७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारकै कारण राजावादी मजवुद : सभापति देउवा

तस्बिर: नागरिक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारका कारण राजावादीहरुले मजवुद भएर आन्दोलन गरेको आरोप लगाएका छन्। सोमबार हेटौंडामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट सरकारको असक्षमताका कारण ‘राजा आउ देश बचाऊ’को नारा बुलन्द भएको बताए।

‘ओली सरकारकै कारण राजा आउ देश बचाऊ भनिरहेको छ,’ उनले भने, ‘नत्र कहाँबाट हिम्मत आयो ? यसमा कम्युनिष्ट सरकार जिम्मेवार छ।’ गणतन्त्र ल्याउने नै राजा भएको भन्दै उनले भागेर गएका राजा त्रिभुवनलाई फर्काएपनि राजतन्त्रले प्रजातन्त्रलाई नसहेकाले बाध्य भएर गणतन्त्र ल्याएको बताए।

‘ओली सरकारकै कारण राजा आउ देश बचाऊको नारा लागेपनि अब कसैगरी राजा आउँने छैन,’ उनले भने, ‘ओली सरकारका कारण जनता बाध्य भएका हुन सक्छन्, गणतन्त्रात्मक संघीय शासन व्यवस्था जनजाति, मधेशी, दलित लगायत सबैको लागि ल्याएको व्यवस्था हो।’

प्रजातन्त्रको खिलापमा नजान आग्रह गर्दा तत्कालिन राजा ज्ञानेन्द्र शाहले आफुलाई थुनेको प्रशंग निकाल्दै उनले अदालतलाई कम्युनिष्टकरण खोजेकाले निष्पक्ष न्यायपालिका स्थापित गर्नुपर्नेमा जोड दिए। नेपालको संविधानलाई सफल पार्न कम्युनिष्ट शासन अन्त्य गर्नुपर्ने भन्दै उनले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नेपालमा स्थायी रुपमा ल्याएकाले सुधार गर्दै जानुपर्ने तर्क गरे।

ओली नेतृत्वको कम्युनिष्ट सरकारले नेपालमा एकतन्त्रीय शासन लागू गर्न खोजेको आरोप लगाउँदै उनले देशमा एकतर्फी र एकलौटी शासन लागू गरेर जनताले बोल्ने, लेख्ने अधिकार, संगठित हुने अधिकार र विरोध गर्ने अधिकार समेत सरकारले बन्द गर्न खोजेको बताए। ‘हामीले कुनै सर्वसत्तावादी सरकार ल्याउन आन्दोलन गरेका थिएनौं,’ उनले भने, ‘हामीले त प्रजातन्त्रलाई सुदृढ गर्नका लागि लडेर ल्याएको व्यवस्था हो।’

कोरोनाबाट मुक्ती दिन र प्रजातन्त्रको मुलभुत उदेश्यमाथि भईरहेको आक्रमणको विरुद्धमा देशव्यापी अन्दोलन गरेको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले चुनावका बेला आफूले भनेअनुसारै कम्युनिष्टले जिते बोल्न, हाँस्न र रुनपनि पाईदैन भन्ने कुरा प्रमाणित भएको दाबी गरे। ‘कम्युनिष्ट पार्टीहरु एक हुँदा मैले भनेको थिए, कम्यूनिष्टहरुले जितेपछि बोल्न पाईदैन, हाँस्नपनि पाईदैन,’ उनले भने, ‘आज रोयो भने किन रोईस् भनेर जेल हाल्न बेर छैन।’

कम्युनिष्ट सरकारले एक दलिय सर्वसत्तावादी शासन लागू गरेको भन्दै उनले आफुहरुका अगाडी धेरै ठुलो चुनौती रहेको बताए। ‘मैले ओलीलाई भनेको थिए, कोरोनाविरुद्धको लडाईमा विनासर्त पुरा सहयोग हुन्छ,’ उनले भने, ‘हामीले आधा तलब दियौ, दशैं खर्चपनि सरकारलाई बुझायौ, तर सरकारले कोरोनामा पनि घुस खाने, भ्रष्टचार गर्ने काम ग¥यो।’

ओलीको नेतृत्वमा कम्युनिष्ट सरकार बनेपछि बलात्कार बढेको भन्दै सभापति देउवाले अपराधीलाई सरकारले नै संरक्षण गरेको दाबी गरे। ‘कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो,’ उनले भने, ‘शुन्य सहनशीलता भन्ने सरकारले अहिलेसम्म हत्यारा पक्राउ गरेको छैन।’  

ओली सरकारले हत्यारालाई पक्राउ गर्न नचाहेको जिकिर गर्दै उनले भने, ‘केन्द्रीय पार्टीको संलग्नता छैन भने किन पक्राउ गर्दैन ?’ जनता कम्यूनिष्टको सरकारबाट वाक्क भई सकेको भन्दै उनले देशलाई कम्यूनिष्ट सरकारबाट मुक्त पार्नका लागि देशभर आन्दोलन गरेको पनि बताए।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीमा सरकार जनताको उपचारमा भन्दा भ्रष्ट्राचार र सत्ता लिप्सामा लागेको भन्दै सर्वसत्तावादका विरुद्धमा कांग्रेसले सशक्त आन्दोलन गर्ने बताए। कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’, वागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले जनताको सेवामा खट्नुपर्ने झण्डै दुई तिहाईको कम्युनिष्ट सरकार आफ्नै स्वार्थ, भ्रष्टचार, कुशासनमा डुबेकाले अब नेपाललाई कोरोना र कम्युनिष्ट सरकारबाट मुक्त बनाएरै छाड्ने बताए।

विरोध सभा अघि हेटौंडाको सानोपोखरा, चौकीटोल, जिल्ला प्रहरी कार्यालय चोक र वन विज्ञान अध्ययन संस्थान चोकबाट निकालिएको ¥याली बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

प्रकाशित: २९ मंसिर २०७७ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App