coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘ओलीको सेटिङमा अदालत फस्दैन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले असंवैधानिक ढंगले विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने दाबी गरेका छन्। नेकपा गण्डकी प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनीहरूले प्रतिनिधिसभा पुनस्र्थापना हुनबाट प्रधानमन्त्री केपी ओली मात्र होइन, दुनियाँको कुनै पनि तागतले रोक्न नसक्ने ठोकुवा गरेका हुन्।

दाहालले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नभएकाले पुनस्र्थापना हुने बताए। कार्यकर्तालाई आश्वस्त पार्दै उनले भने, ‘तपाईंहरू ढुक्क हुनुस्, संसद् पुनस्र्थापना हुन्छ, त्यो पनि सर्वोच्च अदालतकै फैसलाबाट।’ उनले संविधानविपरीत अदालतबाट पुनस्र्थापना नभए जनताको बलबाट गर्ने चेतावनी दिए। ‘जनता नै सबैभन्दा ठूलो अदालत हो,’ उनले भने, ‘संविधानविपरीत संसद् विघटन गर्ने कुरालाई सदर गरियो भने त्योभन्दा ठूलो अदालत जनता हो, जनताले नै त्यसको फैसला गर्छन्।’

अध्यक्ष माधव नेपालले केपी ओली कम्युनिस्टको नाममा कलंक भएको आरोप लगाए। ‘कम्युनिस्ट नेता/कार्यकर्ता इमानदार हुन्छन्, कम्युनिस्टमा विचार हुन्छ, सिद्धान्त हुन्छ,’ उनले भने, ‘तर केपी ओलीमा त्यस्तो केही पनि गुण छैन।’

दाहालले आधिकारिक नेकपा आफूहरू नै भएको र सूर्य चिह्न पनि पाउनेमा आफूहरू ढुक्क रहेको बताए। ‘तपाईंहरू यसमा पनि ढुक्क हुनस्,’ उनले भने, ‘नेकपा हाम्रै हुन्छ, सूर्य चिह्न हाम्रै हुन्छ, दुनियाँको कुनै तागतले त्यसलाई हामीबाट खोस्न सक्दैन।’ निर्वाचन आयोगप्रति शतप्रतिशत विश्वस्त रहेको बताउँदै उनले थपे, ‘विधिविधान मिचेर नेकपा र सूर्य चिह्न खोसियो भने नेपालमा आँधीहुरी आउँछ।’ ओली र तीनका मान्छेले नेकपा र सूर्य चिह्न आफूहरूले पाउने भनेर जनतामा भ्रम छरिरहेको र त्यही भ्रममा परेर केही नेता/कार्यकर्ता न्युट्रल बसेको भन्दै उनले भने, ‘नेकपा र सूर्य चिह्न कसको पक्षमा जान्छ, त्यतै जानेमा कोहीकोही हुनुहुन्छ भन्ने सुनेको छु। त्यस्तो दुविधामा बस्नै पर्दैन। यो हाम्रै हो, हामीले नै पाउँछौं, त्यही भएर छिटो नेकपाको मूलधारमा गोलबन्द हुनुस्।’

उनले माओवादीको अवमूल्यन गर्ने ओलीको पछि पूर्वमाओवादीका नेता लागेकोमा आश्चर्य व्यक्त गर्दै भने, ‘केपी ओलीले माओवादी जनयुद्धलाई कुहिएको फर्सी भन्नु भयो रे, के जनयुद्ध कुहिएकै फर्सी हो ? तपाईंहरूलाई लाज लाग्दैन ? सहिदको रगतले पोल्दैन ?’ उनले प्रतिगमनको साक्षी नबस्नसमेत ओलीको पछि लागेका पूर्वमाओवादी नेताहरूलाई आग्रह गरे।

दाहालले पार्टी फुट्नुअघि नेकपाको केन्द्रीय समिति बैठक बसेको भए ओली नसच्चिएको अवस्थामा उनको पद गुम्ने दाबी गरे। ढाँट्नुपर्ने केही छैन,’ उनले भने, ‘भ्रष्टाचारी संरक्षण गरेको स्वीकार गर्दै सच्चिन्छु नभनेको भए उहाँलाई प्रधानमन्त्री, दलको नेता र पार्टी अध्यक्षबाट हटाउने तयारी भएकै थियो, सम्भवतः बैठक बसेको भए त्यो निर्णय हुन्थ्यो।’ आफूले प्रस्तुत गरेको १९ पन्ने प्रतिवेदनको मूल आशयसमेत नसच्चिएको अवस्थामा ओलीलाई पदमुक्त गर्ने भन्ने नै रहेको स्पष्ट पारे। तर सच्चिएको अवस्थामा उनलाई पदमुक्त गर्न नसक्ने स्थिति पनि रहेको उनको भनाइ थियो।

