पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला र सुदूरपश्चिम प्रदेश कार्यालयमा ताल्चा लगाएर पार्टी कार्यालय कब्जामा लिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतविपरीत काम गरेकाले त्यसका विरुद्ध आफूहरु सडकमा उत्रिएको बताउँदै प्रचण्ड निकट मानिने राष्ट्रिय यूवा संघका केन्द्रीय सचिवालय सदस्य दिलबहादुर थापा ‘तुफान’ले भने,‘नेकपाको केही जिल्ला पार्टी कार्यालयमा ओली पक्षधरले ताल्चा गएका कारण हामीले पनि कैलाली र प्रदेश कार्यालयमा ताल्चा लगाएर पार्टी कार्यालय कब्जा गरेका हौँ।’
पार्टी कार्यालयमा उच्छृङ्खल गतिविधि हुन सक्ने भन्दै सतर्कता अपनाउन आफूहरुले पार्टी कार्यालयमा ताल्चा लगाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटी सदस्य दीर्घ जोशीले बताए। उनी नेपाल पक्षधर निकट हुन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धनगढीस्थित पार्टी कार्यालयमा केही असन्तुष्ट व्यक्तिहरुले ताला लगाएको सुन्नमा आएको बताउँदै पार्टीका जिल्ला अध्यक्ष रतन थापाले भने,‘पार्टी कार्यालय कब्जा गर्नलाई बोकेर लैजाने हैनन्, उनीहरू असन्तुष्टि पोख्दै ताल्चा लगाएका हुन्।’ थापा ओली पक्षधर मानिन्छन्।
प्रकाशित: ७ पुस २०७७ १२:३१ मंगलबार