७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘प्रतिनिधिसभा विघटन गरेर संकट ल्याइयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई संकटमा धकलेको राष्ट्रिय सभाका सदस्यहरूले बताएका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदहरूले प्रधानमन्त्रीले सनकको भरमा प्रतिनिधिसभा भंग गराएर राष्ट्रलाई संकटको दिशातर्फ लगेको आरोप लगाए।  

सांसदहरूले संविधानमा हुँदै नभएको व्यवस्थालाई अपव्याख्या गरेर संसद् विघटन गरेको बताए। राष्ट्रिय सभा सदस्य भएपछि दोस्रोपटक मात्र बैठकमा उपस्थित नेकपाका नेता वामदेव गौतमले प्रतिनिधसभा विघटन गरेर प्रधानमन्त्रीले गलत काम गरेको बताए। विवाद नहुने पार्टी कुनै पनि हुन सक्दैन र विवादविहीन पार्टीको कल्पना पनि गर्नु हुँदैन भन्दै उनले पार्टीको विवाद भएपछि अल्पमतमा परेमा राजीनामा दिएर भए पनि पार्टी एकता जोगाउनुपर्ने बताए। उनले प्रधानमन्त्रीले संसद् नै विघटन गरेको विषयमा आफूले त्यसलाई समर्थन नगर्ने बताए। उनले एकता भएको पार्टी फुटेर अन्तमा एउटा एमाले अर्को माओवादी हुन लागेकोतर्फ संकेत पनि गरे।  

‘अहिले नेकपाभित्र आधिकारिकताको विवाद आएको छ, ऋषि कट्टेलको नेकपा भएको विषय सर्वोच्चमा विचाराधीन छ। सर्वोच्च अदालतले कट्टेलको दाबीबमोजिम नेकपा उनलाई दियो भने नेकपा अरू कसैले पनि पाउँदैनन्। त्यसपछि एउटा पुरानो एमाले अर्को पुरानो माओवादी केन्द्र हुन पुग्नेछन्,’ उनले भने। विगत ८ र ९ महिनादेखि पार्टी एकता जोगाउन अविश्वासको प्रस्ताव असफल गराएको बताए। ‘पार्टीमा आरोप प्रत्यारोपसहितका पत्र राख्दा पनि मैले यो सुधारका निम्ति सम्भव उपाय हुनसक्छ भनेको थिए,’ उनले भने। तर यसपटक अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन। पुस ५ गते प्रस्ताव जान्छ भन्ने मलाई थाहा थिएन,’ उनले भने। 

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावबाट बर्खास्त गर्न खोजिए दुर्भाग्यपूर्ण हुनेछ भन्ने गरेको बताए। त्यसबाट पनि आफू पार्टी एकता जोगाउन लागि रहेको तर नसकेको बताए। पछिल्लोपटक प्रधानमन्त्री र दाहाल नेपाल समूहका आन्तरिक कुराहरू आफूले थाहा नपाइराखेको र एक्कासि यस्तो दुर्घटना भएको उनको भनाइ थियो। आफू फेरि पनि एकता गराउन सकिन्छ कि भनेर लागिरहेको भन्दै गौतमले एक्लै एकताको माहोल बनाउन सकिन्न कि भनेर संगठनात्मक संरचना निर्माण गर्ने पक्षमा रहेको बताए। तर, दुवै समूहका मुख्य नेताहरू नै समाजवादी सभ्यता निर्माण गर्छौ भन्नेहरूलाई नै लाज लाग्नेगरी प्रस्तुत गएको उनले बताए।  

नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझील प्रतिनिधिसभाको विघटन संविधानविपरीत भएको बताउँदै प्रधानमन्त्री ओलीले संविधान नमान्ने अरूले मात्रै संविधान मान्नुपर्ने अवस्था आएको बताए। यसबाट प्रधानमन्त्री निरंकुश बन्न थालेकाले यसबाट राष्ट्रिय संकट उत्पन्न भएको उनको भनाइ थियो।  

जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंहले ‘प्रतिनिधि सभा विघटन प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक कदम भएको बताए। पार्टीको आन्तरिक विवादका काराण जननिर्वाचित संस्था विघटन गरी मुलुकलाई प्रतिगमततर्फ धकेलेको उनले बताए।  

सांसद रामनारायण बिडारीले अहिलेको संविधानको व्यवस्थामा प्रधानमन्त्रीको सनकमा संसद् विघटन गर्न नपाउने बताए। धेरै लामो छलफल पछि संविधानमा यस्तो व्यवस्था राखिएको बताउँदै उनले प्रधानमन्त्रीले संसदमा अविश्वासको प्रस्ताव दर्ता हुन लाग्यो भनेर संसद भंग गरेकाले यस कदमले विधिको शासन नै धरापमा पारेको बताए।  

सांसद प्रकाश पन्तले विदेशी चलखेलका कारण नै संसद् विघटन भएको बताए। नेकपा ओली समूहका खिमलाल भट्टराईले धमिलिएको राजनीतिलाई संग्लो बनाउन जनतामा जानुको विकल्प नभएको बताए। उनले संसद् विघटन संविधानबमोजिम नै भएको दाबी गरे।

प्रकाशित: २४ पुस २०७७ ०१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App