coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा माटोको हाँडी हैन, प्याट्ट फुटाउनलाई: भीम रावल

पत्रकार सम्मेलनमा नेता भीम रावल । तस्बिरः पुष्पराज/नागरिक

नेकपाका नेता तथा स्थायी कमिटी सदस्य भीम रावलले नेकपा पार्टी कसैले चाहेर पनि अहिल्यै नफुट्ने बताएका छन्। धनगढीमा आइतबार दिउँसो आयोजित पत्रकार भेटघाटमा नेता रावलले नेकपा पार्टी एक/दुई जनाले चाहँदैमा नफुट्ने बताएका हुन्। उनले भने,‘नेकपा माटोको हाँडी हैन, कुनै व्यक्तिले लठ्ठीले हानेर प्याट्ट फुट्यो भन्ने वित्तिकै फुट्ने।’  

उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इंगित गर्दै भने,‘नेकपा आठ लाख कार्यकर्ता भएको विशाल पार्टीलाई कसैले बोल्दैमा पार्टी फुट्ने भन्ने हँुदैन।’ नेकपा फुटाएर पार्टी भित्र कसैलाई पनि फाइदा नहुने बताउँदै उनले भने,‘केपी शर्मा ओलीले पार्टी फुटाएर प्रधामन्त्रीभन्दा ठूलो पद के पाउनुहुन्छ, अर्का कार्यकारी अध्यक्ष प्रचण्डले योभन्दा ठूलो कुन पार्टीको नेतृत्व गर्नुहुन्छ? त्यसैले पार्टी फुट्ने भन्ने हल्ला मात्रै हो।’ नेता रावलले एक अर्को प्रसंगमा बोल्दै भने,‘प्रधानमन्त्री ओलीले सस्तो लोकप्रियताका लागि दोस्रो पुस्ता र युवालाई नेतृत्व दिनुपर्ने भाषण गर्दै हिँडेका छन्।’ युवा र दोस्रो पुस्तालाई नेतृत्व दिने कुरा बाहिर बोलेर नहुने भन्दै उनले भने,‘यो कुरा प्रधानमन्त्री ओलीले नेकपाको बैठकमा प्रस्ताव ल्याउन सक्नुपर्छ।’ युवालाई नेतृत्व दिने पार्टीले निर्णय गरेपछि कति उमेर समूहलाई दिने भन्ने हदबन्दी तोकेमा आफू पनि पहिले नै विदा लिने उनले बताए।  

अहिले पार्टीभित्र छलफल विवाद पद भागबन्डाका लागि नभएको बताउँदै उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदका लागि लडाई नरहेको, तर पार्टी नेतृत्वको सवाल भने भएको बताए। ‘२०७६ मंसिर ४ गते सचिवालय बैठकमा सरकार सञ्चालन पूरा अवधि केपी ओलीले गर्ने र पार्टीको कार्यकारी अधिकार प्रचण्डले गर्ने भन्ने सहमति भएको थियो, उहिले सहमति भएको कुरा अहिले आएर प्रचण्डले पदको लडाईँ गरे भन्ने कुरा सुहाउँदैन,’ उनले भने।    

पार्टी भित्रको अन्तरविरोधलाई लिएर अध्यक्षद्वय ओली र दाहालले मात्रै आ–आफ्नो कुरा मात्रै अगाडि सारेको बताउँदै उनले भने,‘बाँकी नेता तथा कार्यकर्तालाई वास्ता गरिएको छैन।’

प्रकाशित: ७ मंसिर २०७७ १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App