८ वैशाख २०८१ शनिबार
राजनीति

गगन थापाको आरोप : राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनतासँग कपट गरे

नेपालगन्जको त्रिभुवन चोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस नेता गगन थापा।

नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अराजकतातर्फ लैजान थालेको बताएका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले नेपालगन्जमा सोमबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको पछिल्लो कदम सर्वसत्तावादी र अधिनायकवादी रहेको जिकिर गरे।

‘यो सर्वसत्तावादी र अधिनायकवादी कदम हो, यो कदमले नेपाललाई ठूलोे अराजकतातर्फ लिएर जाँदैछ, ठूलो अनिश्चिततातर्फ लिएर जाँदैछ, यो नेपालमाथिको ठूलो षडयन्त्र हो,’ उनले भने।  

नेता थापाले जनमतको सुविधा, संसदभित्रको गणितको सुविधा र देश तथा विदेश सबैतिरको अनुकुल वातावरण पाउँदापनि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेकपाबाट निर्वाचित प्रधानमन्त्री ओलीले संविधान र व्यवस्थाप्रति विश्वासघात गरेको आरोप लगाए। ‘यो संविधान र व्यवस्थाप्रतिको विश्वासघातले गर्दा आज सिंगो व्यवस्थामाथी नै प्रश्न उठिरहेको छ,’ उनले भने।

उनले प्रधानमन्त्रीको अधिनायकवादी कदमबाट जनताको विश्वास डगमगाइरहेको समेत बताए। संसदभित्र टाउको गनेर प्रधानमन्त्रीमा निर्वाचित भएका ओली अहिले टाउको संख्या कम भएपछि मैदान छाडेर भागेको उनको आरोप छ।  

उनले देशको सबैभन्दा सर्वोच्च पदमा बसेका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनतासँग कपटी, जाली र फट्याई गर्ने काम गरेको बताए।

प्रधानमन्त्री र राष्ट्रपतिले सिंगो संसदलाई विघटन गरेर संविधानलाई नै दुर्घटनातर्फ लिएर जान थालेको नेता थापाको टिप्पणी छ।

अर्को प्रसंगमा नेता थापाले तत्कालीन एमाले र माओवादीबीचको एकीकरण आलु र काउली जस्तै भएको भन्दै ब्यंग्य समते गरे।

प्रकाशित: १३ पुस २०७७ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App