coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘शून्य कि माइनस चुनावबाट हेरौं न’

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने बताउँदै निर्वाचनका लागि तयार रहन सबैलाई आग्रह गरेका छन्। राष्ट्रियसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई दण्डित गर्न चाहनेलाई निर्वाचनको मैदानमा उत्रिन चुनौती दिए। ‘अहिले केपी ओलीको ग्राफ शून्यमा गएछ भनिएको छ तर शून्यमा गएछ कि माइनसमा गएछ निर्वाचनबाट हेरौं न,’ उनले भने।

उनले नेपाली राजनीतिज्ञलाई रेसलिङ खेलाडीसँग पनि तुलना गरे। ‘रेस्लिङ खेल्दा रेसलरहरूले कहिलेकहिले बेल्ट समाएर फुर्ती देखाउँछन्। रेफ्रीले बेल्ट खोसेर पछि जित्यौ भने लगौला भन्छन्। अब मैदान तयार गरिएको छ। आउनुस्, जितेर लाउनुस् न बेल्ट,’ उनले भने। उनले नेकपाको दाहाल–नेपाल समूहलाई लक्षित गर्दै भने, ‘निर्वाचन भन्नेबित्तिकै सातो किन जाने, जनतामा जाने र जनादेश लिने कुरा गरेकोे, अन्त कहीँ जाने भनेको त होइन नि ! जनताका बीचमा गएर केपी ओलीलाई दण्ड दिने भन्नु न, जानुस्।’ उनले आपूmसँग ६४ प्रतिशत मत रहेको र बाँकी ३६ प्रतिशत रहेको अवस्थामा प्रतिनिधिसभा विघटन गरेको बताए। ‘सरकार बन्न ५१ प्रतिशत मत आवश्यक पर्ने भएका कारण जतिपल्ट घुमाए पनि सरकार बन्न नसक्ने अवस्था देखिएकाले संसद् विघटन गरिएको हो,’ उनले भने, ‘संसद् विघटन राजनीतिक प्रश्न हो, त्यसैले सर्वोच्चले संवैधानिक र कानुनी प्रश्नका रूपमा केही भनिरहनुपरेन भनेर रिट खारेज गर्नुपर्छ।’

ओलीले केही अधिकार मात्र हुने राष्ट्रपतिले केही पनि गरेन भन्नु गलत भएको समेत बताए। ‘संविधानले प्रधानमन्त्रीको सिफारिस अनुमोदन गर्ने अधिकार राष्ट्रपतिलाई दिएको छ तर त्यसको कानुनी प्रश्न उठाएर रोक्ने अधिकार छैन,’ उनले भने। प्रधानमन्त्रीले यो सरकार पहिला संविधानको धारा ७६ (२) बमोजिम गठन भए पनि पछि पार्टी एक भएपछि धारा ७६ (१) बमोजिम गठन भएको बताए। उनले पार्टी एकता भएपछि आफू एक मात्र संसदीय दलको नेता भएको बताए। संविधानको धारा ७६ (१) मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ भन्ने उल्लेख छ। उनले संसद्मा बहुमत प्रधानमन्त्रीले संविधानको धारा ७६ (७) बमोजिम संसद विघटन गरेको र यसले संसद्मा स्थायित्व दिने दाबी गरे।

संसद् विघटन गरेर मुलुकमा अस्थिरता आएको भन्ने भनाइलाई खण्डन गर्दै उनले संविधानमा भएको व्यवस्था प्रयोग गर्दा अस्थिरता नआउने बरू अरू कसैको गोटी बने मात्र अस्थिरता आउने बताए। ‘जब देशका शक्तिहरू बाह्य शक्तिको इसारामा, स्वार्थमा गोटी बन्न थाल्छन्, राजनीतिलाई अस्वस्थतातिर धकेल्न थाल्छन्, विकास निर्माणका काममा व्यवधान पु¥याउन थाल्छन्, निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिन थाल्छन्। त्यस्तो अवस्थामा अस्थिरता आउने हो।’ उनले सरकारलाई कामै गर्न नदिने भएपछि संसद् विघटन गरिएको बताए। करिब सवा घन्टा बोलेका प्रधामन्त्री ओलीले अधिकांश समय आफ्नो रक्षा गर्दै र दाहाल–नेपाल समूहलाई गाली गर्नमै बिताएका थिए। ‘सरकारलाई काम गर्न नदिने, काममा व्यवधान खडा गर्ने, जहिले पनि झमेला मात्रै सिर्जना गर्ने, केहीका व्यक्तिगत आकांक्षाहरू, महŒवाकांक्षाहरू र पदलोलुपजस्ता कुराले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित गर्न खोज्यो,’ उनले भने।

प्रधानमन्त्री ओलीले मुलुकमा स्थिरता र स्थायित्वतर्फ देशलाई अघि बढ्न नदिएर राजनीतिमा फेरि बहुमतलाई टुक्र्याउने, खण्डित पार्ने, ध्वस्त पार्ने र त्यसपछि अस्वस्थ्य, अनुचित अलोकतान्त्रिक, लेनदेन जालझेल गर्ने, देशको राजनीतिलाई फेरि ६/६ महिनामा प्रधानमन्त्री फेरिने अवस्थाको सिर्जना  गर्नेतर्फ लगिएकोे बताए। संसद्मा विधेयकलाई अड्काउने, निर्णयार्थ प्रस्तुत गर्न नदिने, संविधान बेठीक भयो, संघीय लोकतन्त्र चल्दैन भन्ने निष्कर्ष निकाल्ने धेरै खेल भएको पनि उनले बताए।  

जनताले पाँच वर्ष सरकार चलोस् भन्ने चाहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्ने दलभित्रै चरम असहयोग भएको बताए। ‘गएको वैशाख १३ देखि गुटका बैठक सुरु भएको र पुस ४ सम्म आइपुग्दा एउटै नेताका घरमा २ सय ८० वटा बैठक बसेछन्, अन्यत्र ३५ वटा बैठक बसेका रहेछन्,’ उनले भने। देशलाई अस्थिरतामा लैजान त्यस्तो गर्नु किन परेका भन्दै उनले दाहाल नेपाल समूहतर्फ प्रश्न तेस्र्याए। अध्यक्ष पद दान दिने विषय नभएको उल्लेख गर्दै उनले भने, ‘यो विधि र प्रक्रियाले मात्र हुने हो।’  

ओलीले सञ्चारमाध्यमले पनि अस्थिरता फैलाउने काम गरेको आरोप लगाए। प्रतिनिधसभा विघटन नै यस्तै अस्थिरता रोक्न भएको उनले स्पष्ट पारे। उनले सरकारले गरेका विकास निर्माणका सकारात्मक कुराको चर्चा नगर्ने खालि विधि र पद्धतिको मात्र कुरा गरिएको आरोप लगाए। दाहाल–नेपाल समूहले गरेको विधि र पद्धतिको कुरा जनताले नबुझ्ने उनले बताए। ‘न पद्धति लाउन हुन्छ, न खान हुन्छ, जनतलाई विधि र पद्धति भनेर सुनाइएको छ। उत्थानका कुरा गरौं न,’ उनले भने। 

प्रकाशित: २७ पुस २०७७ ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App