८ वैशाख २०८१ शनिबार
राजनीति

सम्राटको नयाँ लुगा सम्झाउने प्रधानमन्त्रीको कदम

राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम प्रतिनिधिसभा विघटनले उनैलाई नांगेझार पारेको बताएका छन्। राष्ट्रियसभाको हिउँदे अधिवेशनअन्तर्गत शुक्रबार बसेको पहिलो बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदमलाई डेनिस लेखकको एउटा लोककथासँग जोड्दै यस्तो बताएका हुन्।

देवका अनुसार सन् १९३७ अप्रिल ७ मा प्रकाशित ‘सम्राटको नयाँ लुगाहरू’ नामक लोककथा हन्स क्रिश्चियन एन्डरसनले लेखेका थिए। यो कथालाई सयभन्दा बढी भाषामा अनुवाद गरिएको छ। देवले आफूले यो कथा १० कक्षामा पढेको र नेपालको अहिलेको राजनीतिक परिस्थितिसँग मेल खाने बताए।

‘यो कथा प्रतीकात्मक छ। महाराजले नयाँ लुगा लगाएर बजारमा जाँदा उनका अन्धभक्तहरूले भनेका थिए, महाराजको लुगा कति राम्रो। यसबाट महाराज खुसी भए। त्यसपछि उनलाई एउटा बच्चाले देख्यो र भन्यो– महाराज नांगै हुनुहुन्छ, यो कुरा सुनेर उनी दंग परे। बच्चाले सत्य बोल्यो। अहिले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम पनि यस्तै हो,’ देवले भने।  

उनले थपे ‘प्रधानमन्त्रीको यो कदमले विभिन्न आन्दोलनको एकीकृत उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि भन्ने चिन्ता लागेको छ।’  

मुलुकमा राजनीतिक स्थायित्व दिने सोचका साथ संविधान बनाएको भए पनि असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गरिएकाले यसले अस्थिरता निम्तिएको उनले बताए। उनले भने, ‘बूढी मरीभन्दा पनि काल पल्किने खतरा भयो।’ विगतमा प्रतिनिधिसभा विघटनजस्ता धेरै घटना भएकाले त्यसलाई नयाँ संविधानले हटाएको स्मरण गर्दै उनले संविधान निर्माण गर्दा विघटनका घटना र विषयमा धेरै बहस भएको थियो। ‘संविधानको धारा ७६ को कुनै पनि उपधारामा विकल्प दिने सरकार हुँदाहुँदै विघटनको प्रावधान राखिएको छैन,’ उनले भने। संविधानले जनताको सर्वभौमसत्ता संसद्मा छ भनेको भए पनि प्रधानन्त्री ओलीले आफैंले प्रयोग गरेर संविधानविपरीत कार्य गरेको आरोप उनले लगाए।  

नेकपा संसदीय दलका नेता दिननाथ शर्माले आफ्नो पार्टी औपचारिक विभाजन नभए पनि संघारमा पुगेको बताए। पार्टी विभाजनको संघारमा पुगेको र प्रतिनिधिसभा विघटनको अवस्थाले मुलुक प्रभावित भएको टिप्पणी गर्दै उनले भने, ‘मेरो ५५/५६ वर्षको राजनीतिक अनुभवमा सबैभन्दा दुःखको विषय यही हो।’ शर्माले नेकपाको एकतामा नेपाली जनता खुसी भएर निर्वाचनमा ठूलो दल बनाएको कुराले पनि आफूलाई दुःख लागेको बताए। उनले बैठकमा उपस्थित नेकपाका सांसद वामदेव गौतमलाई पार्टी मिलाउन आग्रह गरे। 

उनले गौतमलाई लक्षित गर्दै भने, ‘यो पार्टीलाई जोड्ने कुनै रसायन छन् भने जोड्न प्रयत्न गर्छु भन्नुभएको छ। यो अभियान सफल होस्।’ उनले पार्टी कुनै सिद्धान्तको आधारमा विभाजन उन्मुख भएको नभई राजनीतिक कारणले विभाजन हुन गइरहेको बताए। ‘राजनीति जनताका लागि हुन्छ भने मुहार फेरिन्छ तर स्वार्थका लागि भयो भने त्यसले मुलुकलाई समाप्त गर्छ,’ उनले भने। दलभित्रको खिचातानीका कारण लोकतन्त्र कमजोर भएको उनले बताए।

जनता समाजवादी पार्टी संसदीय दलकी नेत्री प्रमिला कुमारीले प्रधानमन्त्री ओलीको कदमलाई २०१७ सालमा राजा महेन्द्रले गरेको ‘कु’ सँग जोडिन्। उनले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेकाले पुनर्स्थापना हुनुपर्ने बताइन्।

प्रकाशित: १८ पुस २०७७ ००:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App