१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली सरकार आतंककारी हो : देउवा

भक्तपुरको थिमिमा सोमबार नेपाली काङ्ग्रेसद्वारा आयोजित विरोध कार्यक्रममा सहभागी नेका सभापति शेरबहादुर देउवा। तस्बिरः रोशन सापकोटा/रासस

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘आतंककारी सरकार’को संज्ञा दिएका छन्। नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ को आयोजनामा सोमबार भक्तपुरमा भएको विरोधसभामा सभापति देउवाले अहिलेको कम्युनिस्ट सरकारको आतंककारी गतिविधि समाप्त पार्नु जनताको जिम्मेवारी रहेको बताए।  

ओली सरकारले गरेको असंवैधानिक तथा अलोकतान्त्रिक कार्यको निरन्तर विरोध कार्यक्रम जारी राख्ने उनको भनाई छ। सोमबारको देशभरको विरोध कार्यक्रमको मूल्यांकन गरी पार्टीको अर्काे बैठकबाट नयाँं चरणको विरोधको कार्यक्रम सार्वजनिक गर्ने देउवाले बताए।  

ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कार्यको पार्टीले एक्लैले विरोध गर्दै जाने देउवाको भनाई छ। विभिन्न पार्टीहरुले संयुक्त रुपमा विरोध गर्न प्रस्ताव आएपनि पार्टी एक्लै आन्दोलनमा होमिने उनले बताए। त्यसका लागि जुनसुकैबेला पनि आन्दोलनमा जान तयार रहन उनले पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिए।  

नेपाली कांग्रेस पार्टी अदालतको निर्णयलाई सहर्ष स्वीकार गर्ने पार्टी भएको जनाउँदै उनले अदालतको निर्णय नआएसम्म आन्दोलन जारी रहने जनाए। पञ्चायतकालमा पनि अदालत स्वतन्त्र रहने चर्चा गर्दै उनले भने, ‘हामी अदालतको निर्णय मान्ने पार्टी, सम्मान गर्ने पार्टी तर यो कम्युनिस्ट नामको सरकारबाट अदालतलाई स्वतन्त्र रुपमा निर्णय गर्ने अधिकार दिनुपर्छ।’ कम्युनिस्ट सरकारको यो कालमा अदालतले पनि स्वतन्त्र न्याय नदिएको चर्चा उनले आरोप थियो।

सभामा पार्टीका केन्द्रिय सदस्य रमा पौडेलले केपी ओली नेतृत्वको सरकारले कोरोनाको नाममा जनतालाई घरभित्र थुनेर राजनीतिक स्वार्थ पूरा गर्ने खेल खेलेको आरोप लगाइन्। उनले वर्तमान सरकारले जनतालाई भ्रष्टाचार दिएको त्यो पनि करोडमा होइन, अरवमा दिएको बताइन्। उनले सरकारको अर्काे उपहार बलात्कार भएको त्यो पनि एक पटक नभई पटकपटक दिएको बताइन्। विरोधसभामा पार्टीका जिल्ला अध्यक्ष दुलर्भ थापा, पार्टी क्षेत्र नं १ का सभापति जीवन खत्रीलगायतले सरकारको कार्यशैलीलाई लिएर आलोचना गरेका थिए। विरोधसभाअघि विरोध ¥याली पनि निकालिएको थियो। यसअघि पार्टी क्षेत्र न १ को विरोध सभा भक्तपुर नगरपालिका अगाडि भएको थियो।  

प्रकाशित: १३ पुस २०७७ १०:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App