coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचनबाट मात्रै प्रतिनिधिसभा स्थापना : प्रधानमन्त्री

प्रतिनिधिसभा विघटनसँगै निर्वाचन मिति तोकेपछि काठमाडौं उपत्यकाबाहिर पहिलोपटक निस्केका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनबाट मात्रै प्रतिनिधिसभा स्थापना हुने बताएका छन्। धनगढीमा शुक्रबार आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा संविधानसम्मत विघटन गरिएको र अब निर्वाचनपछि मात्र स्थापना हुने बताएका हुन्। 

दाहाल–नेपाललाई १० सिट जितेर देखाउन चुनौती, 
वैशाखमा हुने चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन 

‘संसद् विघटन असंवैधानिक भएको भन्नेहरूलाई एकपल्ट संविधान पढ्न आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘संसद्को ६४ प्रतिशतको सर्वसम्मत प्रधानमन्त्री म हुँ, देशको समय बर्बाद हुने भयो, मलाई काम गर्न दिएनन्, त्यसकारण मैले ताजा जनादेशमा जान संसद् विघटनको सिफारिस गरेको हुँ। अब निर्वाचनबिना प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ भन्ने कुरा संवैधानिक, व्यावहारिक, कानुनी, आवश्यकताको सिद्धान्त र अन्तर्राष्ट्रिय प्रचलन, मर्यादा कुनै हिसाबले पनि मिल्दैन।’  

केही मानिसले प्रधानमन्त्री ओलीले चुनाव गराउँदैन भनेर हल्ला फैलाइरहेको भन्दै उनले तोकिएको समयमै चुनाव हुनेमा ढुक्क रहन सहभागीलाई आग्रह गरे। ‘म दोहोर्‍याएर, तेहेर्‍याएर भन्छु, चुनाव आगामी वैशाख १७ र २७ गते नै हुन्छ,’ उनले भने, ‘तपाईंहरू चुनावमा लाग्नुस्।’ उनले खराब तत्वलाई भोट नदिएर गाउँमै ठेगान लगाउनुपर्ने बताए। उनले आफूले हस्ताक्षर गरेका उम्मेदवारलाई भोट दिन आग्रह गर्दै भने, ‘मैले हस्ताक्षर गरेका उम्मेदवारलाई तपार्इंहरूले जिताएर पठाउनुस्, देश र विकासको नेतृत्व गर्ने जिम्मा म लिन्छु।’  

नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहलाई निर्वाचनमा देशभरिबाट १० वटा सिट जितेर देखाउन चुनौती दिँदै ओलीले भने, ‘१० सिट जितेर ल्याएर देखाउनुस्।’ ३ करोड जनतामा २ सय ६५ जनामात्रै दाहाल–नेपाल खेमाका गएको बताउँदै उनले भने, ‘नुहाउँदा पनि त दुई/चार केश जान्छ, त्यसले के फरक पर्छ ?’ ओलीले दाहाल–नेपाल समूहलाई लक्षित गर्दै आफूले नेतृत्व गरेको पार्टी सम्धी, छोरी, बुहारी, साला, आफन्तको नभई देश र जनताको भएको दाबी गरे। उनले यसैक्रममा भने, ‘उनीहरूको ध्यान कमाउनतिर र आफन्ततिर छ। टपक्क टिपेर मेरो एकजना पनि आफन्त देखाइदिनुस्, म उनीहरूका एक दर्जन देखाइदिन्छु।’

काम लाग्छन् कि भनेर प्रचण्ड (दाहाल) लाई आफ्नो पार्टीमा ल्याएको बताउँदै ओलीले भने, ‘प्रचण्डले आफ्नो मति र प्रवृत्ति छाडेनन्।’ कैयौं स्याम्पु, साबुन र ड्रमका ड्रम पानीले पखाल्दा पनि दाहालको बानी, मति, प्रवृत्ति जस्ताको तस्तै रहेको भन्दै उनले व्यंग्य गरे। ‘लाटोकोसेरो झलल घाम लागेमा आँखा चिम्लिन्छ, टिक्न सक्दैन,’ ओलीले भने, ‘अँध्यारोमा खेल्ने, षड्यन्त्र गर्नेहरू उज्यालोमा टिक्न सकेनन्।’ ओलीले आफू जेल बसेको आठ वर्ष भएका बेला २०३८ सालमा प्रचण्ड गोर्खामा मास्टरी गरिरहेको बताए। २०२५ सालमा आन्दोलन गर्दैगर्दा आफूले गिरफ्तारीमा परेको स्मरण गर्दै उनले भने, ‘कहिले हो २०२५ साल भन्या पुष्पकमलजी थाहा छ ? कति कक्षामा पढ्दै हुनुहुन्थ्यो ?’ ओलीले आफू २०२२ सालमा राजनीतिमा लागेको तर माधवकुमार नेपाल २०३२ सालमा मात्रै राजनीतिमा आएको बताए।  

