coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीविरुद्ध मुख्यमन्त्री शाही सडकमा

तस्बिर: नागरिक

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सडक आन्दोलनमा निस्केका छन्। प्रचण्ड–माधव नेपाल समूहले मंगलबार देशभरि गरेको विरोध कार्यक्रमअन्तर्गत मुख्यमन्त्री शाही सडक आन्दोलनमा उत्रिएका हुन्।

नेकपाका कालीकोट जिल्ला इन्चार्जसमेत रहेको मुख्यमन्त्री शाही मन्त्रालयको कामकाज छाडेर कालीकोट पुगेका थिए। मुख्यमन्त्री शाही कालीकोटमा निकालिएको ¥यालीमा सर्वसाधारणसँगै सडकमा निस्केका थिए। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रधानमन्त्री ओलीको कमदको चर्काे आलोचना गरेका छन्। 

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर मुलुकलाई संकटमा पारेको उनको आरोप छ। गरिबविरुद्धको शासन व्यवस्थासँग लड्दा उहाँ त्यस लडाइँ विरुद्धमा प्रधानमन्त्री भएको स्मरण गर्दै मुख्यमन्त्री शाहीले भने। ‘पार्टीको हितमा काम गर्छु भनेपछि जिम्मेवारी दिएको हो। गद्धारी र घोका दिनलाई होइन।’ प्रधानमन्त्री ओलीले आफू पक्षीय भेलाबाट केन्द्रीय समिति विस्तार गरेर म बहुमतमा छु भन्नु हांस्यास्पद भएको भन्दै उनले भने, ‘पार्टीको आधिकारिकता बहुमतले गर्छ अल्पमतले होइन।’ आफ्नो गुटगत भेलाबाट एक्लौटी केन्द्रीय सदस्य विस्तार गरेर त्यो आधिकारिक नहुने उनको भनाइ छ। 

असंवैधानिक कदम चालेर ओलीले अर्काे जंगबहादुरको सपना देखेको उनले बताए। प्रधानमन्त्री ओली व्यक्तिगत निहीत स्वार्थको पछाडि लागेको भन्दै उनले बालुवाटारले त्यसलाई सच्याउनु पर्ने बताए। तानाशाही प्रवृति देखाए जनताले त्यसको प्रतिकार गर्ने उनको भनाइ छ। अदालत, सेना, पुलिस देखाएर नेता तथा कार्यकर्तालाई डर त्रासमा प्रधानमन्त्री ओलीले राखेको उनले जनाए। संघीय व्यवस्थाका विपक्षीमा बोल्न व्यक्ति प्रधानमन्त्री ओली भएको भन्दै उनले समावेशी, समावेशीताको आधार ओलीले अस्वीकार गरेको बताए।  यता कतिपयले भने प्रदेशको कार्यकारी व्यक्ति मुलुकको कार्यकारीको विरुद्धमा सडकमै उत्रिनु राजनीतिक संस्कार नभएको बताएका छन्।  

प्रदेशको कार्यकारी व्यक्ति आफ्नो जिम्मेवारी भुलेर प्रधानमन्त्रीविरुद्ध सडकमा नाराबाजी गर्दै हिँड्नु गैरजिम्मेवारीपन भएको ओली समूहको नेकपा कालीकोटका सचिव नेशनल शाहीले बताए। ‘मुख्यमन्त्री शाही आफ्नो जिम्मेवारी भुलेर सडकमा आउनुभयो,’ उनले भने, ‘यसरी सडकमा आउँदा मुख्यमन्त्री शाहीले जंगलमा छौं भन्ने प्रमाणित गर्नुभयो।’ मुख्यमन्त्री शाहीको गैरराजनीतिक संस्कार भएको उनको भनाइ छ।

त्यस्तै कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा पनि प्रचण्ड–नेपाल समूहले विरोधको कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा नेकपाकी नेता रामकुमारी झाँक्रीले सम्बोधन गरेका थिइन्। उनले निरंकुशले सडकमा घुँडा टेक्ने दाबी गर्दै टोलेहरुले राजनीतिक नमार्ने बताइन्। ‘बहुमत जता छ पार्टी त्यसको हुन्छ,’ उनी भन्छिन्, ‘मूलधारको कम्युनिस्ट अंशबण्डा गर्न पाइँदैन।’ भौतिक सम्पत्तीले मात्र पार्टी नजोगाइदिने भन्दै उनले भनिन्, ‘जसले भौतिक सम्पत्ती कब्जा गर्छ उसलाई जनताले चुनावमा पराजित गर्छन।’ पार्टी टोलेहरू पालेर मात्र नहुने भन्दै सौद्धान्तिक र विचारले पार्टी जीवित हुने बताइन्। पार्टीको वैधानिकतामा गिध्ये नजर लगाउन कसैलाई अधिकार नभएको नेकपाका नेता मिन्दमान बिष्टले बताए। सुर्खेतमा भएको कार्यक्रममा प्रदेश सांसद, गाउँ तथा नगरपालिकाका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो।

प्रकाशित: १४ पुस २०७७ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App