जीवन्त पार्टीमा विवाद हुनु स्वाभाविक भए पनि विवाद भयो भनेर नेपाली जनताले चुनेर पठाएको सार्वभौम संस्था विघटन गर्न नपाइनेमा ओलीले गलत कदम चालेको आरोप दाहालले लगाए। ओलीको कदम संवैधानिक भनेर उनीबाहेक संसारका कसैले पनि नभन्ने भन्दै दाहालले भने, ‘यतिसम्म कि ओलीकै पछि लागेकाहरूले पनि उनको कदम संवैधानिक भन्दैनन्, बरु बाध्यता भन्छन्।’ ओलीले अहिले पनि पद र शक्तिको बलमा धम्क्याउने, तर्साउने, अनेक किसिमका हथकन्डा गरिरहेको उनले आरोप लगाए।

दाहालले केपीको उखान, टुक्का र प्रहसनले नेपाली जनता नझुक्किने पनि बताए। ‘चुनौती दिएर भन्न चाहन्छु कमरेड केपी ओलीलाई,’ उनले भने, ‘प्रहसन गरेर, टुक्का भनेर मान्छेलाई उल्लु बनाउँछु भन्ने सोच्नुभएको छ तपार्इंले ? जनतालाई भेडाबाख्रा ठान्नु भएको छ तपाईंले ? हजारौंको त्याग, बलिदान र तपस्यालाई तपाईंले ठट्टा ठान्नु भएको छ ? जनताले तपाईंको कुरा पत्याउँदैनन्।’  

उनले ओली गणतन्त्र, समावेशी र समानुपातिक विरोधी भएको आरोप लगाए। ‘गणतन्त्र सम्भव छैन भन्ने तपाईं हो, हामी होइनौं। समावेशी, समानुपातिक चाहिँदैन भन्ने तपाईं हो हामी होइनौं,’ दाहालले भने, ‘तर तपाईंलाई स्वामित्व भएन, अपनत्व भएन भनेर राष्ट्र र जनतामाथि घात गर्ने छुट जनताले दिनसक्छन् ? सक्दैनन्।’

दाहालले अहिलेको लडाइँ पदको नभएको बताए। ‘ओलीले अहिलेको लडाइँलाई पूर्वएमाले र पूर्वमाओवादीको लडाइँ भन्नुभएको छ,’ उनले भने, ‘तर यो लडाइँ पूर्वएमाले र पूर्वमाओवादीको होइन, पदको पनि होइन, यो लडाइँ भनेको विचारको हो, सिद्धान्तको हो, कार्यदिशाको हो, निष्ठाको हो, इमानदारीको हो।’ अहिले माधव नेपाललाई दाहालको पक्षमा गयो भनेर भन्ने गरेको बताउँदै उनले अगाडि थपे, ‘दाहालको पक्षमा माधव गएको होइन। भन्नलाई त दाहाल माधवमा गयो भन्दा पनि हुन्छ। तर त्यस्तो होइन, न माधव दाहालकोमा गएको हो, न त दाहाल माधवको पक्षमा गएको हो, यो त एकताको मर्म र भावनाअनुसार अगाडि बढिएको हो।’

दाहालले मदन भण्डारी र जबजको लाइन नेपालले नभई ओलीले छाडेको बताए। ‘समाजवाद उन्मुख जनताको जनवादमा जाने निर्णय गरेर हस्ताक्षर गरेको केपी ओली र मैले नै हो,’ उनले भने, ‘तर उहाँले जनताको जनवाद छोडेको, समाजवाद उन्मुख जनताको जनवादमा हस्ताक्षर गरेको, मदन भण्डारीको योगदानबारे र माओवादी आन्दोलनको उच्च मूल्यांकन गरेको अन्तरमनबाट होइन रहेछ। यो त प्रधानमन्त्री बन्नका लागि केवल राजनीतिक सौदाबाजी गरिएको रहेछ।’ उनले प्रधानमन्त्री बन्नका लागि राजनीतिक सौदाबाजी गर्ने ओली नेपाली कम्युनिस्ट आन्दोलनको राजनीतिक अनैतिक र बेइमान पात्रको उदाहरण भएको टिप्पणी गरे। ओली पतनको बाटोमा हिँडेको भन्दै उनले भने, ‘केपी ओलीले कलंकको टीका लगाउनुभयो, यो अब हट्दैन, अब ओलीको पतन हुन जरुरी छ, केपी गुटको अन्त्य गर्न जरुरी छ।’

दाहालले नेपाली जनतालाई ओलीको निरंकुश कदमविरुद्ध लड्न अपिल गरे। हिजो तत्कालीन राजाले संसद् विघटन गर्दा गिरिजाप्रसादजीले टाउको फुटाउनुभयो,’ उनले भने, ‘अब गिरिजापछि नेपाल, दाहाल, खनाल र नारायणकाजीहरूको टाउको फुटाउने बेला आयो, हामी त तयार छौं, तपाईंहरू हुनुहुन्छ ?’

