coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उपस्थित भएरपनि ओली पक्षका ६ जना सांसदले हस्ताक्षर गरेनन्

सुदूरपश्चिममा नेकपा

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि शनिबार पहिलोपटक बसेको सुदूरपश्चिम प्रदेशसभा नेकपा संसदीय दलको बैठकमा उपस्थित भएरपनि ६ जना सांसदले हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। प्रचण्ड–माधव पक्षका नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलको विशेष उपस्थिति रहेको संसदीय दलको बैठकमा सहभागी भएपनि ओली पक्षीय ६ जना सांसदले उपस्थितिमा समेत हस्ताक्षर नगरेका हुन्।

‘एजेण्डा उल्लेख नगरी उपस्थितिमा सांसदलाई हस्ताक्षर गर्न लगाइँदै थियो, एजेण्डा के हो थाहा नभई किन हस्ताक्षर गर्ने भनेर हामीले गरेनौं’ ओली पक्षीय नेकपाका केन्द्रीय सदस्य तथा केही दिनअघि पदमुक्त गरिएका मन्त्री पठानसिंह बोहराले भने,‘बैठकमा सांसदहरुलाई आफ्ना कुरा समेत राख्न दिइएन।’  

ओली पक्षीय अर्का केन्द्रीय सदस्य तथा नेकपा कैलालीका अध्यक्ष रतन थापाले संसदीय दलको बैठकले गरेको निर्णयको बिरोधमा उपस्थितिमा हस्ताक्षर नगरेको बताए। ‘उपस्थितिमा हस्ताक्षर नभएकाले हामीले नोट अफ डिसेन्ट लेख्नु परेन’ उनले भने।

प्रमुख सचेतक तारालामा तामाङ्गले ६ जना सांसदले उपस्थितिमा हस्ताक्षर नगरेको बताए। तर, कुनैपनि सासंदले विरोध नगरेकाले ३ बुँदे निर्णय सर्वसम्मत भएको उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको संविधानको भावना र मर्म विपरित भन्दै बैठकले विरोध गर्ने निर्णय गरेको उनले बताए।

यसैगरी नेकपाका उत्पन्न विभाजनप्रति दुःख व्यक्त गर्दै बहुमत केन्द्रीय सदस्यले गरेको निर्णय र निर्देशनमा दृढताकासाथ उभिने निर्णय गरेको छ ।

पदमुक्त गरिएका मन्त्री पठान सिंह वोहराले बैठकमा बिनाकारण किन पदमुक्त गरेको भनेर संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रश्न गरेका थिए। तर, मुख्यमन्त्रीले कुनै जवाफ नदिएको उनको भनाई छ।

नेकपाका ३९ जना सासंदमध्ये ३६ जना संसदीय दलको बैठकमा सहभागी भएका थिए। ३९ जना सांसदमध्ये अहिलेसम्म ७ जनामात्र ओली पक्षतर्फ खुलेका छन्।

प्रकाशित: १८ पुस २०७७ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App