दाहाल–नेपाल समूहले सडकमा अश्लील गालीगलौज गर्दै हिँडिरहेको बताउँदै ओलीले भने, ‘हामीलाई गालीगलौज गर्न फुर्सद छैन, हाम्रो ध्यान देश विकास गर्न र जनताको दुःख कष्ट हटाउन केन्द्रित छ।’ नाम उल्लेख नगरीकन दाहाल–नेपाल समूहका नेता भीम रावलतर्फ इंगित गर्दै ओलीले भने, ‘मन्त्री पद नपाउँदा नक्कली राष्ट्रवाद देखाएर गालीगलौजमा उत्रिएका छन्।’ ओलीले रावलतर्फ इंगित गर्दै सुदूरपश्चिमका सालका रूखहरू काटेर वन फँडानी गरिरहेको आरोप लगाए। ‘सुदूरपश्चिमबाट एकैपटक चार क्याबिनेट मन्त्री पाउँदा उहाँ (रावल) खुसी हुनुपर्नेमा दुःखी हुनुहुन्छ,’ ओलीले भने, ‘किन दुःखी हुनुहुन्छ थाहा छ, वैज्ञानिक वनका नाममा वन फँडानी गर्ने, सालघारी फाँडेर आफू सप्रिन खोज्ने योजना तुहियो, त्यसैले पर्नु पिर परेछ।’ सालघारी फाँडेर, वन मासेर सप्रिन खोज्ने तत्वहरूको बेग्लै मक्सद भएको उनले बताए। उनले भने, ‘यस प्रदेशको विकास समस्या तिनै मानिस थिए। अब समाधान भएको छ।’  

केही मानिसले जातजातिबीच फाटो ल्याउन खोजेको भन्दै ओलीले टीकापुर हत्याकाण्ड ‘नक्कली मानिस’ आएर उचालेका कारण भएको दाबी गरे। ‘नक्कली मानिस आएर कसैले थारू त कसैले पहाडिया नारा लगाए, जनता–जनतामा विभाजन ल्याउन खोजे,’ उनले भने, ‘कतिपय थारू नेताहरू जेलमा छन्, कतिपयलाई वारेन्ट होला, यी सबै कुरा हामी हेरिरहेका छौं। पहिले नै अदालती प्रक्रियामा गइसकेका र असहज अवस्थामा फसिसकेका कुरालाई किनारामा नपुगीकन केही गर्न सकिँदैन, त्यसपछि यसको समाधान हामी दिनेछौं।’  

करिब ४९ मिनेट सम्बोधन गरेका ओलीले सुदूरपश्चिमलाई विकासमा पछाडि पारिएको तर त्यो अवस्था नरहने बताए। तीन दशकदेखि सुदूरपश्चिममा चर्चामा रहेको र बन्न नसकेको पश्चिम सेती जलविद्युत् परियोजना लगानी खोजेर वा नभए आफ्नै लगानीमा भए पनि सञ्चालन गर्ने उनले बताए। ‘धेरै समयपछि पञ्चेश्वर परियोजना सुरु भएको छ,’ उनले भने, ‘सेती लोकमार्ग, महाकाली लोकमार्गको काम अगाडि बढ्नेछ।’ गौरीफन्टा नाकाको स्तरोन्नति गर्न भारतसँग कुरा गर्ने, विमानस्थल स्तरोन्नति गर्ने, तिब्बत जोड्ने उरै भन्ज्याङ नाका खोल्ने, गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने उनले बताए।  

धनगढीको खुला मञ्चमा आयोजित आमसभामा हजारौंको सहभागिता थियो। श्री एयरलाइन्सको नियमित उडानबाट शुक्रबार दिउँसो यहाँ आएका प्रधानमन्त्री ओली बेलुकी काठमाडौं फर्केका छन्।

सभालाई नेकपा सुदूरपश्चिम इन्चार्ज तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, वन तथा वातावरणमन्त्री प्रेम आले, श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरीलगायतले सम्बोधन गरेका थिए। सभामा प्रदेशसभामा ओली पक्षका सांसद, विघटित प्रतिनिधिसभाका सांसदहरूसहित सुदूरपश्चिमका नौवटै जिल्लाका नेताकार्यकर्ता सहभागी थिए।  

प्रधानमन्त्री ओली धनगढी विमानस्थलमा अवतरण गर्दा स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र मन्त्रीहरू उपस्थित भएनन्। ओली पक्षका दुई मन्त्री बाहिरिएपछि प्रदेश सरकारमा मुख्यमन्त्रीसहित अन्य चार मन्त्री दाहाल–नेपाल समूहका छन्।

प्रकाशित: २५ पुस २०७७ ००:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App