coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जो संसद् छिर्नै पाएनन् !

स्याङ्जाका मोहन पाण्डे प्रतिनिधि सभाको सासद्मा निर्वाचित भएको एक महिना पनि पूरा भएको छैन। गत ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरे। पाण्डे संसदभित्र छिर्न पनि पाएनन्। संसद् अधिवेशनमा भाग लिएको, संसद्मा बोलेको अनुभव उनले भोग्न पाएनन्। एक दिन संसद् भवनमा पुगेर सपथ ग्रहण गर्ने मौका भने उनले पाए।

सर्वोच्चले संसद् पुर्नस्थापनाको फैसला गरेन भने उनी करिब एक महिनाको मात्रै सांसद हुनेछन्। ‘म कति दिनको लागि सांसद भए, यो त्यती महत्वपूर्ण कुरा होइन,’ उनले भने, ‘महत्वपूर्ण कुरा देश कता जाँदैछ, त्यो सोचौं। त्यो गम्भीर कुरा हो। ’ आफू एक महिना पनि सांसद हुन नपाएको विषय नितान्त व्यक्तिगत भएको बताउँदै व्यक्तिगत विषया नलाग्न पनि उनले आग्रह गरे। ‘मेरो व्यक्तिगत विषयमा नजाऔँ। यसमा मेरो चिन्ता पनि छैन। दुःख पनि छैन,’ उनले भने।

यस्तै पीडा अर्की सांसद लिला सिटौलाले पनि भोगिन। उनी गत साउन १० गते जनता समाजवादी पार्टीबाट सांसद भएकी हुन्। तर उनी पनि संसद् छिर्न पाइनन्। संसद्को अधिवेशनमा भाग लिएको अनुभव उनले पनि भोग्न पाइनन्। सिटौला संसद्मा छिर्न नपाई संसद् विघटन भएको छ। गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदम यी दुई सांसदको लागि झनै दुःखद सावित भयो। पाण्डे र सिटौला समानुपातिक सूचिबाट सांसद बने तर सांसद भएको अनुभूति गर्न पाएनन्।

नेपाली कांग्रेसका सांसद सुर्यबहादुर केसीको गत कात्तिक १७ गते निधन भएपछि पाण्डे सांसदमा निर्वाचति भएका हुन्। नेपाली कांग्रेसको सिफारिसबाट उनी गत मंसिर ७ गते प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पाण्डे सांसद भएको एक महिना पूरा हुन एक दिन बाँकि हुँदा संसद् विघटन भएको हो।

यसैगरी तत्कालिन समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई तत्कालिन समाजवादीले साधारण सदस्य समेत नरहने गरी सांसद पदबाट कारबाही गरे पछि उनको ठाउँमा सिटौला निर्वाचित भएकी थिइन। उनी करिब ६ महिना सांसद हुने मौका पाइन तर संसद्भित्रै छिर्न पाइनन्।

सांसद पदमा सपथ ग्रहण गर्न एक दिन मात्रै संसद् छिर्न पाएकी थिइन्। ‘यो दुभाग्र्य हो। म संसद अधिवेशन भित्र छिर्न पाइन,’ सिटौलाले भनिन्, ‘संसद् विघटन देशका लागि दुभाग्र्य हो। मेरो लागि पनि झन ठूलो दुभाग्र्य हो।’ सर्वोच्चबाट संसद पुनस्र्थापना हुनेमा उनी आशावादी छिन। उनलाई अझै आशा छ संसद् पुनस्र्थापना भएर संसद् अधिवेशनमा भाग लिएको अनुभव लिने।

उनी आवद्ध भएको जनता समाजवादी पार्टी अहिले संसद् विघटनविरुद्ध आन्दोलनमा उत्रेको छ। संसद् पुर्नस्थापनालाई पहिलो एजेण्डा बनाएर पार्टीले सडक आन्दोलन गरिरहेको छ। संसद् पुनस्र्थापनाको लागि गरिएको आन्दोलनमा सिटौला सक्रिय सहभागी भएकी छिन्।

प्रकाशित: १३ पुस २०७७ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App