८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीको प्रश्न : मेराविरुद्ध घेराबन्दी र दाउपेच गर्नु पर्ने जायज कारण के थियो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै सरकारविरुद्ध घेरावन्दी र दाउपेच गर्नु पर्ने जायज कारण के थियो भन्दै प्रश्न गरेका छन्।

संसद विघटनपछि पहिलो सम्बोधन गरेका ओलीले विगतका तिता पिरा कुरा विर्सेर निर्वाचनमा जान आग्रह गरे। यसले पार्टी एकतालाई मदत गर्ने उनको भनाई थियो। केपी ओली केही होइन भन्नेहरुलाई पनि आफ्नो लोकप्रियता देखाउन निर्वाचनले दिने चुनौती दिए। 'प्रधानमन्त्री बन्न व्यग्र रहनु भएका साथीहरुलाई पनि यसले बाटो खुलेको छ', उनले भने।  

महत्वपूर्ण संवैधानिक आयोगमा रिक्तता हुँदा असहयोगका कारण पूर्ति गर्न नपाइएको उनले बताए। अप्ठ्यारो परिस्थितिमा पनि सरकारले दुरगामी महत्वका काम गरेको उनको दावी छ। 'प्रतिकुल अवस्थामा दुरगामी काम भएका छन् तर विपक्षी दललाई समेत उछिनेर पार्टीका नेताहरु त्यसको विरोधमा उत्रिनु भयो', उनले भने।

सरकारलाई पछिल्ला दिनमा कस्ता घेरावन्दी भए भन्ने सबैले प्रष्ट देखेको ओलीले बताए। प्रधानमन्त्रीको चयन ताजा जनादेशबाट र पार्टी अध्यक्षको चयन महाधिवेशनबाट होस् भन्ने विधि स्थापना गर्न खोजेको तर महाधिवेशनका लागि ४ महिना पनि साथीहरुले कुर्न नसकेको ओलीको आरोप छ। उनले भने, 'विशेष महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने योजना पेश गरे तर साथीहरुले ४ महिना पनि कुर्न सक्नु भएन। उल्टै मेराविरुद्ध आरोप लगाउनु भयो र अविश्वासको प्रस्ताव ल्याउनु भयो। संसदीय दलका नेतालाई थाहै नदिइ संसद बोलाउन राष्ट्रपतिकहाँ जानु भयो।'

पुष्पकमल दाहाल निवासमै पुगेर आग्रह गरे पनि त्यो नभएको उनले बताए। सरकारले नयाँ नक्सा जारी गरेको प्रसंग उनले छुटाएनन्।  

'४ वर्ष अघिको परिदृष्य सम्झिरहेको छु। पारवाहन सन्धि गरेर नाकावन्दी नहुने स्थिति ल्याएपछि सरकारलाई यसरी नै अपदस्त गरिएको थियो। समय फरक भए पनि पात्र उनै हुन्', ओलीले भने। आजको अवस्था आउनुमा कतिपय नेताका गतिविधि कारक भएको उनले बताए।  

 

प्रकाशित: ६ पुस २०७७ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App