८ वैशाख २०८१ शनिबार
राजनीति

अर्थमन्त्री पौडेलले गरे तिनाउ दानव कोरिडोरको शिलान्यास

रुपन्देहीको तिनाउ दानव कोरिडोरको बुधबार बुटवलमा एक कार्यक्रमका बीच अर्थमन्त्री बिष्णु पौडेलले शिलान्यास गरे। बुटवलको बीच भएर बग्ने तिनाउ र दानव नदीको दुवैतर्फको किनारै किनार निर्माण हुन लागेको करिडोरले भारतीय सीमासंग जोडिएको मर्चवारलाई बुटवलसंग सिधै जोड्ने छ। सो करिडोरको बुधबार शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले रुपन्देहीलाई देशकै आर्थिक केन्द्रको रुपमा विकास गर्ने बताए। पौडेलले सो आयोजनालाई आफ्नो ड्रिम प्रोजेक्टको रुपमा अगाडी बढाएको बताए।

कोरिडोरको शिलान्यास गर्दै मन्त्री पौडेलले रुपन्देहीका कुनै पनि विकासे आयोजना अधुरा रहन नदिने बताए। अहिले संचालन भईरहेका र अगाडी सारिएका आयोजनाहरु सम्पन्न हुँदा रुपन्देही विकासमा सबैभन्दा अब्बल बन्ने र यहाँको महत्व अझै बढ्ने उनले बताए। नेकपा महासचिव समेत रहेका मन्त्री पौडेल प्रम ओली नेतृत्वको सरकारले पुरा पाँच वर्ष नै टिक्ने पनि बताए। विकास र समृद्धिमा वर्तमान सरकारले उल्लेख्य काम गरेको दावी पनि गरे।  

तिनाउ दानव करिडोर अन्तर्गत तिनाउ नदीमा ३५ किलोमिटर र दानव नदीमा १५ किलोमिटर गरि दुवैतर्फ २ लेनको सडक निर्माण हुने छ। पहिलो चरणमा तिनाउ नदीको साढे ८ किलोमिटरका लागि  ५२ करोड ४६ लाख र दानव नदीको साढे ३ किलोमिटरका लागि १९ करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता भईसकेको छ। किरांतेश्वर मैनाचुली अविसा जेवी र लामा बानियां जेवीसंग गत असोजमा ठेक्का सम्झौता भएको हो।

किरांतेश्वर मैनाचुली अविसा जेवीले तिनाउ तर्फको र लामा बानियां जेवीले दानवतर्फको सडक निर्माण गर्ने छन्। ठेक्का सम्झौता अनुसार तिनाउको ३६ महिना र दानवको २७ महिनामा निर्माण सक्नु पर्नेछ।

पहिलो चरणमा तिनाउतर्फको बुटवल नयां बसपार्क पछाडिदेखि तिलोत्तमाको मगरघाटसम्म र दानवतर्फ बेलवास झोलुंगे पुलदेखि नयांगाउं पुलसम्म कोरिडोर निर्माण हुनेछ। दुवैतर्फ ५० किलोमिटर सडक निर्माणका लागि ४ अर्ब १३ करोड रुपैयाँ लाग्ने सडक विभागले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। सडक निर्माणको क्रममा बहाव क्षेत्र छाडेर नदीको जगदेखि नै पर्खाल लगाइने बताइएको छ।

नदीतर्फ ३ मिटर क्षेत्रमा हरियाली क्षेत्र बनाइने छ। बस्तीतर्फको सडक छेउमा फुटपाथ बन्ने छ। कोरिडोर निर्माणपछि अहिले अतिक्रमण हुँदै आएको तिनाउ नदीको उकास क्षेत्र जोगिने र नदीको बहाव क्षेत्र सुरक्षित हुने विश्वास गरिएको छ।

प्रकाशित: १० मंसिर २०७७ १४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App