८ वैशाख २०८१ शनिबार
राजनीति

दाहाल–नेपाल समूह एकता मापदण्ड तयार

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले पार्टी एकीकरण प्रक्रिया पूरा गर्दा साबिक एमालेले नेतृत्व गरेको र साबिक माओवादी केन्द्रले नेतृत्व गरेको पंक्तिलाई यथावत् राख्ने गरी मापदण्ड तय गरेको छ।  

पुस १९ गते बसेको स्थायी कमिटीको बैठकबाट सो समूहका अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा पार्टी एकताको बाँकी काम पूरा गर्न बनेको कार्यदलले त्यस किसिमले मापदण्ड तयार पारेको हो। ‘हामीले एउटा विधि र मापदण्ड तय गरेका छौं,’ कार्यदलका एक सदस्यले भने, ‘त्यसैअनुसार पदपूर्ति हुनेछन्।’

प्रदेश, जिल्ला कमिटी र जनसंगठनहरूमा नेतृत्व खाली भएपछि सो समूहले एकता प्रक्रियालाई पूरा गर्ने प्रक्रिया अघि बढाएको हो। ओली समूहले दाहाल–नेपाल समूहलाई हटाउने प्रक्रिया अघि बढाइसकेको छ। साथै दाहाल–नेपाल समूह छाडेर ओली समूहमा गएका जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेश कमिटी र जनसंगठनका अध्यक्ष तथा सचिवहरूको पदपूर्ति गरिने भएको छ। उनीहरूले सबै तहमा नेतृत्व परिवर्तन गर्ने र परिवर्तित नेतृत्वमा ओली पक्षमा गएका पूर्वएमालेहरूको स्थानमा पूर्वएमालेलाई नै दिनेगरी मापदण्ड तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए। दाहाल–नेपाल समूहले विभिन्न तहमा पदाधिकारी चयन गर्न १२ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा स्थायी कमिटी सदस्यहरू गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, वेदुराम भुसाल र सुरेन्द्र पाण्डे, मातृका यादव सदस्य छन्। सो कार्यदललाई एक साताभित्र विधि र मापदण्ड तय गर्न समयसीमा दिइएको थियो।  

‘कार्यदलले विधि र मापदण्ड तय गरिसकेको छ अहिलेको अवस्थामा पार्टी एकीकरण गर्दा जे अवस्था अपनाइएको थियो त्यही कायम राख्ने, एकीकरणको बेला साबिकका दुई पार्टीका नेताहरूले नेतृत्व लिइरहेको स्थानमा त्यही नै कायम हुनेछ तर केन्द्रीय सदस्य भने तत्काल थप हुनेछैन,’ कार्यदलका एक सदस्यले भने। उनका अनुसार सो प्रस्तावलाई स्थायी कमिटीमा पेस गरिनेछ। ‘स्थायी कमिटी बैठकमा सो मापदण्डबारे छलफल हुनेछ, त्यहाँबाट पास भएपछि मात्रै रिक्त रहेका सबै कमिटीमा पदपूर्ति गरिनेछ,’ कार्यदलका सदस्यले भने। कार्यदलले बनाएको मापदण्डअनुसार दाहाल–नेपाल समूहमा महासचिव पनि पूर्वएमालेले पाउनेछ। उपाध्यक्ष वामदेव गौतम सो समूहमा आबद्ध नभए उपाध्यक्ष पनि पूर्वएमालेले पाउने निश्चित भएको छ।

ओली समूहले भने विधान संशोधन गरेर केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ बनाइसकेको छ। जिल्ला कमिटीहरूमा पनि तत्कालै अर्को समानान्तर कमिटी बनाएर पदपूर्ति गरिसकेको छ। तर दाहाल–नेपाल समूहले भने विधि र मापदण्ड बनाएरै पदपूर्ति गर्ने जनाएको छ। सो समूहले तत्कालै महासचिव र उपाध्यक्षमा कसैलाई पनि चयन नगर्ने जनाएको छ। ‘सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगले विवाद नटुग्याउँदासम्म महासचिव र उपाध्यक्ष चयन हुनेछैनन्,’ कार्यदलका एक सदस्यले जानकारी दिए। हाल महासचिव विष्णु पौडेल ओली समूहमा छन् भने उपाध्यक्ष वामदेव गौतम पार्टी एकता अभियान घोषणा गर्ने अन्तिम तयारीमा छन्। हाल दाहाल–नेपाल समूहमा साबिकको नेकपाभित्रका बहुमत केन्द्रीय सदस्य छन्।

दाहाल–नेपाल समूहले दुवै तर्फबाट खाली रहेका कमिटीहरू र सम्भावित नामबारे पनि छलफल गरिरहेको छ। ७७ वटै जिल्ला कमिटी, सातै प्रदेश, सबै जनसंगठनमा कुन तहमा केके पद खाली भएका छन्, ती सबैको विवरण संकलन भइरहेको छ। दाहाल–नेपाल समूहले स्थानीय तहबाट पनि सुझाव लिएर यसअघि जिम्मेवारी नपाएर र जिम्मेवारी पाउनुपर्ने व्यक्ति र उसको कार्यक्षमताबारे विवरण संकलन गरिरहेको हो। तर ओली समूहले १ हजार १ सय ९९ जनाको केन्द्रीय कमिटी बनाएर सबैलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा खटाएको छ। दाहाल–नेपाल समूह भने विवरण संकलन गरेर मात्रै सबै कमिटीहरूमा पदपूर्ति गर्ने तयारीमा जुटेका हुन्।

प्रकाशित: २८ पुस २०७७ ००:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App