नेकपाका अर्का अध्यक्ष नेपालले सर्वोच्च अदालत र निर्वाचन आयोग ओलीको सेटिङमा नफस्ने दाबी गरे। अहिले केपी ओलीले सर्वोच्च अदालत, निर्वाचन आयोगलगायतमा मैले सेटिङ गरेको छु, त्यसैले नेकपा, सूर्य चिह्न हाम्रै हुन्छ, संसद् विघटन पनि सदर हुन्छ भनेका छन्,’ नेपालले भने, ‘तर केपीको सेटिङमा सर्वोच्च अदालत फस्दैन, निर्वाचन आयोग फस्दैन, त्यसैले संसद् पुनःस्थापना हुन्छ, नेकपा पनि हाम्रै हुन्छ, अनि सूर्य चिह्न पनि।’ उनले सूर्य चिह्न ओलीले नभई आफूले ल्याएकाले त्यसको असली हकदार आफू नै भएको जिकिर गरे। आफू महासचिव हुँदा सूर्य चिह्न लिएको उनको दाबी छ। उनले ओलीको नेकपालाई पार्टी नभएको टिप्पणी गर्दै भने, ‘केपीले अहिले बनाएको केपी ओली फाउन्डेसन हो, पार्टी होइन।’ उनले उखान टुक्काले देश र पार्टी नबन्ने र नचल्ने बताए।

अध्यक्ष नेपालले ओली कम्युनिस्टको नाममा कलंक भएको आरोप लगाए। ‘कम्युनिस्ट नेता÷कार्यकर्ता इमानदार हुन्छन्, कम्युनिस्टमा विचार हुन्छ, सिद्धान्त हुन्छ,’ उनले भने, ‘तर केपी ओलीमा त्यस्तो केही पनि गुण छैन।’ उनले आफूहरूले नबिराएकाले कोहीसँग नडराउने बताए। ओली अहिले मात्र नभई पहिलेदेखि नै गुटवादी भएको आरोप लगाउँदै नेपालले भने, ‘अहिले केपी ओलीमा देखिएको रूप विगतको बिउको विकसित रूप हो। ओलीमा गुटवादी प्रवृत्ति छ। गुटवादी प्रवृत्ति पावरमा पुगेपछि अहंकारमा परिणत भयो, त्यसपछि उहाँले आफूलाई मन नपर्ने मान्छेको छानीछानी मानमर्दन गर्ने, आफूबाहेक अरूलाई नटेर्ने गर्नुभयो।’ उनले ओलीमा आफू मात्र जान्ने, सुन्ने, आफूलाई मात्र सर्वज्ञाता ठान्ने र अरू केही पनि नजान्ने भन्नेजस्ता दास र सामन्ती प्रवृत्तिको भ्रम रहेको टिप्पणी गरे। उनले गण्डकी प्रदेश र लुम्बिनी प्रदेश ओलीपीडित भएको बताए। ओलीले आफ्ना गोटीलाई मात्र पद दिएर राखेकाले यहाँका इमानदार नेता/कार्यकर्ता पीडित भएको उनको भनाइ थियो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक मात्र नभई, अप्रजातान्त्रिक, अलोकतान्त्रिक, प्रतिगामी, तानाशाही र निरंकुश पनि भएको बताए। उनले संविधानमा संसद् विघटन गर्ने अधिकार नै नभएको दाबी गरे। आफ्नो अपराध खुल्ने भयो भन्ने भएपछि डराएर ओलीले संसद् विघटन गरेको उनको आरोप छ।

नेकपा स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले संविधान मिच्ने ओली अराजक र स्वेच्छाचारी भएको आरोप लगाए। ओली प्रवृत्ति भनेको आफैं संविधान, आफैं कानुन, आफैं विधान भन्ने हो, ‘उनले भने, ‘यो प्रवृत्ति अन्यमा पनि विकास हुनसक्छ, त्यसैले यसविरुद्ध सबै लडौं।’

प्रकाशित: २९ पुस २०७७ ००:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App