नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजन स्पष्ट देखिनेगरी जिल्लामा दुवै पक्षले आ–आफ्नो गतिविधि अघि बढाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रचण्ड–माधव नेपालले नेतृत्व गरेका नेकपाका दुवै समूहले आफूलाई आधिकारिक भएको दाबी गर्दै आ–आफ्नो समूहको भेला, बैठक र छलफल आयोजना गरिरहेका छन्।
अहिले नेकपाका दुवै समूहले जिल्लादेखि स्थानीय तहसम्मका आफ्ना कमिटी गठन गर्दैछन्। आफ्नै दल तर फरक समूहका पदाधिकारीलाई पदमुक्त गर्दै त्यस पदमा आफूनिकटलाई मनोनित गरिरहेका छन्। स्थानीय तहका जनप्रतिनिधि र जिल्ला कमिटीका पदाधिकारी, सदस्य, भ्रातृ संघ–संगठन आफूअनुकूल बनाउन दुवै समूहले कसरत गरिरहेका छन्। अहिलेसम्म नेकपाको ओलीनिकट जिल्ला कमिटीले जिल्लासहित माई र इलाम नगरपालिकालगायत स्थानीय तहमा भेला र बैठक आयोजना गरेको छ। प्रचण्ड–माधव समूहले जिल्ला तह, सूर्याेदय नगरपालिका, सन्दकपुर र माइजोगमाई गाउँपालिकामा भेला र बैठक गरेको छ।
जिल्ला कमिटीमै फाटो आएपछि जिल्ला तहको एउटै बैठक पनि दुवै समूहले अलग–अलग ढंगले सम्पन्न गरेका छन्। एउटै बैठकको नाम दिएर शतप्रतिशत फरक व्यक्ति सहभागी भइ बेग्लाबेग्लै मितिमा आफ्नो समूहको भेला आयोजना गरिएको छ। प्रधानमन्त्री ओलीनिकट नेकपाले मंगलबार सदरमुकाममा जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक आयोजना गर्यो । बैठकमा जिल्ला अध्यक्ष एवं १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरसहितका नेता–कार्यकर्ता सहभागी भए। बैठकले ‘पार्टी छाडेर अर्को समूहमा गइ रिक्त हुन आएको पद’मा अन्य व्यक्ति मनोनित गरेको छ।
बैठकले १ सय ४७ सदस्यीय जिल्ला कमिटीको संख्या १ सय ९९ पुर्या्इ सदस्यसमेत मनोनित गरेको कार्यालय सदस्य उमेश गुरुङले बताए। कमिटीमा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राई, जिल्लाका १० वटै स्थानीय तहमा तत्कालीन नेकपा (एमाले)बाट विजयी उपप्रमुख/उपाध्यक्ष तथा ती पदमा पार्टीबाट चुनाव लडेर उपविजेता भएकालाई समेत जिल्ला कमिटीमा मनोनित गरिएको गुरुङले जनाए।
मंगलबारको बैठकमा प्रदेश सभासद् काजीमान कागते, जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल, उपप्रमुख चित्रकला बराइली, इलाम नगर प्रमुख महेश बस्नेत, उपप्रमुख सुशीला नेम्बाङ, देउमाई नगर प्रमुख सूर्य पोख्रेल, उपप्रमुख पविमाया राई, माई नगर प्रमुख दीपककुमार थेबे, उपप्रमुख विष्णुमाया रिमाल, सूर्योदय नगर उपप्रमुख दुर्गादेवी भट्टराई, सन्दकपुर गाउँपालिका उपाध्यक्ष शोभा पराजुली, फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई, माङ्सेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता लिम्बू, चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहाल, पूर्वसांसद् पदमप्रसाद भण्डारी, जिल्ला नेता उमेश गुरुङ, नरेन्द्रनाथ भट्टराईलगायत सहभागी भए। बैठकले १५ सदस्यीय जिल्ला कार्यालय गठन गरेको कार्यालय सचिव नवराज शंकरले बताए।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले पनि यही बैठक गत १७ गते नै सम्पन्न गरेको जनाएको थियो। बैठकले वर्तमान अध्यक्ष रामबहादुर मगरलाई पदमुक्त गरी भक्त केसीलाई अध्यक्षको जिम्मेवारी दिएको घोषणा गरेको थियो। त्यतिमात्र नभई बैठकले जिल्ला कार्यालय सञ्चालन कमिटी, कार्यालय सचिवमा पनि ओलीनिकट नेताहरूलाई पदमुक्त गरी आफ्ना नेता–कार्यकर्तालाई जिम्मेवारी तोकेको थियो। तर, अध्यक्ष मगरले गत १७ गतेको प्रचण्ड–नेपालनिकटको बैठक पार्टीको आधिकारिक नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए।
जिल्ला अध्यक्ष तथा राज्यमन्त्री मगरलाई ओलीनिकट नेकपाले पार्टीको आउँदो महाधिवेशन आयोजक कमिटी सदस्यमा यसअघि नै मनोनित गरेको थियो। राष्ट्रियसभा सदस्य अगम बान्तवा, प्रदेश सभासद् कागते, जिसस प्रमुख बराल, इलाम नपा प्रमुख बस्नेत, सन्दकपुर उपाध्यक्ष पराजुली, जिल्ला नेताहरू भट्टराई, जयप्रकाश राई, तारा गुरुङ र पूर्वसांसद भण्डारीलाई ओलीनिकट नेकपाले महाधिवेशन आयोजक कमिटीमा मनोनित गरिसकेको छ।
तत्कालीन नेकपा (एमाले) र माओवादीमा लामो समय योगदान गरेका नेता नै २ समूहमा विभाजित भएपछि कार्यकर्तामा चाहिँ अन्योल छ। यहीबेला दिनहुँ एक समूहले भेला/बैठक आयोजना गर्ने, अर्को समूहले त्यसलाई आधिकारिक नभएको भन्दै लिखित अभिव्यक्ति दिनेजस्ता क्रियाकलापले नेकपाका नेता–कार्यकर्तालाई अन्योल भएको हो। तर, जुन समूहले भेला/बैठक आयोजना गरेपनि सर्वसाधारणको सहभागिता चाहिँ देखिएको छ।
जिल्लाका प्रभावशाली नेता र स्थानीय तहमा विजयी जनप्रतिनिधिको ठूलो संख्या चाहिँ पार्टी विभाजनपछि ओली समूहतिर ढल्केको देखिएको छ। जिल्लाका ४ नगर र ६ गाउँपालिकामध्ये तत्कालीन नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा चारै नगरका प्रमुख/उपप्रमुख, ३ गाउँपालिका अध्यक्ष र ५ उपाध्यक्ष जितेको थियो। अहिले नेकपाको ओली समूहमा ३ नगर प्रमुख, १ गाउँपालिका अध्यक्ष र सबै उपप्रमुख÷उपाध्यक्ष खुलेका छन्। १ नगर प्रमुख र २ गाउँपालिका अध्यक्ष प्रचण्ड–नेपाल समूहमा देखिएका छन्।
प्रकाशित: २१ पुस २०७७ १२:१५ मंगलबार