coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘भ्रष्ट र नालायक सरकारलाई शासन गर्ने नैतिक अधिकार छैन’

नेपाली कांग्रेसले सरकारको विरोधमा सोमबार देशव्यापी प्रदर्शन गर्ने क्रममा काठमाडौंमा निस्किएको जुलुस । तस्बिर : मोनिका मल्ल/नागरिक

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले जनमतको घोर अपमान गरेको बताएका छन्। सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गरेको कांग्रेसका नेताहरूले शासन सञ्चालन गर्ने नैतिक र राजनीतिक आधार ओलीले गुमाइसकेको दाबी गरे। जनादेशअनुसार कांग्रेस पाँच वर्ष ढुक्कैले प्रतिपक्षी बन्न तयार भएर नै ओलीको राजीनामा नमागेको स्पष्ट पार्दै कांग्रेस नेताहरूले भने, ‘केपी ओलीकै पार्टीका बहुमत नेताले सरकार नालायक र भ्रष्ट भयो भनेर प्रधानमन्त्रीको राजीनामा मागेका हुन्, हामीले होइन।’

उल्लेख्य जनसहभागिता रहेका सभालाई सम्बोधन गर्दै उनीहरूले सरकारको गैरजिम्मेवारीका कारण जनतामा तीव्र वितृष्णा आएको दाबी पनि गरे। जनताको लामो संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध औला उठाउने र सडकमा नारा लगाउने अवस्था आउनुको मुख्य कारण वर्तमान सरकार नै भएको उनीहरूको भनाइ थियो। ‘ओली सरकारकै कारण राजा आऊ देश बचाऊ भनिरहेका छन्,’ कांग्रेस सभापति शेरबहादुर देउवाले हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै भने, ‘नत्र कहाँबाट हिम्मत अहिले राजातन्त्रको पक्षमा जुलुस निकाल्ने ? यसमा कम्युनिस्ट सरकार जिम्मेवार छ।’  

संघीय लोकतान्त्रिक गणतन्त्रबाट मुलुक अब फर्कन नसक्ने दाबी गर्दै सभापति देउवाले त्यसविरुद्ध गए राणा, पञ्चायत र राजाजस्तै कम्युनिस्टहरू पनि सकिने बताए। ‘गणतन्त्र स्थायी हो। यो व्यवस्थाभन्दा राम्रो व्यवस्था अन्य कुनै छैन,’ देउवाले भने, ‘केही कमजोरी रहेछ भने सुधार गर्दै अघि बढ्छौं।’

संविधानसभाबाट जारी नयाँ संविधानको मर्मविपरीत सरकार एकदलीय अधिनायकवाद स्थापना गर्न लागि परेको आरोप लगाउँदै कांग्रेस नेताहरूले वर्तमान सरकारले राज्यका सबै निकायलाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरेको दाबी गरे। ‘मैले त कम्युनिस्टले जिते भने राम्रोसँग हाँस्न पाइँदैन, रून पनि पाइँदैन भनेको थिएँ। अहिले कोही खुलेर रोयो भने पनि ओली सरकारले जेल हाल्छ,’ देउवाले भने, ‘जनतालाई लेख्ने, बोल्ने अधिकारमाथि नै बन्देज लगाएर सर्वसत्तावाद लागू गर्न खोजिएकाले बाध्य भएर सडकमा आउनुपरेको हो।’

कांग्रेस नेताहरूले कम्युनिस्ट नेतृत्वको सरकारले मुलुकमा आर्थिक समृद्धि र विकास होइन, आर्थिक अनियमितता र भ्रष्टाचारमात्र बढाएको आरोप लगाए। वाइडबडी, न्यारोबडी जाहाज खरिददेखि ललिता निवास, ओम्नीजस्ता काण्डैकाण्डमा सरकार डुबेको उनीहरूको भनाइ थियो। कोरोना भाइरसको महामारीबाट देश र जनतालाई जोगाउन खरिद गरिएको औषधिमा समेत भ्रष्टाचार भएको जनाउँदै नेताहरूले थपे– ओली नेतृत्वको सरकारले कात्रोमा पनि भ्रष्टाचार गर्‍यो।

‘सरकारले कहाँ भ्रष्टाचार गर्‍यो भन्ने कांग्रेसले खोज्न र भन्न पर्दैन,’ काठमाडौंको रत्नपार्कमा आयोजित सभामा नेता रामचन्द्र पौडेलले भने, ‘मैले भन्नुपर्दैन, नेकपाकै सचिवालयका बहुमत नेताले भनिसके, यो सरकार नालायक हो, भ्रष्टाचारी हो।’ जबजब मन्त्रीले भ्रष्टाचार गरेको काण्ड आउँछ, तबतब प्रधानमन्त्री स्वयं अगाडि सरेर यी मन्त्री त चोखै छन्, निर्दोष छन् भनेर अख्तियारतिर इसारा गर्छन् अनि अख्तियार पनि त्यस्तो मुद्दालाई मुल्तबीमा राख्छ।’ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि निष्पक्ष ढंगले काम गर्न नसकेको बताउँदै कांग्रेस नेता पौडेलले भने, ‘कम्युनिस्टहरूको एउटा वर्गलाई सबै खत माफ हुने, ठूला माछा उम्काउने र भुरा माछा समाउने, सरकारको इसारामा चल्ने हो भने त्यो आयोग किन चाहियो ?’

