७ वैशाख २०८१ शुक्रबार
राजनीति

सत्ता टिकाउन प्रधानमन्त्री ओलीले जी न्युजलाई अन्तर्वार्ता दिएको अनेरास्ववियूको आरोप

तस्वीरः रञ्जित तामाङको फेसबुकबाट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्‍याउने व्यक्ति र संस्थाहरुसँग रहस्यमय र अपारदर्शी भेटघाट नगर्न चेतावनी दिएको छ। बुधबार एक विज्ञप्तिमार्फत अनेरास्ववियूले केहीदिनअघि भारतीय टेलिभिजन च्यानल जी न्युजमा अन्तवार्ता दिएकोप्रति आपत्ति जनाउँदै त्यस्ता व्यक्ति तथा समूहसँग नभेट्न आग्रह गरेको हो।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर अन्तर्वार्ता दिएकै भोलिपल्ट भारतीय समाचार संस्था जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपाली अस्मिता र स्वाभिमानमाथि धावा बोल्दै सगरमाथामाथि अत्यन्तै आधारहीन, रहस्यमय र कपोकल्पित ढंगले पेश गरिएको दावीलाई अनेरास्ववियू खारेज गर्दछ,’ अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।  

अनेरास्ववियूको विज्ञप्तिमा प्रधानमन्त्री ओलीका पछिल्ला क्रियाकलापले आफूहरुलाई थप आशंकित र आक्रोशित तुल्याएको समेत उल्लेख गरिएको छ। ‘नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानकाविरुद्ध लगातार रुपमा विषबमन गर्दै आएको जी न्युजले आफ्ना कर्तुत उपर कुनै प्रायश्चित नगर्दै प्रधानमन्त्री स्तरबाटै बालुवाटारको पटाङ्गिनीमा त्यसका प्रधान सम्पादकलाई नै रातो कार्पेट बिछ्याएर स्वागत गरिएको परिघटनाले हामीलाई थप आशंकित र आक्रोशित तुल्याएको छ,’ विज्ञप्तिमा भनिएको छ।

‘संविधान लत्याएर प्रतिगमनको बाटोमा हिँडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने ब्यक्ति र संस्थाहरुसंग रहस्यमय र अपारदर्शी भेटघाट र साँठगाँठ नगर्न चेतावनी दिन चाहन्छौं,’ विज्ञप्तिमा लेखिएको छ।

अनेरास्ववियूले प्रधानमन्त्री ओलीलाई चौधरीसँगको भेटबारे जनतालाई स्पष्ट पार्न र आगामी दिनमा कूटनीतिक मर्यादा विपरीतका भेटघाट नगर्न र यसअघि गरेको कूटनीतिक मर्यादा विपरीतका भेटघाटबारे जनता समक्ष अविलम्ब माफी माग्न पनि माग गरेको छ।

अनेरास्ववियूले सगरमाथाबारे भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण गरेकोप्रति अविलम्ब माफी माग्न पनि जी न्यूजलाई आग्रह गरेको छ।

प्रकाशित: २९ पुस २०७७ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App