८ वैशाख २०८१ शनिबार
राजनीति

सुनुवाइ सिफारिस र विघटनबीच ६ मिनेट अन्तर

संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा प्रमुख र पदाधिकारी नियुक्तिका लागि ८ जनाको नाम प्रस्ताव गर्दै प्रतिनिधिसभा विघटन हुनुभन्दा ६ मिनेटअघि सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पत्र दर्ता गराएको पाइएको छ। प्रस्तावित नाम संसद् सचिवालयमा प्राप्त भएको केही छिनमै प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ नभइकनै नियुक्तिका लागि ती नाम सिफारिस हुने देखिन्छ। तर विघटित प्रतिनिधिसभामा संसदीय सुनुवाइ समितिका सदस्य लक्ष्मणलाल कर्ण भने सुनुवाइबिना नियुक्ति गर्न नमिल्ने बताउँछन्। यसबाट गम्भीर संवैधानिक प्रश्न उठ्ने देखिएको छ।  

प्रतिनिधिसभा विघटन हुनुअघि नाम सिफारिस हुनु र संसदीय सचिवालयमा ती नामसहितको सिफारिस पुगेको केही छिनमै प्रतिनिधिसभा विघटन हुनुलाई संयोग मान्न सकिँदैन। प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष उपस्थित संवैधानिक परिषद्को बैठकले ३८ जनाको नाम विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि प्रस्ताव गर्दै सुनुवाइका लागि संसद् सचिवालयमा पठाएको हो।

संविधानबमोजिम संवैधानिक निकायमा नियुक्तिका लागि प्रस्तावित नाममाथि संसदीय सुनुवाइ गर्नुपर्छ। त्यसैले प्रस्तावित नाम संसद् सचिवालयमा पठाइएको हो। संविधानको धारा २९२ मा उल्लेख छ, ‘यस संविधानबमोजिम संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत पदमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुनेछ।’  

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही पुस ५ गते दिउँसो २ बजेर २१ मिनेटमा प्रतिनिधिसभा विघटन भएको थियो। सोही दिन दिउँसो २ बजेर १५ मिनेटमा विभिन्न संवैधानिक निकायमा प्रमुख र पदाधिकारीमा नियुक्तिका लागि संवैधानिक परिषद्ले प्रस्ताव गरेका ३८ जनाको नामसहितको पत्र संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा दर्ता भएको अभिलेख छ। संसद् सचिवालयमा पत्र दर्ता भएको ६ मिनेटपछि प्रतिनिधिसभा विघटन भयो।

प्रतिनिधिसभा विघटन भएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त सदनको कार्यसञ्चालन नियमावली, २०७५ निष्क्रिय बनेको छ। नियमावलीको नियम २६ को सुनुवाइसम्बन्धी कार्यविधिको उपनियम २ मा समितिमा ‘प्राप्त नाममाथि समितिले सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरी प्रस्तावित पदका लागि समितिको राय तयार गरी सम्बन्धित निकायमा पठाउनुपर्नेछ र त्यस अवधिभित्र समितिले सम्बन्धित निकायमा आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा सुनुवाइका लागि पठाइएको पदमा नियुक्तिका लागि कुनै बाधा पुग्ने छैन’ भन्ने व्यवस्था छ।  

सुनुवाइ समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका ३ गरी १५ सदस्य रहने व्यवस्था छ। प्रतिनिधिसभा विघटन भएपछि नियमावली निष्क्रिय हुनुका साथै समिति पनि औचित्यहीन बन्न पुगेको छ। राष्ट्रियसभाका ३ जनाले समितिको बैठक सञ्चालन गरेर हुँदैन। विघटित प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिका अध्यक्ष लक्ष्मणलाल कर्णले प्रतिनिधिसभा नभएपछि सुनुवाइ समितिको पनि औचित्य सकिएको बताए। ‘संवैधानिक निकायमा नियुक्तिका लागि प्रस्तावित नाम संसद् सचिवालयमा पुग्नासाथ प्रतिनिधिसभा विघटन भएपछि अब संसद्को नियमावलीबमोजिम त्यो आकर्षित हुँदैन तर सुनुवाइ नगरी नियुक्ति गर्नु पनि असंवैधानिक हुन्छ,’ उनले भने, ‘अब संसदीय सुनुवाइ समितिको बैठक पनि बस्न सक्दैन, ४५ दिनको समय पनि लागु हुन सक्दैन, संवैधानिक परिषद्ले सिफारिस गरेर नियुक्ति हुन पनि सक्दैन, यो बडो जटिल अवस्था हो।’  

