कांग्रेस नेता अर्जुननरसिंह केसीले केही समयका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले अहिले लोकतन्त्रको रक्षाका लागि आन्दोलित हुनुपर्ने भएकाले केहि समयका लागि तदर्थ समिति बनाएर जानुपर्ने बताएका हुन् ।
केसीले यो प्रस्ताव आफुले पार्टीको केन्द्रीय समिति बैठकमा राख्ने जानकारी दिए । यस्तो तदर्थ समिति एक–डेढवर्षका लागि बनाउने र त्यसपछि महाधिवेशन गर्न उपयुक्त हुने उनले बताए ।
विषम परिस्थिति भएकाले नेतृत्वका लागि आपसमा खिचातानी गरेर अल्झिने, नयाँ त्रियाशिल सदस्यता वितरणमा लफडा गरेर बस्नुभन्दा अघिल्लो महाधिवेशनकै सदस्यतालाई आधार मानेर तदर्थ समिति बनाउनुपर्ने उनको भनाई छ । ‘राष्ट्रिय परिस्थिति अत्यन्त जटिल छ,’ उनले भने, यस्तोबेला आन्तरिक झमेलामा फस्नु भन्दा कांग्रेसले आन्दोलन केन्द्रीत गर्नुपर्छ । किनकि पद्दती र प्रणालीको सुरक्षाका निम्ति कांग्रेस आन्दोलनमा होमिनुपर्ने बाध्यात्मक परिस्थितिमा छ ।’
नेता केसीले आगामी महाधिवेशनमा पदीय लडाईंमा आफु सहभागि नहुने संकेत गरे । स्वार्थरहित संकल्पले एउटा लक्ष्यमा केन्द्रीत हुनुपर्ने कांग्रेसको आवश्यकता छ,’ उनले भने, ‘त्यसैले म वा कसैले पनि यो पद र उ पद भनेर भन्नु हुँदैन, जसले लोकतन्त्रको रक्षा गर्न सक्छ, जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सक्छ, उसैलाई नेतृत्व दिनुपर्छ भन्ने मान्यतामा हामी छौं ।’
नेता केसीले संवैधानिक परिषदको बैठकमा कांग्रेस सहभागि नहुने बताए । ‘जुन लक्ष्यले संवैधानिक परिषदको निर्माण गरिएको थियो अहिले त्यसको सम्पूर्ण मूल मर्ममाथि प्रहार भयो,’ उनले भने, ‘त्यसैले यथास्थितिमा नेपाली कांग्रेस परिषद बैठकमा जाँदैन, जानुहुँदैन ।’ उनले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी सरकारले ल्याएको प्रस्ताव अत्यन्त अप्रजातान्त्रिक र निन्दनीय भएको बताए । यसले शक्ति पृथकीकरणको सिद्धान्तलाई समेत लत्याएको भन्दै यो सच्चिनुपर्नेमा उनले जोड दिए ।
नेता केसीले कांग्रेस आफैले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको बिरुद्धमा जान नसक्ने बताए । पार्टीका महामन्त्रीले हिन्दु राज्यका बारेमा जनमत संग्रह हुनुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति संकेत गर्दै उनले भने, ‘यो पार्टीको आधिकारिक निर्णय होईन, व्यक्तिले आफ्नो धारणा र बिचार राख्न सक्छ, त्यसमाथि पार्टीमा छलफल चल्ला र एउटा निस्कर्ष निस्केला ।’ संघीय लोकतान्त्रिक गणतन्त्र र अहिलेका संविधानका आधारभूत मान्यताप्रति कांग्रेस प्रतिबद्ध रहेको उनले बताए । ‘कसैले कुनै बिचार राख्न सक्छ । बिचार राख्न उ स्वतन्त्र छ । धार्मिक राज्य माग्नु लोकतन्त्रको मान्यता भित्र पर्छ कि पर्दैन त्यो पार्टीका जिम्मेवार नेतृत्वमा बसेकाले सोंच्नुपर्ने हो,’ उनले भने ।
नेता केसीले नेकपा फुटेपनि कांग्रेस सत्तामा नजाने बताए । अहिले सत्तामा जानु भनेको कांग्रेसका लागि आत्महत्या हो भन्दै उनले भने, ‘जनताले प्रतिपक्ष भएर बस भनेर जनमत दिएका छन् । अहिले तीनवर्ष सत्तामा बसेकाहरुले भएभरका फोहोर थुपारेका छन् । त्यो फोहोरमा सहभागि हुन कांग्रेस सत्तामा जाँदैन, प्रतिपक्षकै रुपमा बस्छ ।’ उनले नेकपा फुटिहालेमा कांग्रेसले जो लोकतन्त्रको पक्षमा उभिन्छ उसलाई बाहिर बसेर समर्थन गर्ने तर सरकारमा भने नजाने उनले प्रष्ट्याए ।
प्रकाशित: १ पुस २०७७ ०८:०९ बुधबार