८ वैशाख २०८१ शनिबार
राजनीति

ओली पक्षतिर खुलेपछि सुदूपश्चिम प्रदेशका मन्त्री बोहराले दिए राजीनामा

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले पदबाट राजीनामा दिएका छन्। पूर्व माओवादीबाट मन्त्री बनेका बोहरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षतिर खुलेपछि पदबाट राजीनामा दिएका हुन्।  

मन्त्री बोहराले बुधवार पत्रकार सम्मेलनमार्फ आफूले पदबाट राजीनामा दिन लागेको घोषणा गरेका थिए। घोषणालगत्तै उनले मुख्यमन्त्री त्रिलोचन भटट्लाई राजीनामा बुझाएका छन्।

यसअघि ओली पक्षतिर खुलेका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई पुस १४ गते मुख्यमन्त्री भट्टले पदमुक्त गरेका थिए।  

प्रचण्ड–नेपाल पक्षका नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलको प्रभावमा काम गरिरहेका मुख्यमन्त्री भट्टले डडेल्धुराबाट निर्वाचित ओली पक्षका बोहरालाई पदमुक्त गरेपनि नेता रावलकै गृह जिल्ला अछामबाट निर्वाचित मन्त्री बोहरालाई पदमुक्त गरिएको थिएन्। आफ्नो निर्वाचन क्षेत्रमा असर पर्ने आँकलन गरेर अन्तिम समय सम्म नेता रावलले मन्त्री बोहरालाई आफ्नो पक्षमा पार्न प्रयास गरेका थिए। धनगढीमा आउने बित्तिकै नेता रावलले मन्त्री बोहरासँग भेटघाट गरेका थिए।  

ओली पक्षीय नेकपाका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका नजिक मानिने बोहरा  काठमाडौं गएर प्रधानमन्त्री ओलीसँग समेत भेटेर कुरा गरेका थिए। प्रधानमन्त्री ओलीसँगको भेट पछि मन्त्री बोहरा ओली पक्षमा खुलेर राजीनामा दिएको मन्त्री वोहरा निकट स्रोतले जनाएको छ।

यसअघि बोहरा सार्वजनिक रुपमा कुनै पक्षमा लागेको प्रतिक्रिया नदिई मौन बसेका थिए। ओली पक्षको नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएका बोहराले सपथ पनि खाएका थिएनन्।

सुदूरपश्चिम प्रदेश सरकारमा तत्कालीन माओवादीबाट मुख्यमन्त्री भट्ट, मन्त्री बोहरा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी बनेका थिए। मुख्यमन्त्री भट्ट र चौधरी प्रचण्ड–नेपाल पक्षमा लागेका छन्। यसैगरी तत्कालिन एमालेबाट ४ मन्त्री बनेका थिए।  

जम्मा ५३ जना सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९, नेपाली कांग्रेसका १२ र जसपाका २ जना सदस्य छन्। नेकपाका ३९ जनामध्ये ७ जना ओली पक्षतिर खुलेका छन्।

प्रकाशित: २२ पुस २०७७ १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App