कर्णले यसरी विधि नपुर्‍याईकन संवैधानिक निकायमा प्रमुख र पदाधिकारी नियुक्त गरिए यो विषय अदालतमा पुग्ने र त्यहींबाट निर्णय हुने बताए। संसदीय सुनुवाइ समितिमा यस्तो समस्या आएको पहिलो पटक भएको उनले बताए। यसअघि सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले २०६९ चैत १ गते मन्त्रिपरिषद्को अध्यक्ष पदको सपथ लिएपछि सरकार सञ्चालनमा सहयोग गर्न २०६९ चैत ४ गते तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा विभिन्न दल सम्मिलित उच्चस्तरीय संयन्त्र गठन भएकै दिन संयन्त्रले पूर्वमुख्यसचिव लोमानसिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो। सो सिफारिसबमोजिम संवैधानिक परिषद्ले उनको नाम राष्ट्रपतिसमक्ष लगेको थियो। त्यसपछि कार्की अख्तियार प्रमुखमा नियुक्त भएका थिए।

उनको संसदीय सुनुवाइ भएको थिएन। त्यसबेला पहिलो संविधानसभा विघटन भइसकेकाले संसद् नभएका बेलामा प्रस्ताव, सिफारिस र नियुक्ति गरिएको तर अहिले संसद् भएको अवस्थामा प्रस्ताव र सिफारिस गरिएकालाई संसदीय सुनुवाइ नगरी नियुक्त गर्न नमिल्ने कर्ण बताउँछन्।  

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायमा प्रमुख र पदाधिकारी नियुक्तिका लागि संसदीय समितिमा सुनुवाइका लागि नाम सिफारिस गरेको थियो। परिषद् बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सदस्यको हैसियतमा उपस्थित थिए। यसअघि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा प्रमुख विपक्षी दलका नेता, सभामुख, उपसभामुखको अनुपस्थितिमा पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्नेगरी अध्यादेश ल्याएका थिए। 

स्रोतका अनुसार अध्यादेश जारी भएपछि बसेको परिषद्को बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई तथा आयुक्तहरूमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल, निर्वाचन आयोगको आयुक्तहरूमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधर, राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर तथा सदस्यहरूमा मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिली बस्नेत थापा र मिही ठाकुर, राष्ट्रिय प्राकृतिक स्रोत र वित्तीय आयोगको सदस्यमा जुद्ध गुरुङ र अमरराज मिश्रलाई नियुक्तिका लागि सुनुवाइ गर्न संसदीय समितिमा सिफारिस गर्ने निर्णय गरेको थियो।

यसैगरी परिषद् बैठकले महिला आयोगको अध्यक्षमा कमला कुमारी पराजुली तथा सदस्यहरूमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिह्ना, दलित आयोगको अध्यक्षमा देवराज विक (दाबलन) तथा सदस्यहरूमा मीना शोभ, परशुराम रम्तेल, कुञ्ज बरैली र मेधेली पार्की, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा मानप्रसाद खत्री तथा सदस्यहरूमा रामचन्द्र जोशी, हरिभक्त जोशी र जितेन्द्र पासवानलाई नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा सिफारिस गरेको थियो। 

त्यस्तै आदिवासी जनजाति आयोगको अध्यक्षमा रामबहादुर थापा (उदयपुर) तथा सदस्यहरूमा मीन श्रीसमगर (गुल्मी), मीनसिंह लामा (नुवाकोट), रीना राना (स्याङ्जा) र चरण राई (उदयपुर), मधेसी आयोगको सदस्यहरूमा जिवछ साह, रेणुदेवी साह र विजय गुप्ता, थारू आयोगको सदस्यहरूमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारू र भोलाराम चौधरी, मुस्लिम आयोगको सदस्यहरूमा ममुद्दीन अली, मिर्जा अरसाद बेगलगायतको नाम सुनुवाइका लागि संसदीय समितिमा पठाइएको थियो।

प्रकाशित: ११ पुस २०७७ ०१:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App