४ वैशाख २०८१ मंगलबार
राजनीति

अविश्वास प्रस्ताव दर्तामा सभामुखको अर्थपूर्ण निर्देशन

प्रतिनिधिसभाको विघटनपछि सभामुख अग्निप्रसाद सापकोटा मौन बसेका छन्। उनलाई केही वकिलहरूले विशेष अधिकार प्रयोग गरी संसद् अधिवेशन बोलाउन दबाब दिएपछि केही दिन छलफलमा पनि बसेका थिए। तर उनले त्यसबाहेक कुनै पनि गतिविधि गरेका थिएनन्। संसद् विघटनको दिनपछि पहिलोपटक संसद् सचिवालयस्थित आफ्नो कार्यकक्षमा आइपुगेका सभामुख सापकोटाले अविश्वासको प्रस्तावको समयलाई संसद् सचिवालयले प्रस्ट गर्नुपर्ने अवस्था आएको भन्दै अविश्वासको प्रस्ताव दर्ता भएको समय पुस ५ गते अपराह्न ३ बजेर ३० मिनेट उल्लेख गरेर विज्ञप्ति जारी गर्न निर्देशन दिएका थिए।

संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा दर्ता भएको समय १० बजेर ५० मिनेट र ३ बजेर ३० मिनेट भन्ने दुईथरि समाचार बाहिरिएका थिए। संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले पनि एकपटक १० बजेर ५० मिनेटमा दर्ता भयो भनेका थिए भने अर्कोपटक साढे ३ बजे दर्ता भएको भनेका थिए। यसबारे स्पष्ट पार्दै प्रवक्ता पाण्डेले भने सभामुखको तोक नलगाई दर्ता भएको रहेछ त्यपछि हामीले सभामुखको तोक लगाएर दर्ता गर्ने प्रक्रिया गरेका थियौं। संसद् विघटन गर्ने प्रस्ताव बिहान १० बजे नै राष्ट्रपतिसमक्ष पुगेको थियो। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो करिब पौने ३ बजेतिर मात्रै संसद् विघटन गरेकी थिइन्।  

संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्दा संसद् विघटन भएको थियो वा अगाडि नै संसद् विघटन भएको थियो भन्ने प्रश्न अदालतमा समेत उठ्ने भएका कारण अविश्वासको प्रस्तावको समयको विषयमा चर्चा हुन थालेको छ। ‘यस विषयमा सभामुख सापकोटा मुछिने भएपछि उनले संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव अपराह्न ३ बजेर ३० मिनेटमै दर्ता भएको विज्ञप्ति जारी गर्न लगाएका हुन्। यो विज्ञप्ति जारी भएपछि सभामुख सापकोटाले सरकारको समर्थन गरेको देखिन्छ। सभामुखलाई यो बाध्यता पनि होला,’ एक नेताले भने। पुष्पकमल दाहालनिकट मानिने सभामुख सापकोटाले यो निर्देशन किन दिए भन्ने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: ९ पुस २०७७ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App