coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थायी कमिटीमा ओलीको पत्र: थाहा थिएन, केही कमरेड ‘खेलको नियम’ नै बदल्न लाग्नुहुनेछ

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा पनि आफ्ना पुरानै अडान दोहोर्‍याएका छन्।  

आइतबार नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा आफू उपस्थित नभए पनि उनले सम्बोधन पत्र पठाएर आफ्ना अडान यथावत् रहेको उल्लेख गरेका हुन्।  

उनले पठाएको पत्र पार्टीका सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएका थिए।  

यो पनि पढ्नुहोस्

नेकपा स्थायी कमिटीको बैठक सकियो, अर्को बैठक २८ गते बस्ने

पत्रमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्ध ‘संगीन’ आरोप लगाइएको प्रस्ताव फिर्ता हुनुपर्ने अडान दोहोर्‍याएका हुन्। 

उनले लेखेका छन्- ‘आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको त्यस्तो सङ्गीन आरोपपत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा कमरेडहरूलाई अनुरोध गर्दछु।’

यस्तो छ ओलीले स्थायी कमिटीमा पठाएको पत्रको पूर्ण पाठ :  

स्थायी कमिटीका प्रिय कमरेड,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गत २०७७ कात्तिक २८ गते अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डले ‘प्रस्ताव’का नाममा मेराविरुद्ध अभियोगपत्र वितरण गर्नुभएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरू जानकार नै हुनुहुन्छ।

पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तर्विरोधमा रूपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुनसमेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरू समेत लगाइएको उक्त अभियोग पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छु।  

पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निःसर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत् छ। एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिडविरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बैठकमा जानुपर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु।

सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो। सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तर्निहीत हुन्छ भन्ने म ठान्छु। 

तर उक्त अभियोग पत्रसहित यसबीचका सबै पत्राचार र दस्तावेजहरूलाई सार्वजनिक गरिएको छ। आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्‍याएको त्यस्तो सङ्गीन आरोपपत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा कमरेडहरूलाई अनुरोध गर्दछु। परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैँभरि रहँदै आएको छ र भविष्यमा पनि रहने कुरा समेत स्पष्ट पार्न चाहन्छु।

कमरेडहरू, पार्टी एकीकरणको ऐतिहासिक घोषणा गरिरहँदा नेपाली कम्युनिस्ट आन्दोलनका दुवै धारको भावना प्रतिनिधित्व गर्ने एकीकृत, सबल र मुलुकको नेतृत्व गर्नसक्ने विशाल नेपाल कम्युनिस्ट पार्टीको तस्बिर मात्रै मेरो मनमा अंकित थियो। हामीले एकीकरणको सङ्क्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिका आधारमा गर्ने विशेष विधि तय गर्‍यौँ र पार्टीका कतिपय वैचारिक, सङ्गठनात्मक र नेतृत्वका विषय दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनबाट टुङ्ग्याउने निर्णय गर्‍यौँ। एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले यिनै विधिलाई ध्यानमा राखेँ। त्यसै अनुरुपका संरचना निर्माण गरिए।

तर मलाई थाहा थिएन, खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरू ‘खेलको नियम’ नै बदल्न लाग्नुहुनेछ र ‘जसरी पनि जित्ने’ महत्त्वाकाङ्क्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनुहुनेछ। खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारीसमेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु। आज पनि म दोहोऱ्याउन चाहन्छु– महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरू त्यसैअनुरूप सहमतिका आधारमा चल्नुपर्दछ।

सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो। सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तर्निहीत हुन्छ भन्ने म ठान्छु। अत्यन्त उज्ज्वल सम्भावना बोकेको र देश तथा जनताले अपार विश्वास गरेको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) आज इतिहासकै गम्भीर सङ्कटमा छ। यो सङ्कट कुनै बाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरूको व्यग्र नेतृत्वमोह र सत्तामोहका कारण निम्तिएको छ।  

आशा छ- कमरेडहरूले यसपटक पनि व्यक्तिविशेषका स्वार्थका लागि आन्दोलनकै सिकार हुने गरी सिर्जना भएको वर्तमान सङ्कटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनुहुनेछ।

मैले त पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु। तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस सङ्कटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरहेको छ।

मलाई स्थायी कमिटीका कमरेडहरूको सामूहिक विवेकमाथि विश्वास छ। गत भदौ २६ गते पनि कमरेडहरूले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराउनुभएको थियो। आशा छ- कमरेडहरूले यसपटक पनि व्यक्तिविशेषका स्वार्थका लागि आन्दोलनकै सिकार हुने गरी सिर्जना भएको वर्तमान सङ्कटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी, सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनुहुनेछ।

हार्दिक अभिवादनसहित,

केपी शर्मा ओली अध्यक्ष एवं प्रधानमन्त्री

२०७७ मङ्सिर २१ 

प्रकाशित: २१ मंसिर २०७७ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App