coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली नसच्चिए आन्दोलनको आँधी

ओली प्रवृत्तिविरुद्ध दाहाल–नेपाल समूहको खबरदारी

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेर मुलुकमा प्रतिक्रान्ति र प्रतिगमन निम्त्याएको आरोप नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले लगाएको छ। दाहाल–नेपाल समूहले मंगलबार राजधानीलगायत देशका विभिन्न भागमा ओलीको उक्त कदमविरुद्ध प्रदर्शन गर्दै यस्तो आरोप लगाएको हो। दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनस्र्थापनाको माग राखेको छ।  

विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरूले संविधानको मर्म र भावनाविपरीत प्रधानमन्त्री ओलीले तत्कालीन राजा ज्ञानेन्द्रकै शैलीमा प्रतिगामी कदम चालेको भन्दै प्रतिनिधिसभा विघटनको कदम नसच्याए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन्। प्रतिगामी कदम सच्याएरै छाड्ने ठोकुवा गर्दै दाहाल–नेपाल पक्षले त्यसका लागि तयार रहन ओलीलाई चुनौती दिएको छ। ‘जेजे गर्न सक्छौं गर, हामी अन्तिम समयसम्म पनि छाड्दैनौं,’ काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले भने, ‘वैशाखपछि ओली प्रधानमन्त्री पनि रहँदैनन्। नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाफ हुनेबाला छ।’

ओलीलाई श्री ३ महाराजाधिराज बन्ने सपना नदेख्न दाहालले सचेत गराए। पार्टीले अहिले सुरु गरेको आन्दोलन सुरुवात मात्रै भएको धारणा राख्दै दाहालले कामचलाउ सरकारका प्रधानमन्त्रीले प्रतिगामी कदमलाई समयमै नसच्याए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावन दिए। तत्कालीन एमालेका महासचिव मदनकुमार भण्डारीको भनाइ उद्धृत गर्दै दाहालले भने, ‘यो भत्कौरो मात्र हो। बाजा बजाएर जन्ती आउन बाँकी नै छ।’

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन जीवन र मरणको सबाल भएको बताउँदै दाहालले निर्मम संघर्षका लागि तयार हुन कार्यकर्ता र जनतालाई अपिल गरे। यति छिट्टै प्रतिगमनविरुद्ध लड्नुपर्ला भन्ने आफूलाई नलागेको दाहालले बताए। ओलीबाट संविधान र लोकतन्त्रविरुद्ध कठोर प्रहार भएको बताउँदै उनले आन्दोलनका पक्षमा लाग्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।  

नेकपा गठनपूर्व दुई पार्टीबीच गठबन्धन भएर निर्वाचनमा जाँदा जनताले समाजवादको आधार तयार हुने ठानेर झन्डै दुई तिहाइ मत दिए पनि नेकपाकै प्रधानमन्त्रीले जनमतको अपहेलना गरेको उनले बताए। उनले प्रधानमन्त्री ओली बयलगाडा र परिवर्तन विरोधी हुन् भन्ने थाहा हुँदाहुँदै पनि सच्चिने विश्वासमा एकता गरेको तर उनी बयलगाडाभन्दा माथि उठ्न नसकेको बताए। दाहालले ओलीमाथि कम्युनिस्ट विचार र आदर्शबाट स्खलित भएको आरोप पनि लगाए। ओलीले निरंकुश तानाशाह बनेर देशलाई भड्खालोमा हाल्न खोजेको टिप्णी गर्दै दाहालले यसलाई सफल हुन नदिने बताए। दाहालले ओलीले प्रतिनिधिसभा भंग गरेको नभई सरकार विघटन गरेको बताए। ओलीले संविधानको बलात्कार गरेर कलंकको टीका लगाएको दाहालको भनाइ थियो।

दाहालले प्रतिनिधिसभा पुनस्र्थापना माग राखेर दायर मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएको उल्लेख गर्दै अदालतले जनताको मर्मलाई सम्मान गर्ने विश्वास व्यक्त गरे। ‘अदालत संविधानको मर्म र राजनीतिक दलको भावनाविपरीत जान्छ भन्ने कुरा सोच्न पनि सकिँदैन,’ उनले भने। उनले आन्दोलनलाई सही कदमका लागि सहजीकरण गर्न खोजेको रूपमा बुझ्न पनि आग्रह गरे।  

दाहालले प्रधानमन्त्री ओलीले एक वर्षअघिदेखि नै पार्टी विभाजनको प्रयास र लोकतन्त्रमाथि प्रहार गर्न सुरु गरेको ठोकुवा गर्दै अहिले त्यसको उत्कर्ष रूप देखिएको बताए। दाहालले आफूलाई जनतासँग जाने अवसर दिएको भन्दै ओलीलाई धन्यवाद दिए।  नेकपा विभाजित भएपछि चुनाव जित्ने आसमा कांग्रेस निर्वाचनप्रति लचिलो बनेको संकेत गर्दै दाहालले नहुने निर्वाचनको भ्रममा नपर्न आग्रह गरे। उनले आफैंले बनाएको संविधानमाथि बलात्कार हुँदा कसैले पनि टुलुटुलु हेरे बस्न नसक्ने बताए।  