कोरोना भाइरसका कारण देश र जनता आक्रान्त हुँदासमेत सरकारले कुनै तयारी नगरेको र दायित्व पनि नलिएको प्रति कांग्रेस नेताहरूले असन्तुष्टि जनाए। संक्रमणबाट देश र जनतालाई जोगाउन लकडाउनबाहेक सरकारले केही नगरेको भन्दै कांग्रेस नेताहरूले क्वारेन्टिन, आइसोलेसन वार्ड निर्माणदेखि परीक्षण र उपचारमा पनि सरकार जिम्मवार नहुँदा सयौं नेपालीले अकालमा ज्यान गुमाउनुपरेको टिप्पणी गरे। विदेशमा रहेका नेपाली अलपत्र परेको जनाउँदै नेता पौडेलले भने, ‘सरकारले कोरोनामा केही गरेन। देशको प्रकृति र भगवान् भरोसाले हामी बाँचेका छौं। योभन्दा नालायकी केही हुनै सक्दैन।’

संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकार नै संघीयता र वर्तमान संविधान विस्थापन गर्न सक्रिय रहेको पनि कांग्रेस नेताहरूले आरोप लगाए। सरकारका हरेक गतिविधि संविधान र संघीयताविरोधी रहेको दाबी गर्दै कांग्रेस उपसभापति विमलेन्द्र निधिले ओली नेतृत्वको सरकारको गैरजिम्मेवारीकै कारण जनातामा वितृष्णा र निराशा उत्पन्न भएको बताए।

‘मानिसको जीवनका लागि कोभिड जति खतरनाक छ, वर्तमान सरकार लोकतन्त्र र गणतन्त्रका लागि त्यति नै खतरनाक छ,’ भक्तपुरको सभालाई सम्बोधन गर्दै उपसभापति निधिले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गरेर मुलुकमा एकदलीय अधिनायकवाद निम्त्याउनतर्फ उन्मुख ओली सरकारलाई सत्तामा बस्ने नैतिक र राजनीतिक अधिकार छैन।’

सरकारले कोभिडका बिरामीको नाममा समेत लुटतन्त्र मच्चाएको कांग्रेस नेताहरूको बुझाइ छ। ‘प्रधानमन्त्री आफैं भ्रष्टाचारको नेतृत्व गर्दै भ्रष्टहरूको संरक्षणमा लागेका छन्,’ मोरङको सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले भने, ‘सरकारले राम्रो काम गरोस् भनेर कांग्रेसले रचनात्मक रूपमा प्रतिपक्षको भूमिका निर्वाह गरे पनि सरकार दिनप्रतिदिन भ्रष्ट बन्दै गएकाले आन्दोलनमै उत्रने अवस्था आयो।’

संविधान र कानुनको बेवास्ता गर्दै सरकारले जनताको सर्वोच्च थलो संसद्लाई बन्धक बनाएको आरोप कांग्रेस नेताहरूले लगाएका छन्। पार्टीभित्रको विवाद व्यवस्थापनका लागि सरकारले संघीय संसद्को अधिवेशन हठात अन्त्य गरेको आरोप लगाउँदै कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले जनताको कुरा उठाउने थलोलाई बन्द गरेर सरकारले तानाशाही प्रवृत्ति देखाएको बताए। ‘चलिरहेको संसद्लाई एक्कासि बन्द गरेर सरकारले आफ्नो गल्ती ढाकछोप गर्न चाहेको छु’, जनकपुरधाममा आयोजित सभालाई सम्बोधन गर्दै सिंहले भने, ‘आफूलाई गाह्रो हुन्छ भनेर सभामुखलाई पनि थाहा नदिएर संसद अन्त्य गरेर यो सरकार लोकतन्त्र र जनजीविकाको गफ दिइरहेको छ।’ नेकपा विवादकै कारण संसद्को अधिवेशन अझै आह्वान नभएको नेता सिंहको बुझाइ छ।

केन्द्रीय सदस्य मिनेन्द्र रिजालले विधि र संविधान मानेर नबस्ने भए ओलीलाई बालुवाटार छाड्न सुझाए। संसद् अधिवेशन अन्त्य गरेर संसद्बाट भाग्ने व्यक्ति ओली दुईतिहाइको नेता समेत नभएको धारणा राख्दै रिजालले तनहुँको सभामा भने, ‘संसद् अधिवेशन बोलाउने हिम्मत नभएका ओलीका पक्षमा जनमत छ भनेर कसरी पत्याउने ? लोकतन्त्रको सिद्धान्तमा अपमान गर्न मत दिएको हैन। संविधानको अपमान गरेको हामी सहन तयार छैनौं।’  

