८ वैशाख २०८१ शनिबार
राजनीति

सगरमाथाबारे जी न्यूजको आपत्तिजनक सामाग्री

भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी सगरमाथा क्षेत्रमा। तस्वीरः सुधीर चौधरीको फेसबुकबाट

प्रधानमन्त्री केपी   शर्मा ओलीसँग अन्तर्वार्ता लिएर चर्चामा आएका भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाबारे तथ्यहीन  सामाग्री प्रसारण गरेका छन्। प्रधानमन्त्री ओलीसँग अन्तवार्ता लिन नेपाल आएका चौधरीले काला पत्थरबाट सगरमाथाबारे विवादास्पद स्थलगत रिपोर्ट तयार पारेर प्रसारण गरेका हुन्।  

रिपोर्टमा चौधरीले भारतका राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाई मापन गरेकाले उनको नामबाट सगरमाथाको नामाकरण हुनुपर्ने बताएका छन्। यसका लागि उनले भारतका नागरिकले अभियान नै सञ्चालन गर्नुपर्ने बताएका छन्। चौधरी यतिमा मात्र सिमित हुँदैनन् उनी थप्छन् : भारतले सगरमाथामा आफ्नो दाबी ठोक्नु पर्छ। राधानाथ भारतका प्रशिद्ध गणितिज्ञ हुन्। 

रिपोर्टमा उनले भनेका छन् – चारैतिर पहाड छ, अगाडि ‘माउन्ट एभरेस्ट’ छ, बरफ नै बरफ छ। सायद हामी दुनियाँको सबैभन्दा अग्लो स्थानमा छौं। आफैंमा यो एउटा ठूलो अनुभूति हो। आज म यहाँ उभिएर तपाईंलाई बताउन चाहान्छु कि, ‘माउन्ट एभरेस्ट’ सँग भारतको के सम्बन्ध छ? सन् १८५२ मा राधानाथ सिकदरले पहिलोपटक ‘माउन्ट एभरेस्ट’ को उचाईं मापन गरेका थिए। ‘सर्वे अफ ईण्डिया’ ले उनलाई यो काम दिएको थियो। त्यो समयमा अंग्रेजको दबदबा थियो र उनीहरुले यसको नाम ‘माउन्ट एभरेस्ट’ राखिदिए।  

उनले सगरमाथामा भारतले आफ्नो दाबी पेश गर्नुपर्ने समेत बताएका छन्। ‘यो पहाडको नाम राधानाथ सिकदरको नामबाट हुनुपथ्र्यो र आज म यहाँ आएर तपाईंहरुलाई बताउन चाहन्छु कि, उनकै नामबाट यसको नामाकरण हुनुुपर्छ,’ चौधरीले भनका छन्,‘भारत सरकार र भारतका नागरिकले यसको लागि अभियान चलाउन आवश्यक छ। हामीले पनि विश्व समक्ष ‘माउन्ट एभरेस्ट’ मा आफ्नो दाबी पेश गर्नुपर्छ।’

उनले सगरमाथाको नाम ‘माउन्ट सिकदर’ राख्नुपर्ने बताएका छन्।

भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी एक विवादित नाम हो। गत साउनको पहिलो साता जी न्युजकै बिहार झारखण्ड च्यानलले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीलाई आपत्तिजनक सामग्री प्रसारण गरेको थियो। कांग्रेस सांसद नवीन जिन्दालसँग व्ल्याक मेलिङ गर्दै १ सय करोडको विज्ञापन मागेको आरोपमा सन् २०१२ मा पक्राउ परेका थिए। काेलगेट काण्डका रुपमा चर्चित कोइलासम्वन्धी एक विवादास्पद विषयमा चौधरी र उनको समूहले ब्ल्याकमेलिङ गरेको थियो। पछि जिन्दालले २०१८ मा उक्त मुद्दा फिर्ता लिएका थिए।  

त्यसपछि डिजिटल टिभी अपरेटर असोसिएसन नेपालले जी न्युजसहित भारतका ४ न्युज च्यानललाई नेपालमा प्रसारण गर्न रोक लगाएको थियो।

लगत्तै जी न्युजका प्रधान सम्पादक चौधरीले एक विवादास्पद ट्विट गरेका थिए। उनले ‘नेपाल भारतीय न्युज एङ्करसँग डराएको र सेनालाई प्रयोग गर्नै नपरेको’ भन्ने अभिव्यक्ति दिएका थिए। यद्यपि त्यो ट्विट पछि उनले हटाएका थिए।

भारतमा चौधरी भारतीय जनता पाटी त्यसमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीको संरक्षण प्राप्त व्यक्ति हुन्। उनीहरुलाई गोदी मिडियाको संज्ञासमेत दिइन्छ। 

प्रकाशित: २९ पुस २०७७ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App