१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश २ मा संसदीय दलका नेतामाथि अविश्वास प्रस्ताव दर्ता

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनको बाछिटा प्रदेश २ को प्रदेशसभामा पनि परेको छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दहाल–माधवकुमार नेपाल पक्षका नेता कार्यकर्ताबीच बढ्दो धुव्रीकरणले कतिपय नेताको तात्कालिन पदीय जिम्मेवारी समेत धरापमा परेको छ।

प्रदेश नम्बर २ प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध दहाल नेपाल–पक्षको नेकपाले अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेकपा दहाल–नेपाल पक्षधर १७ जना प्रदेश सभा सदस्यले मण्डलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्। नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका संसदीय दलका नेता मण्डल प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता हुन्।

दहाल–नेपाल पक्षका प्रदेशसभा सदस्य शत्रुघन महतोसहितका १७ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्। महतोले प्रदेशसभामा नेकपाका कुल ३२ जना सदस्यमध्ये आफूहरुसित (दहाल–नेपाल)२० जना सांसद रहेको दाबी गरे।

महतोका अनुसार नेकपा संसदीय दलको विधानअनुसार दलको नेताविरुद्ध अविश्वास प्रस्ताव उपनेताकोमा लगेर दर्ता गराउनुपर्ने प्रावधान छ। दलका नेता मण्डलविरुद्ध पुस १५ गते नै विधानअनुसार अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको महतोले बताए। उपनेता रामकुमार यादवले आइतबार संसदीय दलको बैठक बोलाउनका लागि प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा तथा सचेतक बेचु लुंगेलीलाई आग्रह गर्ने महतोले बताए।

प्रदेशसभामा नेकपा एमालेका २१ र नेकपा माओवादी केन्द्रका ११ सांसदको प्रतिनिधित्व थियो। तत्कालीन एमालेमा संसदीय दलको नेताका लागि चुनाव हुँदा मण्डललले कुल १२ मत पाएका थिए। अर्का उम्मेदवार उम्मेदवार शत्रुघन महतोको पक्षमा ८ जना सांसदले मत दिएका थिए।  

तत्कालिन एमालेका गोविन्दबहादुर न्यौपाने, अशोककुमार यादव, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जुकुमारी यादव, रविन्द्र बैठा, बेचु लुंगेली, शत्रुघन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा, हसिमा खातुनसहित कुल १४ सांसद दहाल–नेपाल पक्षमा रहेको सांसद जगत प्रसाद यादवले बताए। पूर्व माओवादी केन्द्रका कुल ११ जना सांसदमध्ये जगतप्रसाद यादव, प्रमिलाकुमारी यादव, भरतप्रसाद साह, रामकुमार यादव, रुबीकुमारी कर्ण, फुलिया देवी सदायसहित कुल ६ जना सांसदहरु दहाल– नेपाल पक्षमा रहेको नेता महतोले बताए ।  

नेकपाको कूल ३२ जना सांसदमध्ये १७ जनाले आफूहरुको पक्षमा हस्ताक्षर नै गरिसक्नुभएको छ महतोले भने,‘ बाँकी तीन जना पनि आफूहरुकै पक्षमा आएसकेका छन् ।’

तीन जना प्रदेशसभा सदस्यहरु लगनलाल चौधरी, अनिताकुमारी यादव र दिलिपकुमार साह अहिले कुनै पक्षमा खुलिसकेका छैनन्।  प्रदेश २ को नेकपा संसदीय दलको नयाँ नेताको औपचारिक चयन हुन बाँकी छ। तर, सांसद शत्रुधन महतो नयाँ नेता बन्ने लगभग निश्चित रहेको नेकपा स्रोतको दावी छ। कारण पूर्व एमालेका सबैभन्द बढी १४ जना सांसदमध्ये महतो विरिष्ठ नेता मानिन्छन्।  

नेकपा दुई पक्षमा धुब्रीकरण भएपछिको प्रभाव यहाँको प्रदेशसभामा मात्र परेको छैन। यस प्रदेशका सांसदसँगै शीर्ष नेताहरु समेत विभाजित भएका छन्। यस प्रदेश भित्रको नेकपा संरचनामा आफूहरुको बहुमत रहेको सांसद जगत यादवको दावी छ।

प्रकाशित: १९ पुस २०७७ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App