नेकपाभित्रको विवाद र ओलीको महŒवाकांक्षाले मुलुक बन्धक बन्नु दुर्भाग्यपूर्ण भएको जनाउँदै नेता रामशरण महतले त्यसकै चेपुवामा परेर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्बाट पास हुन नसकेको बताए। ‘शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको एमसिसी सम्झौता संसद्बाट पास हुनपर्छ,’ चितवनको नारायणगढमा आयोजित सभामा महतले भने, ‘एमसिसी पास भयो भने अमेरिकी सेना आउँछ भन्नु सरासर झुट प्रचार गरिएको छ। कसैलाई गाली गरेर देशको विकास हुँदैन।’

केपी ओलीकै कारण मुलुकको राष्ट्रियता इतिहासमै सबैभन्दा कमजोर बनेको पनि कांग्रेस नेताहरूको आरोप छ। कम्युनिस्टहरू कहिल्यै राष्ट्रवादी हुन नसक्ने धारणा राख्दै नेता अर्जुननरसिंह केसीले कम्युनिस्टका कारण लोकतन्त्र खतरामा परेको बताए। ओलीको राष्ट्रवाद नक्कली पुष्टि भइसकेको उनको दाबी थियो। पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै केसीले भने, ‘कम्युनिस्टलाई मत दिएर लोकतन्त्र रक्षा गर्छु भन्नु दिवा स्वप्नमात्र हो, अहिले यो पुष्टि भएको छ।’

कांग्रेस नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति पनि प्रश्न उठाए। राष्ट्रपतिको मर्यादा र भूमिकालाई बिर्सेर भण्डारी सत्तारुढ नेकपाको विवाद मिलाउन सक्रिय भएको भन्दै नेताहरूले आफ्नो सीमाभित्र बसेर सन्तुलित भूमिका निर्वाह गर्न सुझाए। पदको गरिमा बिर्सिएर राष्ट्रपतिले नेकपाको गुट झगडा मिलाउने मध्यस्तकर्ताको भूमिका निर्वाह गरिहेको टिप्पणी गर्दै केन्द्रीय सदस्य गगनकुमार थापाले कैलालीको धनगढीमा आयोजित सभामा भने, ‘मदन भण्डारीको शब्द सापटी लिएर भन्छु, महारानी, शीतल निवासबाट आँखा नझिम्काई बक्सियोस्, काठमाडौंमा मसँग चुनाव लड्न तयार होइबक्स्योस्।’ पार्टीभित्रको पनि एउटा गुटको इसारामा राष्ट्रपति चलिरहेको दाबी गर्दै थापाले सरकारले ल्याएको अध्यादेश स्वीकृत गर्न कहिले अनावश्यक हतारो गर्ने र कहिले विलम्ब गर्ने गरेको बताए।

राष्ट्रपति भण्डारीले राष्ट्रपतिजस्तो गरिमामय संस्था र गणतन्त्रकै बदनाम गराएको आरोप लगाउँदै केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले रूपन्देहीको भैरहवामा आयोजित सभामा भने, ‘राष्ट्रपतिजी, कम्युनिस्टकै राजनीति गर्नु छ भने पहिले राजीनामा दिनुस् र नेकपाको उपाध्यक्ष बन्नुस्।’

प्रधानमन्त्री र नेकपाको दुईतिहाइको दम्भले मुलुक संकटमा परेको बताउँदै केन्द्रीय सदस्य दीपक गिरीले दाङको घोराहीमा आयोजित सभामा भने, ‘वर्तमान सरकार अहिलेसम्मकै भ्रष्ट सरकारका रूपमा उभियो। यसबाट अब जनहितमा केही काम हुँदैन।’  

पार्टीलाई नयाँ ऊर्जा दियो : देउवा  

कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वसत्तावादविरुद्ध देशभर व्यापक जनमत प्रकट भएबाट पार्टीलाई नयाँ ऊर्जा मिलेको बताएका छन्। सरकारविरुद्ध सोमबार देशव्यापी प्रदर्शनपछि साँझ विज्ञप्ति जारी गर्दै देउवाले सहभागी सबैलाई धन्यवाद दिएका हुन्।

वर्तमान कम्युनिस्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध जनमत प्रकट भएको भन्दै उनले एक्काईसौं शताब्दीको नेपाली जनताले लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मार्गबाट नै देशको भविष्य सुनिश्चित गर्न चाहेको प्रस्ट भएको उल्लेख गरेका छन्। ‘आजको प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको छ। यो ऊर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु। प्रदर्शनमा सहभागिता र शुभेच्छा राख्ने जनसमुदाय र प्रदर्शनको तयारीमा अहोरात्र खट्ने साथीहरूप्रति सम्मान प्रकट गर्दछु।’

(हेटौंडा, पोखरा, धनगढी, दाङ, तनहुँ, भक्तपुर, बुटवल, विराटनगर, जनकपुर, चितवनसहितका जिल्ला सहकर्मीको सहयोगमा )

प्रकाशित: ३० मंसिर २०७७ ००:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App