गुन्टा कसेर डेरा सर्ने तयारी गर्न चेतावनी दिए।  

 

प्रकाशित: २९ पुस २०७७ १२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App