७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रचण्ड र नेपालको एउटै स्वर : ओलीको सेटिङ तोडेर छाड्छौं

पोखरामा दाहाल–नेपाल समुहको मंगलबारको भेला । तस्बिरः नागरिक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल दुवैले संसद पुर्नस्थापना हुने दावी गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सेटिङ तोडेरै छाड्ने पनि बताए ।  

नेकपा गण्डकी प्रदेशस्तरीय बृहत कार्यकर्ता भेलालाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनीहरुले भने, ‘संसद पुर्नस्थापना हुनबाट केपी शर्मा ओली मात्र होईन दुनियाँको कुनैपनि तागतले रोक्न सक्दैन ।’  

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नभएकाले संसद पुर्नस्थापना हुने बताए । कार्यकर्तालाई आश्वास्त पार्दै उनले भने, ‘तपाईंहरु ढुक्क हुनुस्, संसद पुर्नस्थापना हुन्छ । त्यो पनि सर्वोच्च अदालतकै फैसलाबाट ।’ उनले संविधान विपरित अदालतबाट संसद पुर्नस्थापना नभए जनताको बलबाट संसद पुर्नस्थापना गर्ने चेतावनी दिए ।

‘जनता नै सबैभन्दा ठुलो अदालत हो,’ उनले भने, ‘यदी संविधान बिपरित संसद विघटन गर्ने कुरालाई सदर गरियो भने त्यो भन्दा ठुलो अदालत जनता हो, जनताले नै त्यसको फैसला गर्छन् ।’ अध्यक्ष प्रचण्डले आधिकारिक नेकपा आफुहरु नै भएको र सुर्य चिह्नपनि आफुहरुले नै पाउनेमा ढुक्क रहेको बताए । उनले भने, ‘नेकपा पनि हाम्रै हो, निर्वाचन आयोगले सुर्य चिह्न पनि हाम्रैलाई दिने निर्णय गर्नेमा ढुक्क छौं ।’

नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालत र निर्वाचन आयोग केपी ओलीको सेटिङमा नफस्ने दावी गरे । ‘अहिले केपी ओलीले सर्वोच्च अदालत, निर्वाचन आयोग लगायतमा मैले सेटिङ गरेको छु, त्यसैले नेकपा, सुर्य चिह्न हाम्रै हुन्छ, संसद विघटन पनि सदर हुन्छ भनेर भनेका छन,’ नेपालले भने, ‘तर केपीको सेटिङमा सर्वोच्च अदालत फस्दैन, निर्वाचन आयोग पनि फस्दैन, त्यसैले संसद पुर्नस्थापना हुन्छ, नेकपा पनि हाम्रै हुन्छ, अनि सुर्य चिह्न पनि हाम्रै हुन्छ ।’

 उनले सुर्य चिह्न केपी ओलीले नभई आफुहरुले ल्याएकाले त्यसको असली हकदार आफुहरु भएको जिकीर गरे । आफु महासचिव हुँदा सुर्य चिह्न लिएको उनको दाबी छ । उनले ओलीको नेकपालाई पार्टी नभएको टिप्पणी गर्दै भने, ‘केपीले अहिले बनाएको केपी ओली फाउण्डेसन हो, पार्टी होईन ।’ उनले उखान टुक्काले देश र पार्टी नबन्ने र नचल्ने बताए ।

प्रकाशित: २८ पुस २०७७ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App