७ वैशाख २०८१ शुक्रबार
राजनीति

पिपिईमा चिनियाँ पाहुना

नेकपा विभाजन रोक्न आएको टोलीबारे परराष्ट्र मन्त्रालय बेखबर

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आपसी मतभेदसँगै दुई समूहमा बाँडिएपछि मिलाउन चिनियाँ कम्युनिस्ट पार्टीको सक्रियता बढेको छ। नेकपामा मतभेद र विभाजनसँगै नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले राजनीतिक भेटघाटलाई तीव्र बनाएका बेला आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओ नेतृत्वको टोली चारदिने नेपाल भ्रमणका क्रममा विशेष विमानबाट काठमाडौं आइपुगेको छ।

राजदूत याङछीको तहबाट नेकपा विभाजन रोक्ने प्रयास सफल नभएपछि चिनियाँ कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओसहितको टोलीलाई नेपाल पठाएको स्रोतको दाबी छ। यसअघि राजदूत याङछीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, पूर्वसभामुख कृष्णबहादुर महरालगायतसँग भेट गरेर विभाजनका विषयमा चासो र चिन्ता व्यक्त गरिसकेकी छिन्।  

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेकपा गठन भएको हो। मुलुकमा यही दलको सरकार छ। दुवै दल मिलेपछि झण्डै दुई तिहाइ बहुमतमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बने पनि आन्तरिक विवादका कारण नेकपामा विभाजन देखिएको हो। यही विवादका कारण सरकारले संघीय संसद्को प्रतिनिधिसभा विघटन भइसकेको छ।  

नेकपा र उसको नेतृत्वको सरकार उत्तरी छिमेकी मुलुक चीनसँग निकट रहँदै आएको अवस्था छ। करिब तीन वर्षको अवधिमा चीन नेपालमा आफ्नो बलियो प्रभाव जमाउन सफल भएको जानकार बताउँछन्। पछिल्लो समय नेकपा विभाजनमा अर्काे छिमेकी मुलुक भारतको भूमिका रहेको बारेमा चर्चा भइरहेका बेला चीनले आफ्ना वरिष्ठ नेतालाई नेपाल पठाएको हो। केही समयअघि भारतबाट उच्चस्तरीय भ्रमणहरू भएपछि चीनले आफ्नो उपस्थितिको बलियो सन्देश दिन एक दिवसीय भ्रमणका लागि रक्षामन्त्रीलाई नेपाल पठाएको थियो। नेकपाभित्रको विभाजनले नेपालमा चिनियाँ प्रभावलाई कम गर्न सक्ने अनुमानका बीच चिनियाँ वरिष्ठ नेताहरू यहाँ आएका हुन्।  

परराष्ट्र मन्त्रालय बेखबर

चिनियाँ टोली नेकपाभित्रको विवाद मत्थर पार्ने नेपाल आएको बताइए पनि यो भ्रमणबारे परराष्ट्र मन्त्रालय बेखबर छ। परराष्ट्र मन्त्रालयले चिनियाँ प्रतिनिधिमण्डलको भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। ‘उहाँहरू राजनीतिक दलको निमन्त्रणामा आएको हुन सक्छ, भ्रमणबारे मन्त्रालयलाई जानकारी छैन र मन्त्रालयले समन्वयन पनि गरेको छैन,’ मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नागरिकसँग भनिन्। सामान्यतया बहालवाला र महŒवपूर्ण सार्वजनिक पदमा बहाल भइसकेका व्यक्तिहरूले विदेशी मुलुकका प्रतिनिधिसँग भेट गर्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई सँगै राख्नुपर्ने हुन्छ। तर व्यवहारमा भने त्यस्तो देखिँदैन।  

चिनियाँ प्रतिनिधिमण्डलले सुरक्षाका लागि नेपाल प्रहरीले उपलब्ध गराउन खोजेको सुरक्षा पनि लिन अस्वीकार गरेको जनाइएको छ। यसो भनिए पनि चिनियाँ दूतावास आसपास र उनीहरू हिँड्ने सम्भावित ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी गराए। चार सदस्यीय प्रतिनिधिमण्डल विमानस्थलबाट सोझै चिनियाँ दूतावास पुगेको थियो।  

शीर्ष नेताहरूसँग भेट्ने  

चिनियाँ प्रतिनिधिमण्डलले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको छ। राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा नेकपाभित्रको पछिल्लो विवाद, दुई पक्षीय सम्बन्धलगायत विषयमा कुरा भएको बताइएको छ।  

टोलीले नेकपाको एक समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्ने कार्यक्रम छ। तर प्रधानमन्त्रीको सचिवालयले भने भेटघाटबारे जानकारी नभएको जनाएको छ। त्यस्तै टोलीले नेकपाको अर्को समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग पनि भेट्ने तय भएको छ। तर कहिले र कहाँ भेट्नेबारे जानकारी नभएको दाहालको सचिवालयले जनाएको छ। ‘भेट्ने कुरा भएको छ तर समय र स्थान निश्चित भएको छैन,’ दाहालको सचिवालयका एक सदस्यले भने।  

चिनियाँ नेताले अर्का अध्यक्ष नेपालसँग पनि भेट्ने निश्चित भएको छ। ‘दुवै अध्यक्षसँग भेट्ने कुरा भएको छ,’ दाहाल–नेपाल समूहका एक नेताले भने।  

प्रभाव बढाउन प्रतिस्पर्धा  उदाउँदो शक्तिका रूपमा रहेका चीन र भारतले पछिल्लो समय नेपालमा आफ्नो प्रभाव बढाउन प्रतिस्पर्धा गर्दै आएका छन्। छिमेकीमात्र  होइन, नेपालमा पश्चिमा मुलुकहरूको पनि चासोबढ्दै गइरहेको छ। विशेषगरी एसियामा चीन नयाँ विश्व शक्तिका रूपमा उदाउँदै गर्दा नेपालमा अमेरिकी चासो व्यापक देखिन्छ। पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज  कर्पाेरेसन स्वीकार गर्नेनगर्ने विषयमा नेपालका नेताहरूबीच देखिएको अन्योलले पनि यहाँ  अमेरिकी चासो थप बढेको देखिन्छ। चीनको पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सदस्य बनिसकेको नेपालमा अमेरिकी परियोजनालाई स्वीकार्ने विषयमा मतभेद भएपछि अमेरिकी चासो बढेको हो।  

चीन र भारत भने नेपालमा कसको प्रभाव स्थापित गर्ने भन्ने विषयमा प्रतिस्पर्धा गरेको देखिन्छ। नेपालमा लामो समयदेखि भारतीय प्रभाव रहँदै आएकोमा पछिल्ला केही वर्षयता त्यो भूमिकामा चीन देखिँदै आएको छ। नेपालको सत्ता परिवर्तन र राजनीतिक गतिविधिमा भारतले एक छत्र प्रभाव राख्दै आएकोमा नेकपा गठन र उसकै नेतृत्वमा सरकार बनेपछि चिनियाँ प्रभाव बढ्दै र भारतीय प्रभाव घट्दै गएको जानकारको बुझाइ छ। तर नेकपाभित्रको विवाद र विभाजनसँगै पुरानो भूमिकामा भारत पुनः फर्किन थालेको अनुमान गर्न थालिएको छ। यसै सन्दर्भमा चिनियाँ चासो नेपालमा बढेको हो।

प्रकाशित: १३ पुस २०७७ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App