अर्का अध्यक्ष माधवकुमार नेपालले निरंकुश बाटो समातेको ओली प्रवृत्तिको आयु सकिएको बताए। उनले ओलीले पुस ५ गते जनताले बनाएको संविधानको मर्म कुल्चिएर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै उनको यो कदम नेपाली जनतालाई स्वीकार्य नभएको बताए। ओलीले गणतन्त्रमाथि खिसिट्युरी गर्दै संघीयता, संविधान, लोकतन्त्र र यसका मूल्यमान्यता र जनचाहनाविरुद्ध कदम चालेको नेपालको भनाइ थियो। ओलीलाई पार्टीसँग सरोकार नभएको र उनमा व्यक्तिवाद, निरंकुश बन्ने सोच र फुटवादी प्रवृत्ति हाबी भएको नेपालले बताए। ‘ओलीमा कम्युनिस्टमा हुने संस्कार र लोकतन्त्रप्रेमी व्यक्तिमा हुने चरित्र छैन। उनी पार्टीको कुनै पनि निकायसँग छलफल नगरी स्वेच्छाचारी ढंगले अघि बढे,’ नेपालले भने।  

नेपालले ओली अझै पनि सुध्रिन सक्ने अपेक्षासहित उनलाई केन्द्रीय सदस्य र साधारण सदस्यबाट ननिकालिएको बताए। ‘उहाँ सुध्रिनुहुन्छ र बालुवाटारबाट तेल निस्किन्छ भने म स्याबास भन्ने छु। बांगो पुच्छरलाई तेल लगाएर सिधा बनाउन सके स्याबास भन्नेछु,’ उनले भने। ओलीले पश्चाताप गर्दै प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सहयोग गरे सबै कुरा बिर्सन आफूहरू तयार रहेको तर उनी सच्चिन तयार नभए ‘भीरमा जाने गोरुलाई रामराम’ मात्र भन्न सकिने नेपालले बताए।  

अध्यक्ष नेपालले ठूलो संघर्षबाट प्राप्त उपलब्धि ओलीकै कारण गुम्न सक्ने खतरा आएको बताए। उनले ‘ओली प्रवृत्ति’ बाट मुक्ति पाउनुपर्ने आवश्यकता पनि औंल्याए। प्रतिनिधिसभा भंग हुँदा प्रधानमन्त्री पनि नरहने संवैधानिक प्रावधान भए पनि ओलीले भने अहिले पनि मन्त्री पद बाँडिरहेको नेपालले बताए।  

नेकपाका ७० प्रतिशत केन्द्रीय सदस्य आफूहरूसँग रहेको दाबी गर्दै नेपालले ओली समुहलाई बालुवाटार गुटको संज्ञा दिए। उनले नेकपाको सूर्य चिह्न बालुवाटारमा नभएर जनताको बीचमा रहेको तर्क गरे। उनले प्रतिनिधिसभा पुनस्र्थापना हुने भएकाले त्यस विषयमा चिन्ता गर्नुपर्ने अवस्था नभएको पनि बताए। नेपालले ओली र पूर्वराजा ज्ञानेन्द्रबीच तुलना गर्दै दुवैमा उस्तै प्रवृत्ति रहेको औंल्याए।  

वरिष्ठ नेता झलनाथ खनालले ओलीले नेपाली जनताको हक अधिकार खोसेकाले आन्दोलनमा उत्रिनुपरेको बताए। ओलीको कदम प्रतिगामी भएको टिप्पणी गर्दै तीन वर्षअघि प्राप्त सफलता ओलीको नभएर नेकपाको भएको बताए। ‘त्यो ओलीको विजय थिएन, समाजवादप्रतिको प्रतिबद्धता र समर्थन थियो,’ उनले भने। खनालले ओलीका बारेमा केही आशंका भए पनि १४ वर्ष जेल परेकाले विश्वास गरिएको बताए।  

ओलीले बालुवाटार पुगेपछि पार्टी बिर्सिएको, पार्र्टीलाई भ¥याङ मात्र बनाएको, एकलौटी मन्त्रिपरिषद् विस्तार गरेको, पार्टीसँग सल्लाह नगरीकन नीति तथा कार्यक्रम ल्याएको र पार्टीको सुझाव नसुनेको आरोप खनालको थियो। ओलीले तीन वर्ष गफै गरेर बिताएको उल्लेख गर्दै खनालले गफ, उखान र टुक्काले देश नचल्ने बताए। उनले ओलीले तीन वर्षमा मरिचमान सिंहले जति काम पनि नगरेको बटाए। नेकपाको एकतामा ओलीले निरन्तर बाधा उत्पन्न गरेको टिप्पणी गर्दै खनालले आफैंले बनाएको संविधानमाथि पनि उनले बलात्कार गरेको आरोप लगाए।  पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको प्रतिनिधिसभा विघटन कदम खारेज हुने दाबी गरे। उनले संवैधानिक अंगलाई स्वच्छ ढंगले काम गर्ने वातावरण बनाउन प्रदर्शन गरिएको बताए। उनले प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन जारी रहने पनि बताए।  

महिला नेत्री अष्टलक्ष्मी शाक्यले कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्दै ओली सर्वसत्तावादी हुँदै गएको आरोप लगाइन्। ओली स्वेच्छाचारी हुँदै गएको र अब उनी कमरेड नभएर निरंकुश शासक बनेको बताइन्। विरोधसभामा नेताहरूले छिट्टै आन्दोलनका कडा कार्यक्रम ल्याउने पनि बताए।  प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमविरुद्ध आयोजना गरिएको विरोधसभामा हजारौंको संख्यामा नेता कार्यकर्ता उपस्थित थिए। राजधानीको विभिन्न स्थानबाट निकालिएको जुलुस नगर परिक्रमा गर्दै भृकुटीमण्डप पुगेर सभामा परिणत भएको थियो। जुलुसमा अध्यक्ष दाहाल, नेपालसहितका नेताहरू पनि सहभागी थिए।

प्रकाशित: १५ पुस २०७७ ००:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App