७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीले देउवासँग सत्ता समीकरणबारे कुरा गरेका हाेइनन् : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सत्ता समीकरणबारे कुनै छलफल नभएको दाबी गरेका छन्। 

प्रेस संगठन नेपाल (रूपन्देही) ले मंगलबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेकपा महासचिव पौडेलले भने, ‘प्रधानमन्त्री ओलीज्यूसँग स्पष्ट बहुमत हुँदाहुँदै प्रतिपक्षसँग सत्ता समीकरणको छलफल गर्न आवश्यक नै छैन।’

उनीहरूबीच नियमित भेटघाटअन्तर्गत संवैधानिक नियुक्ति तथा समसामयिक विषयमा छलफल भएको उनको दाबी छ।  

पार्टी गम्भीर संकटमा  

नेकपाभित्रको पछिल्लो विवादका सम्बन्धमा महासचिव पौडेलले मर्यादा नाघेर निकालिएको विवादले पार्टीलाई गम्भीर अवस्थामा पुर्‍याएकाे बताएका छन्।  

नेतृत्व तहबाटै भइरहेको आरोप/प्रत्यारोपले पार्टीको एकतामा गम्भीर संकट उत्पन्न भएको उनले बताएका हुन्।  

पार्टीभित्रको समस्या छलफलकै माध्यमबाट समाधान गर्ने प्रयास भइरहेको उनले बताए।  

‘पार्टीमा अहिले मर्यादा बाहिर गएर जुन खालका अभिव्यक्ति आइरहेका छन्, तिनलाई रोकेर पार्टीलाइ थप बलियो बनाउने प्रयास भइरहेको छ,’ महासचिव पौडेलले भने, ‘त्यसका लागि मर्यादा बाहिर गएकाहरू मर्यादामा आउनुपर्छ।’

अहिले नेकपाको भविष्य साँच्चै कठिन मोडमा पुगेको र यसअघि यस्तो खालको जटिल समस्या कहिल्यै नदेखिएको पौडेलले बताए। 

उनले अहिलेको अन्तरविरोध सैद्धान्तिक वा वैचारिक नभएको पनि उल्लेख गरे। कार्यदलको साझा निष्कर्ष र निर्णयभन्दा बाहिर गएर गतिविधि भएपछि पार्टी एकतामा संकट निम्तिएको उनको भनाइ छ। साथै महासचिव पौडेलले अन्तिम समयसम्म पार्टीको एकता जोगाउने प्रयास गरिने बताए।  

पत्रकार भेटघाटमा अर्थमन्त्री पौडेलले लुम्बिनी प्रदेशको राजधानीसँग अर्थमन्त्री साटेको भन्ने आरोपको पनि खण्डन गरे। आफुलाइ प्रधानमन्त्रीले योग्य ठानेर नै अर्थमन्त्री बनाएको दाबी गर्दै उनले यसअघि पनि अर्थमन्त्री बनेर आफनो क्षमता प्रस्तुत गरिसकेको बताए।  

‘प्रदेशको राजधानी प्रदेश सभाले गर्ने निर्णय हो। अर्थमन्त्री कसलाइ बनाउने, को योग्य छ भनेर प्रधानमन्त्रीले निर्णय गर्ने कुरा हो। त्यसैले यस्ता भ्रममा नपर्न सबैलाइ अनुरोध गर्दछु,’ पौडेलले भने। 

बुटवलबाट राजधानी सारेको विषयमा अव विरोध गर्नुको कुनै अर्थ नभएको उनले बताए। ‘अधिकार प्राप्त निकायले संवैधानिक ढंगले गरेको निर्णयलाई अब वरिोध हैन, स्वीकार गरेर अगाडि बढाैँ,’ अर्थमन्त्री पौडेलले भने। 

बरु रुपन्देही, नवलपरासी र कपिलबस्तुलाइ जोडेर आर्थिक तथा बाणिज्य केन्द्र बनाउने प्रदेश सरकारको योजनालाई साकार पार्न सबै लाग्नु पर्नेमा अर्थमन्त्री पौडेलले जोड दिए।  

प्रकाशित: ९ मंसिर २०७७ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App