coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १ : 'सरकार बनाउन कांग्रेसले कसैलाई वचन दिएको छैन'

प्रदेश नं. १ मा नयाँ सरकार गठन गर्न छलफल अघि बढीरहेका बेला नेपाली कांग्रेसले अहिलेसम्म नेकपाको कुनै पनि पक्षलाईं वचन नदिएको प्रस्ट पारेको छ।

प्रदेश नं. १ मा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री शेरधन राईंबिरुद्द अविश्वासको प्रस्ताव दर्ता भएपछि १५ जना सांसदलाई निलम्बन गरेसँगै नेकपाका पुष्पकमल दाहाल–माधव नेपाल समूहले संसदीय दलको नेतामा भीम आचार्यलाई निर्वाचित गरेको पत्र प्रदेशसभामा दर्ता गरेकाले सरकार गठन गर्न छलफल अघि बढेको छ। मुख्यमन्त्री राईं र दाहाल–नेपाल समूह दुवैले कांग्रेसलाई साथ लिन खोजेका बेला पार्टीको केन्द्रीय निर्णय तथा निर्देशन बिना प्रक्रिया अघि नबढ्ने कांग्रेसले जनायो।    

नेपाली कांग्रेस प्रदेश नं. १ संसदीय दलका नेता तथा सुनसरी सभापति राजीव कोइरालाले दुवै पक्षसँग वार्ताको क्रम जारी भएपनि कुनै पनि पक्षलाई वचन नदिएको र निर्णय पनि नभएको स्पस्ट पारे। ‘कि त केन्द्रले प्रदेशको स्थिती हेरेर अघि बढ् भन्न पर्योच। कि त केन्द्रले एउटा नीति तय गरेपछि मात्रै हामीलाई अगाडि बढ्न सजिलो हुन्छ,’ नेपाल प्रेस यूनियन सुनसरीले शुक्रबार इटहरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता कोइरालाले भने,  ‘कांग्रेस लोकतन्त्रको अगुवाई गरेको पार्टी भएकाले गर्दा अहिलेको अवस्थामा सरकारमा जान हतार गर्नु हुँदैन्।’  

नेता कोइरालाले अहिलेको अवस्थामा सरकारमा गएर कुनै उपलब्धी नहुने बरु पार्टी कमजोर हुने बताए। ‘प्रदेश नं. १ सरकारले प्रदेश विकासको बजेट सांसदहरुलाई दिएको छैन्। फोहोरको डङ्गुर छ, अहिले त्यहाँ गएर फोहोर सफा गर्न सकिन्छ ?’ उनले भने, ‘स्पस्ट दुई तिहाईको सरकारले काम गर्न नसकेको अवस्थामा हामी जादा केही पनि गर्न सकिदैन।’  

उनले केन्द्रीय नीति र स्पस्ट निर्देशन हुँदैन, मन्त्री हुन र अरु कुनै पद ओगटन मात्र जानुको अर्थ नहुने प्रस्ट्याए। ‘राष्ट्रियता, संघीयता र लोकतन्त्रलाई जोगाउनका लागि मात्र सरकारमा जान सकिन्छ, अरु ढंगले गएर केही फाइदा छैन,’ उनले भने, ‘संघीयता जोगाउन र संविधानको रक्षा गर्न बाहेक सरकारमा गएर अरु गएर केही फाइदा छैन्।’

उनले संसद पुर्नःस्थापना हुनुपर्ने नत्र सर्वोच्च अदालतले चुनाब गर्ने निर्णय गरेमा त्यसका लागि पनि काँग्रेस तयार हुनुपर्ने बताए। उनले ओली नेतृत्व सरकारले चुनाब गराउने कुनै ग्यारेन्टी गर्न नसक्ने जिकिर गरे। सोही कार्यक्रममा कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले प्रतिनिधीसभा विघटन गर्नु आपत्तीजनक भएपनि चुनाब काँग्रेसको लागि आत्मा भएकाले गर्दा त्यसको तयारीमा पनि लाग्नुपर्ने बताए।  

प्रदेश नं. १ का मुख्यमन्त्री राईले पार्टी विधानविपरीत काम गरेको भन्दै दाहाल–नेपाल पक्षीय १५ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेका छन् । दाहाल–नेपाल समूले मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएका छन्। दाहाल–नेपाल समूहले संसदीय दलको नेतामा भीम आचार्यलाई निर्वाचित गरेको पत्र प्रदेशसभामा दर्ता गरि सकेको छ । जसले गर्दा सरकार गठनका लागि अहिले तीब्र छलफल अघि बढीरहेको छ।  

प्रदेशसभामा कुल ९३ सांसदमध्ये नेकपामा ६७ जना छन्। यीमध्ये २० जना ओली समूहमा खुलेका छन्। प्रदेशसभामा काँग्रेसका २१, जनता समाजवादीका तीन र संघीय लोकतान्त्रिक मञ्च तथा राप्रपाका एक/एक जना सांसद छन्।  

 

 

प्रकाशित: १७ पुस २०७७ ११:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App