८ वैशाख २०८१ शनिबार
राजनीति

यो सरकार ढल्दैन: प्रधानमन्त्री

ताप्लेजुङको घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर:नागरिक।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको लोकप्रियता देखेर आत्तिएका मानिसले सरकार परिवर्तन हुँदैछ भनेर भ्रम छरेको बताएका छन्। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित घुन्सामा सोमबार सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन तथा स्थानीयसँगको साक्षात्कारमा सहभागी ओलीले भ्रममा नपर्न आग्रह गर्दै कुनै पनि हालतमा आफू नेतृत्वको सरकार परिवर्तन नहुने बताएका हुन्।

देशको प्रगतिबाट आत्तिएकाले मात्र आफ्नो राजीनामा मागेको भन्दै ओलीले सरकारले काम गरेन भन्नेहरूलाई ‘काम नभएका र अस्थिरता चाहने झुण्ड’ को संज्ञा दिए। मुलुकको गुमेको जमिन फिर्ता गर्नेजस्ता लोकप्रिय काम गरेको सरकारले अरू विकास र समृद्धिका काम नगरोस् भन्नेहरूले नै आफ्नो राजीनामा मागेको उनले बताए। ‘लोकप्रिय काम गर्ने सरकार रह्यो भने आफ्नो अस्तित्व समाप्त हुन्छ भन्ने पिरले सरकार चलाइरहेको पार्टीभित्र कहिले अध्यक्षविरुद्ध, कहिले प्रधानमन्त्रीविरुद्ध, कहिले लिखित त कहिले छापेर सरकार ढलिहाल्छ भनेर प्रचार गरेको पाइन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरू यहाँ राजनीतिकर्मी पनि हुनहुन्छ होला, हाम्रो पार्टी अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध पार्टीमा कहिले लिखित र कहिले मौखिक रूपमा प्रश्न उठाएर सरकार ढलिहाल्छ, सरकारले केही काम गर्न सकेन भन्नेजस्ता विभिन्न लाञ्छना आइरहन्छन्। सरकारको राम्रा पक्षबाट आत्तिएका र केही काम नपाएकाहरूबाट यस्ता लाञ्छना लगाइएको हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिबाट आत्तिएकाले मात्र आफ्नो राजीनामा मागेको भन्दै सरकारले काम गरेन भन्नेहरूलाई ‘काम नभएका र अस्थिरता चाहने झुण्ड’ को संज्ञा दिए।

ओलीले वर्तमान सरकारको नेतृत्व कुनै पनि हालतमा परिवर्तन नहुने दाबी गर्दै यसले देश र जनताको पक्षमा काम गरिहने बताए। ओलीले आफू नेतृत्वको सरकार जनताका पक्षमा निरन्तर र अडिग ढंगले चलिरहनेमा शंका नगर्न पनि आग्रह गरे। सरकार समृद्धिका लागि अघि बढिरहँदा केही पक्षले लोकतान्त्रिक प्रणालीविरुद्ध नै भ्रम फैलाइरहेको भन्दै ओलीले त्यो कार्य त्रुटिपूर्ण भएको बताए। ओलीले सरकार छिमेकी मुलुकसँगको सम्बन्ध सुदृढ पार्ने नीतिका साथ प्रस्तुत भइरहेको बताए। उनले वर्तमान सरकारले छिमेकी मुलुक भारतद्वारा मिचिएको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि फिर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अघि बढाएको बताए। उनले सरकारले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई अझ सुधार गर्ने तथा बन्द नाका खोल्नेजस्ता कार्यमा क्रमशः सफलता पाउँदै गरेको दाबी गरे।

कार्यक्रमलाई संक्षिप्त सम्बोधन गरेका प्रधानमन्त्री ओलीले अबको तीन वर्षभित्र उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) लोकमार्गको ट्र्याक खुलाउने र ग्राभेल गरिने बताए। उनले विकासको गतिले देशका दुर्गम स्थान पनि सुगम बनिरहेको दाबी गर्दै विकास निर्माणमा सरकारलाई साथ दिन आग्रह गरे। प्रधानमन्त्री ओलीले आफूसँगै कार्यक्रममा उपस्थित पर्यटनमन्त्री योगेशकुमार भट्टराईलाई पर्यटन प्रवद्र्धनका लागि विशेष अनुमति खारेज गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न निर्देश गरे।

घुन्सालाई नमुना गाउँ बनाउन प्रस्ताव
घुन्सावासीले प्रधानमन्त्री ओलीसमक्ष घुन्सालाई नमुना गाउँका रूपमा विकास गर्न माग गरेका छन्। स्थानीयले प्रधानमन्त्रीसमक्ष मागपत्र पेस गर्दै कञ्चनजंघा पदमार्गको स्तरोन्नति गर्नुपर्ने, घुन्सा लघु जलविद्युत् आयोजनाको क्षमता वृद्धि गरी खम्बाचेन, ग्याब्ला र अम्जिलेसालगायत गाउँमा विद्युतीकरण विस्तार गर्नुपर्ने जस्ता माग राखेका छन्। त्यस्तै यस क्षेत्रको पहिलो बस्ती खम्बाचेतको नापी छुट जग्गाको पुरानो प्रमाणपत्रका आधारमा नापी गरी लालपुर्जा उपलब्ध गराउन र यहाँका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी उपलब्ध गराइदिनसमेत स्थानीयले माग गरेका छन्। सदरमुकाम फुङ्लिङबाट सवारीसाधन र पैदल गरी दुई दिनमा पुगिने घुन्सामा पर्याप्त स्वास्थ्यकर्मी भए स्थानीयलाई मात्रै नभई देशविदेशबाट आउने पर्यटकलाई समेत फाइदा पुग्ने उनीहरूको भनाइ छ।

५ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा
प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले फक्ताङ्लुङ–६ लेलेपस्थित घुन्सा निमाविका विद्यार्थीका लागि ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छन्। घुन्सामा सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन गर्न आएका प्रधानमन्त्री ओलीसँगै आएकी उनले घुन्साका जेहेनदार तथा विपन्न विद्यार्थीको पढाइमा सहयोग पु-याउन कोष स्थापनाको घोषणा गरेकी हुन्। पत्नी शाक्यका तर्फबाट प्रधानमन्त्री ओली आफैंले उक्त अक्षयकोष स्थापानाको घोषणा गरेका थिए। ओलीले ५ लाख रुपैयाँको उक्त अक्षयकोषबाट वर्षभरिमा पाँच बालक र पाँच बालिकालाई छात्रवृत्ति दिन घुन्सा निमाविका प्रधानाध्यापक लिलाचक्र गुरुङलाई अनुरोध गरे। प्रधानमन्त्री ओली पत्नी शाक्यले घुन्सा र आसपासका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिन्। उनले घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य केन्द्रका लागि १० थान कम्बल दिने घोषणा पनि गरिन्।

प्रकाशित: ९ मंसिर २०७७ ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App