coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

खोप खरिदमा निजी क्षेत्र पनि समेट्छौं : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले फागुनभित्रै कोभिड–१९ को खोप आउने संकेत गरेका छन्। सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँगको छलफलमा बोल्दै उनले त्यस्तो संकेत गरेका हुन्।

सरकारले खोप खरिदका लागि नीतिगत र कानुनी व्यवस्था गरिसकेको चर्चा गर्दै मन्त्री त्रिपाठीले खोपको विषय व्यावसायिक वस्तु खरिद मात्र नभएको स्पष्ट पारे। ‘खोप खरिदमा व्यावसायिक हिसाबसँगै राजनीतिक सम्बन्धको पनि प्रयोग भइरहेको छ,’ उनले भने। उनले कोभ्याक्स सुविधा (विश्व स्वास्थ्य संगठन गाभी र सेपी सहकार्यमा स्थापित संयन्त्र) मार्फत प्राप्त हुने खोपभन्दा पहिला सरकारको आफ्नै पहलमा खरिद गरिने खोप पहिला आउने बताए। ‘हामी कोभ्याक्समा मात्र निर्भर छैनौं,’ उनले भने, ‘त्योभन्दा पहिला अन्य खोप पहिला आउँछन्।’

मन्त्री त्रिपाठीले नेपालमा खोप ल्याउन रुस, भारत र संयुक्त अरब इमिरेट्सका राजदूतसँग छलफल भइरहेको जानकारी दिए। ‘खोपमा हामी दक्षिण एसियाली राष्ट्रहरूभन्दा पछि हुने अवस्था छैन,’ उनले भने। कोभ्याक्सअन्तर्गत उपलब्ध हुने खोप, सरकारी प्रयासमा आयात हुने खोप खरिदमा निजी क्षेत्रलाई पनि समेट्ने मन्त्री त्रिपाठीले जानकारी दिए। ‘निजी क्षेत्रलाई पनि खोप खरिद प्रक्रियाबाट टाढा राख्दैनाैं,’ उनले भने।

मन्त्री त्रिपाठीले नेपालमा खोप ल्याउने प्रक्रियाका लागि धेरैजसो प्रक्रिया पूरा भइसकेको तथा आर्थिक हिसाबले पनि बजेटसमेत विनियोजन भइसकेको जानकारी गराए। खोप सचिवालयका सात समितिले काम गरिसकेका छन्। आगामी दिनमा खोप कोषमा रकम जम्मा गर्न सक्नेगरी प्राविधिक प्रक्रिया पनि अघि बढिसकेको उनको भनाइ छ। ‘६८ करोड रूपैयाँ तत्काल काम गर्न जम्मा भइसकेको छ, दातृ निकायहरूले पनि रकम जम्मा गर्न सक्नेछन्,’ उनले भने।

मन्त्री त्रिपाठीले सरकारले खोपको पहिलो चरणमा ३ प्रतिशत जनसंख्याअन्तर्गत दीर्घरोगी, अग्रपंक्तिमा काम गर्ने र ५५ वर्ष माथिकालाई र त्यसपछि क्रमशः अन्यलाई उपलब्ध गराउने तयारी गरेको जानकारी दिए। उनका अनुसार दुई वर्षभित्र १४ वर्षसम्मका बालबालिकाबाहेक ७२ प्रतिशत जनसंख्यालाई सरकारले निःशुल्क कोरोना खोप उपलब्ध गराउने सरकारी तयारी छ। सरकारले खोप कार्यक्रमका लागि १६ हजार खोप केन्द्र, ५ हजार स्वयंसेवी र ५२ हजार महिला स्वास्थ्य कार्यकर्ता परिचालन गर्ने जनाइएको छ। मन्त्री त्रिपाठीले कोरोना संक्रमण घटे पनि जोखिम नघटेको बताउँदै आधारभूत स्वास्थ्य मापदण्ड अवलम्बन गर्न अनुरोध गरे। ‘भाइरसका नयाँ भेरियन्ट आएका छन्, त्यसैले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने तथा सेनिटाइजर लगाउनेजस्ता उपाय निरन्तर अवलम्बन गर्न अनुरोध गर्छु।’

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कुनै खोप आयातका लागि अनुरोध ल्याए औषधि व्यवस्था विभागले सो खोपको एक सातामै अनुमोदन गर्ने बताए। नेपालले खोप खरिद गर्दा खोप उत्पादन गरेको देशको नियामक संस्थाले प्रमाणित गरेको तथा विश्व स्वास्थ्य संगठनले अनुमति दिएको, २ देखि ८ डिग्री सेन्टिग्रेड चिस्यानमा राख्न सकिने, छिटो र चाहेको मात्रमा डोज सुपथ मूल्यमा उपलब्ध गराउनेजस्ता आधारहरू तय गरेको छ।

प्रकाशित: २८ पुस २०७७ ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App