२५ फाल्गुन २०७७ मंगलबार
राजनीति

शान्ति स्थापनामा अब्बल बन्दै

शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको नेपाली सेना ।

कुनै बेला हिंसा दबाउने नाममा आन्तरिक द्वन्द्व बढाउन भूमिका खेलेको भन्दै चौतर्फी आलोचना बेहोरेको नेपाली सैनिक अहिले आन्तरिक द्वन्द्वमा फसेका मुलुकमा शान्ति स्थापनाका लागि खेलिरहेको भूमिकाका कारण अन्तर्राष्ट्रिय रूपमै प्रशंसा बटुल्न सफल भएको छ । हालै मात्र संयुक्त राष्ट्रसंघ (युएन) अन्तर्गत शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सैनिकले त्यहाँ हुन सक्ने सम्भावित जातीय हिंसालाई रोकिदिएर युएनका तर्फबाट प्रशंसा कमाएको छ । जातीय द्वन्द र नरसंहारबाट गुज्रिएको उक्त मुलुकमा त्यस्तै प्रकारका घटनाको पुनरावृत्ति हुनबाट जोगाएको भन्दै युएनले नेपाली शान्ति सैनिकको योगदानको उच्च प्रशंसा गरेको हो ।  

दक्षिण सुडानको क्युबेटमा तैनाथ कालीध्वज गणअन्तर्गतको टेम्पोररी अपरेटिङ बेस (टिओबी) बाट खटिएका नेपाली शान्ति सैनिकले स्थानीय बासिन्दाबीच हुन सक्ने सम्भावित ठूलो जातीय हिंसा हुन नदिएको हो । गण हेडक्वार्टर तैनाथ रहेको रुम्बेकबाट करिब ७० किमि उत्तर पश्चिमस्थित क्युबेट इलाकानजिकै रहेको क्याटल क्याम्पमा चोरी गर्न आएका कोन्गोर जातिका एक व्यक्तिको झडपमा मृत्यु भएको घटनाले दुई जातीय समुदायबीच हिंसाको रूप लिएको थियो । हिंसा भड्किन सक्ने खबर प्राप्त हुनासाथ टिओबीबाट सहसेनानी विज्ञान विष्टको कमान्डमा खटिएको क्विक रियाक्सन फोर्सले नफ्रीमा दुई पक्षबीच झडप हुनबाट जोगाएको थियो ।

उक्त इलाकाको सुरक्षास्थिति सामान्य भएपछि युएन मिसनका अन्य निकायले त्यहाँ रहेका विभिन्न जातीय समुदायबीच शान्ति कायम गराउने कार्य सुरु गरेका थिए । नेपाली शान्ति सैनिकले आफ्नो कामका कारण प्रशंसा कमाएको यो पहिलोपटक भने होइन । नेपाली सैनिकले विभिन्न मिसनमा हुँदा शान्ति स्थापनाका लागि खेलिरहेको भूमिकाको कदर गर्दै संयुक्त राष्ट्रसंघले मेडल प्रदान तथा सम्मान गर्दै आइरहेको छ । 

गत सेम्टेम्बरमा मात्र दक्षिण सुडानमा शान्ति स्थापनार्थ खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकसहितलाई युएन मेडलबाट सम्मानित गरिएको थियो । 

कोरोना प्रकोपकै बीच युएन शान्ति मिसनमा खटिएका नेपाली सैनिक चिकित्सकहरूले कंगो, सुडान र सिरियामा कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा खेलेको भूमिकाप्रति पनि युएनले उनीहरूको प्रशंसा गरेको थियो । फोर्स मेडिकल अफिसरका रूपमा कार्यरत नेपाली शान्ति सैनिकले सम्बन्धित मिसनका फोर्स कमान्डरमातहत रही कोरोनाविरुद्धको लडाइँमा अग्रस्थानमा रहेर काम गरिरहेको र शान्ति मिसनमा तैनाथ सैनिकमा कुनै हालतमा कोरोना संक्रमण हुन नदिने नीतिअनुसार काम गरेको भन्दै उनीहरूको युएनले प्रशंसा गरेको थियो ।  

गत सेम्टेम्बरमा मात्र दक्षिण सुडानमा शान्ति स्थापनार्थ खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकसहितलाई युएन मेडलबाट सम्मानित गरिएको थियो । यसै वर्षको फेबु्रअरीमा सेन्टर अफ्रिका रिपब्लिक (कार) मा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकले त्यहाँ स्थायित्व, सुरक्षा र शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै युएन मेडलबाट सम्मानित गरिएको थियो । शान्ति स्थापनार्थ खटिने सैनिकको योगदानको मूल्यांकन गर्दै युएनले शान्ति मिसनमा खटिने सैनिकहरूलाई मेडलबाट सम्मान गर्ने गर्छ । युएनमातहत रहेर शान्ति स्थापनार्थ महत्वपूर्ण भूमिका खेलेकै कारण नेपाली सैनिकले अन्तर्राष्ट्रिय जगतमा आफ्नो महत्वपूर्ण छाप छोड्न सफल भएको छ ।  

नेपाली शान्ति सैनिकको योगदान र उनीहरूप्रतिको विश्वासकै कारण गत मार्चमा नेपाल युएनअन्तर्गत सबैभन्दा धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा चौथो नम्बरमा परेको थियो । सन् १९५८ मा युएनको पहलमा पाँच जना नेपाली सैनिकले पर्यवेक्षकका रूपमा पहिलो पटक लेवनानमा सहभागिता जनाएका थिए । हाल विश्वभरका विभिन्न १२ शान्ति मिसनमा नेपालका ५ हजार १ सय ३२ शान्ति सैनिक कार्यरत रहेका छन् । जसमध्ये १ सय ६५ जना महिला सैनिकसमेत रहेका छन् ।

नेपालले युएनको आग्रहमा १० हजार शान्ति सैनिक उपलब्ध गराउन सक्ने प्रतिबद्धता जनाइसकेको छ । युएनअन्तर्गत शान्ति मिसनमा सबैभन्दा धेरै सैनिक उपलब्ध गराउने १०औं नम्बरसम्म पर्ने मुलुकका प्रतिनिधिहरूले युएनका कार्यक्रममा सहभागी हुँदा विशेष सुविधा प्राप्त गर्ने प्रावधान रहेको सैनिक अधिकारी बताउँछन् । शान्ति सैनिककै कारण युएनमा नेपालको विशेष मूल्यांकनसमेत हुने गरेको छ ।

प्रकाशित: २० मंसिर २०७७ ०८:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App