प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार देशैभर प्रदर्शन गरेको छ । त्यही क्रममा कास्की, तनहुँ लगायतका जिल्लाका निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा सहभागि हुन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँँ–२ भीमाद आएका छन् । भीमादको विरोधसभामा बोल्दै पौडेलले पार्टीभित्र नमिल्दा प्रधानमन्त्री केपी शर्मा ओलीले तमासा देखाएको बताए । लोकतन्त्रको मर्म अनुसार हुन नसकेको उनको भनाई छ । चुनाव गराउने नियतले संसद विघटन नभएको पौडेलको भनाई थियो । जनताको विश्वासमाथि धावा बोलेको वरिष्ठ नेता पौडेलले बताए ।
‘चुनाव गराउने मनसाय अहिले छैन,’ पौडेल भने, ‘अहिलेको कदमले राष्ट्रलाई खतरामा पार्नेछ । संविधान फ्याक्ने खतरा बढेको छ । चुनाव गराउने नियतले संसद बिघटन नभएको पनि उनले बताए । नेपाल अफगानिस्तान बन्न सक्ने खतरा बढेको पनि वरिष्ठ नेता पौडेलको भनाई थियो ।
वरिष्ठ नेता पौडेलले पाँचवर्षका लागि चुनिएको सरकारले जनतालाइ धोका दिएको बताए । जनताले विकास गर भनेको सरकारले बीचमा छाडेको उनले बताए । ‘प्रतिपक्षले पनि काम गर्न, विकास गर्न सरकारलाई भनेको हो । हामीलाई सरकारमा जान हतार छैन भनेका हौ,’ उनले भने, ‘तर, अहिले त्यो हुन सकेन ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले सोमबार यसको विरोधमा देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलका अनुसार कास्की–१ को लेखनाथ, २ को पोखरा सभागृह र ३ को पोखरा हरिचोकमा प्रदर्शन गरिएको छ ।
‘क्षेत्र अन्तर्गतका विभिन्न ठाउँबाट आएका कांग्रेस कार्यकर्ता ओलीको कदम विरुद्ध आन्दोलनमा सहभागि भएका थिए,’ सिग्देलले भने । प्रदर्शनको नेतृत्वका लागि केन्द्रीय नेताहरु देशका विभिन्न ठाउँमा पुगेका छन् ।
प्रकाशित: १३ पुस २०७७ ०८:३० सोमबार