२३ फाल्गुन २०७७ आइतबार
राजनीति

युवराजको ‘पुनरागमन’ शंकरलाई तगारो

विभाजनको संघारमा रहेको सत्तारुढ नेकपाभित्र एक समूहले अकोलाई कारबाही गर्ने शृंखला बढ्दो छ । यसैक्रममा दाहाल–नेपाल समूहको निसानामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि परे । उनलाई नेकपाको लुम्बिनी प्रदेश इन्चार्जबाट मुक्त गरेको यो समूहले युवराज ज्ञवालीलाई ल्यायो । पछिल्लो केही समययता पार्टी राजनीतिमा भूमिकाविहीन जस्तै बनेका ज्ञवाली पुनः सक्रिय राजनीतिमा फर्किएका छन् । तर दाहाल नेपाल समूहको कारबाहीसँगै कुनै समय एक अर्काका कट्टर प्रतिस्पर्धी फेरि आमनेसामने बनेका छन् । 

अन्तरसंघर्षको तीन दशक लामो अवधि पूरा गरेका प्रतिस्पर्धी ज्ञवाली र पोखरेल अहिले फरक फरक गुटको नेतृत्व गर्दै जुध्न आइपुगेका हुन् । ज्ञवालीको निस्क्रियतापछि दाङको कम्युनिस्ट राजनीतिका विकल्पविहीन नेताका रुपमा रहेका पोखरेललाई ज्ञवालीको पुनरागमन तगारो बन्न सक्ने आँकलन गरिएको छ ।  

गृह जिल्ला दाङ र चुनावी क्षेत्र हालको क्षेत्र नम्बर २ नै रहेका कारण ज्ञवाली र पोखरेल पार्टीभित्रको राजनीतिमा होस् वा संसदीय चुनावका बेला एक अर्काका विपक्षी रहँदै आए । मूलतः निर्वाचनमा टिकटका यी दुई नेता आफूले टिकट नपाए अर्कोलाई पाखा लगाउन हर प्रयत्न गर्ने कट्टर प्रतिप्रतिस्पर्धीका रुपमा चिनिँदै आए । एकजनाको हार अर्का एकजनाको ठूलो असहयोगले मात्रै हुने गरेको लामो समयदेखिको चर्चा दाङको कम्युनिस्ट वृत्तमा अहिले पनि सेलाएको छैन । नत उनीहरू एकले आफ्नो जितको कारण अर्कोलाई मान्नै तयार भए ।  

पहिलोपटकको निर्वाचनमा उनी नेपाली कांग्रेसका प्रधाशाली नेता खुमबहादुर खड्कासँग पराजित भए । यो पराजयमा शंकर पोखरेलको भूमिका थियो कि भन्नेबारे दाहाल–नेपाल खेमाका नेता मेटमणि चौधरीले त्यसबेला पोखरेलको राजनीतिक उचाइ कसैलाई हार जितको अवस्थामा ल्याउन सक्ने खालको नभएको बताउँछन् । झण्डै १० हजार मतको अन्तरले हारेका ज्ञवाली ०५१ को निर्वाचनमा जितको सुरुवात गर्न चाहन्थे । फलतः ०५१ मा उनी उम्मेदवारका लागि अघि सरे । तर नेता मेटमणिले भनेजस्तै ०४८ को निर्वाचनमा हार जितको भूमिकामा नरहेका भनिएका उनै पोखरेल ज्ञवालीको उम्मेदवारी दौडसामु बलियो प्रतिस्पर्धी बनेर उभिए । टिकट पनि उनै पोखरेलले पाए । त्यो बेला शंकरले चुनाव जिते । ‘त्यो बेला कांग्रेसले बिजौरी गोली काण्ड गर्यो, अनि शंकर जिलाई चुनाव जित्न धेरै सहज भयो,’ मेटमणि भन्छन् । तर चुनाव जितेका शंकरको जितको श्रेय ज्ञवालीले पाएनन् । ‘उहाँको जीतमा युवराजजीको जतिसुकै भूमिका रहे पनि उहाँले जितको श्रेय दिनै चाहनुभएन,’ मेटमणि भन्छन् । तत्कालीन नेकपा एमालेको केपी ओली समूहसँग नजिक रहेका पोखरेल माधवकुमार नेपाल समूहका ज्ञवालीका लागि ०५७ को चुनावमा फेरि बाधक बनिदिए । संसदीय निर्वाचनमा जितको स्वाद चाख्नै नपाएका ज्ञवाली त्यो बेला पनि उम्मेदवार चुनिन सकेनन् ।  

