coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपाभित्र पूर्वमा तल्लो तहसम्म गुटगत होडबाजी

सत्तारुढ नेकपाभित्र लामो समयदेखि आन्तरिक विवाद चुलिँदै गएर पार्टीमा संकट आइ परेको बेला प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नं. १ मा आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रम पूर्वमा जारी राखेका छन्।  

पार्टीमा देखिएको विवाद यतिबेला भातृ संगठनमा समेत देखिएको छ। जसले गर्दा पार्टी र तिनका भातृ संगठनले भेला र प्रशिक्षण तिब्र पारेका हुन्। विशेषगरी, झापा, मोरङ र सुनसरीमा दिनहुँजसो कार्यक्रम हुने गरेका छन्।  

कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्ष युवाको भेला बुधबार धरानमा भयो। राष्ट्रिय युवा संगठनका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा (दिपशिखा), नेता टंक आङ्वोहाङ्लगायतले सम्बोधन गरेका थिए। भेलामा प्रदेश नं. १ भरीका ८१ जनाको सहभागिता रहेको जानकारी दिइयो।  

नेकपाको विवाद तल्लो तलसम्म पुग्ने क्रममा मंगलबार विराटनगरमा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षीय विद्यार्थीको भेला भयो। भेलालाईं दाहाल–नेपाल पक्षका जिल्लास्तरका नेताले सम्बोधन गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको चर्को आलोचना गरे। प्रदेश सांसद कूलप्रसाद साम्बाले त ओली विरुद्ध मुर्दावादको नारा लगाए।  

कार्यक्रमका वक्ताहरुले कोरोनाको महामारीका बेला जनतालाईं संविधानले प्रदान गरेको स्वास्थ्य सेवा प्रदान गर्न सरकार पूर्ण रुपमा चुकेको, ओली एकपक्षीय ढंगले अघि बढेको, पार्टीको विधि र पद्दती विपरीत अघि बढेकाले गर्दा सचिनुपर्ने बताए। सो क्रममा केन्द्रय नेता शिवकुमार मण्डल, महेष रेग्मी, राष्«िटय युवा संगठनका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा (दिपशिखा) लगायतले सम्बोधन गरेका थिए। भेलामा झापा, मोरङ र सुनसरी जिल्ला दाहाल–नेपाल पक्षीय  युवा विद्यार्थीको सहभागिता रहेको थियो।

शनिबार मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा अध्यक्ष तथा प्रधानमन्त्री ओली निकट युवाको गुट भेला भयो। त्यो गुट भेलाको मुख्य वक्ता नेकपाका केन्द्रीय सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा थिए। ओली पक्षीय युवाको भेलालाई ‘पार्टी फुट्न नभएर जुट्न दबाब’ दिन आयोजना गरिएको जिकिर गरियो। युवा संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेतले भेला पार्टी एकताको पक्षमा र राजावादीको विरुद्ध आयोजना गरिएको जिकिर गरे। तर, ओली पक्षले दाहाल–नेपाल पक्षलाई शक्ति देखाउन मोटरसाइकल ¥याली र कार्यक्रम गरिएको बताए।  

युवा संघको शनिवार झापावाट निस्केको मोटरसाइल ¥याली मोरङको रंगेली, विराटनगर हुँदै सुनसरीको दुहवीवाट कार्यक्रम स्थल विराट चोक पुगेर कोणसभामा परिणत भएको थियो। सो क्रममा युवा संघका सहसंयोजक रमेश पौडेल सहसंयोजक, मदन भण्डारी फाउन्डेसन प्रदेश नं. १ संयोजक गोपाल गुरागाईं, संघका पूर्वसचिव वचनबहादुर सिंह पूर्वउपाध्यक्ष पर्शुराम बस्नेत, नेता रविन थापा, राजु कार्की, उर्मिला सुनार, रोशन बस्नेतलगायत सहभागी थिए।

आइतबार झापाको दमकमा पनि दाहाल–नेपाल समूहले विद्यार्थीको भेला भएको थियो। भेलामा प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, शिवकुमार मण्डल, अनेरास्ववियुका केन्द्रीय सहसंयोजक रन्जित तामाङ्, पूर्व केन्द्रीय सचिव वसिम आलम, अनेरास्ववियुका केन्द्रीय सदस्य सुदेश पराजुलीलगायतको सहभागिता थियो।  

त्यसो त समय अगाडि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षीय विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले विराटनगर आएर भेला राखेका थिए। त्यो कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की समेत थिए।  

नेकपाको केन्द्रको विवाद तल्लो वडा तहसम्म पुगेको छ। अझ प्रदेश नं. १ मा त एकले अर्को पक्षलाई काउन्टर दिन र कार्यकर्ता आफ्नो पक्षमा पार्न होडबाजीकै क्रममा प्रशिक्षण, भेला र प्रदर्शनका कार्यक्रम निरन्तर जारी छन्।  

प्रधानमन्त्री ओलीबिरुद्द पार्टी सचिवालयका वहुमत भएपछि ओलीले भर्चुअल गरे। भर्चुअल भेलामा जनताको बहुदलीय जनवादलाईं मुल रुपमा उठाएर गाउँ गाउँसम्म अभियान सञ्चालन गर्न सकुर्लर गरे। त्यसपछि मंसिर १० गते कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षीय भेला भयो। भेलाले ओली असहिष्णु भएको र जहिले हेपाहा व्यवहार गर्ने भएकाले गर्दा अब मिलेर जान नसक्ने निचोड निकालेको थियो।  

गुटका कार्यक्रममा प्रदेश नं. १ का मन्त्री, सभासद र स्थानीय तहका प्रतिनिधी समेत एकले अर्को पक्षलाईं खरो विरोध गर्दै हिड्ने गरेका छन्। प्रदेशका मन्त्री र राज्यमन्त्रीमध्ये अहिलेसम्म मुख्य मन्त्री शेरधन राईं भने गुट भेला तथा प्रशिक्षण नहिडेर सन्तुलित भूमिका निर्वाह गरेको पाइएको छ। नेकपा भित्रको गुटगत राजनीतिले पार्टीलाई संकट तर्फ अघि बढाएको छ।  

प्रकाशित: १ पुस २०७७ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App