उता पोखरेल भने जित दोहोर्याउने दाउमा थिए । तर पोखरेलले त्यो बेला चुनाव हारे । अघिल्लो जितमा जितको श्रेय नपाएका ज्ञवालीले योपटक भने पोखरेलको हारको प्रमुख दोष खेप्नु पर्यो । ‘शंकर पोखरेल समूहले त्यो बेला हारको प्रमुख दोष ज्ञवालीलाई लगायो,’ नेकपाका अर्का एक नेताले भने । उनै ज्ञवालीले अन्तरघात गरेकै कारण आफूले हार्नुपरेको निष्कर्षमा पोखरेल समूह पुग्यो । टिकट रेसमा दोस्रो पटक शंकरसंग हारेका ज्ञवालीले पहिलो संविधान सभा निर्वाचन ०६४ मा भने टिकटमा बाजी मारे । पराजयको दोषारोपणले पार्टीभित्र मौलाइसकेको चरम गुटबन्दीले ज्ञवालीलाई यो बेला पनि जितको स्वाद चाख्नै दिएन । उनी ०४८ पछि दोस्रोपटक पराजित बन्न पुगे । ज्ञवाली समूहले यो बेलाको हारको प्रमुख कारण उनै पोखरेल रहेको दाबी गर्यो । ‘पार्टीमा चरम गुटबन्दी भइसकेको थियो, ज्ञवालीलाई हराउनका लागि शंकरजीको समूह खुलेरै लाग्यो,’ मेटमणि भन्छन्,‘शंकरजीको समूहको अन्तरघातको खेलले युवराजले फेरि हार्नुपर्यो ।’ टिकटको पासा पल्टाउने होडमा रहेका यी दुई नेताबीच पछिल्लो संविधान सभा निर्वाचनमा पनि उस्तै प्रतिस्पर्धा चल्यो । यो बेला भने शंकरको पासा पल्टियो । तर, शंकरले चुनाव हारे, अघिल्लो पटकको निर्वाचनमा हारको दोष खेपेका शंकरका लागि यो बेलाका सबै भन्दा ठूला अन्तरघाती फेरि युवराज बने ।

एकै क्षेत्रका यी दुई नेताको चुनावी असहयोगको प्रतिस्पर्धाले जिल्लामै पोखरेल र ज्ञवाली गुटको विस्तार गरिदियो । ओली समूहको नेतृत्व गरेका शंकर र नेपाल समूहको नेतृत्व गरेका ज्ञवाली तत्कालीन नेकपा एमालेको पछिल्लो महाधिवेशनमा पदाधिकारीका उम्मेदवार बनेर प्रतिस्पर्धामा आए । युवराज नेपाल समूहबाट उपाध्यक्ष पदका उम्मेदवार थिए भने शंकर केपी शर्मा ओली समूहका उपमहासचिवका उम्मेदवार । एमालेको केन्द्रीय पदाधिकारी बन्ने दौडमा ज्ञवाली सफल भए भने शंकर विफल भए । उपमहासचिवका आकांक्षी शंकर केन्द्रीय सदस्यमा खुम्चिन पुगे । तथापि शंकर, ओलीको विश्वासपात्र बन्दै गए र एमालेको केन्द्रीय राजनीतिमा प्रभावहीनताको अवस्थामा भने पुगेनन् । गत प्रदेशसभा निर्वाचनमा विजयी शंकरको ओली सामिप्यता फलदायि बनिदियो । उनी प्रदेश मुख्यमन्त्री बने ।  

उता एमालेको उपाध्यक्षमा निर्वाचित ज्ञवाली भने कम्युनिस्ट राजनीतिमा गुमनाम जस्तै बनेर बस्नु प¥यो । कारण थियो तत्कालीन एमाले र माओवादीबीचको एकता । यो एकताले ज्ञवालीको उपाध्यक्ष पद खोसिदियो । यो एकता युवराज ज्ञवालीको व्यक्तिगत राजनीतिक करिअरमा भने ठूलो नोक्सानी बन्यो । ‘पार्टी राजनीतिमा पनि उहाँलाई पारिएन, तर शंकरजी पार्टी राजनीतिसँगै प्रदेश सरकारको मुख्यमन्त्री बन्नु भयो,’ मेटमणि भन्छन्, ‘यसर्थ ज्ञवालीको प्रभाव कहिँ कतै रहन पाएन, तर पोखरेललाई मिलेको जिम्मेवारीले सक्रिय हुने ठूलो अवसर दियो ।’ नेकपाको दुवै समूह अहिले एकअर्काको प्रतिशोधको लडाइँमा छन् । यही लडाइँ ज्ञवालीलाई पुनः सक्रिय राजनीतिमा आउने गतिलो अवसर प्रदान गर्यो । साथै पुनः एकपटक पुरानो प्रतिस्पर्धाको लडाइँ पनि कायमै रहने अवस्था देखिएको छ ।

प्रकाशित: २२ पुस २०७७ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App