८ वैशाख २०८१ शनिबार
राजनीति

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको कार्यक्रममा नाराबाजी

चितवनमा राप्ती नगर पार्टीको बैठकलाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे ।

चितवनमा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा नाराबाजी भएको छ। शनिबार राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा आयोजित राप्ती नगर पार्टीको बैठकलाई सम्बोधन गरिरहेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ता केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नाराबाजी गरेका हुन्। पार्टीमा देखिएको विवाद समाधानमा पार्टीबाट गठित कार्यदलको भूमिका बारेमा बोलिरहँदा होहल्ला र नाराबाजी भएको हो।

बैठकलाई सम्बोधन गर्दै नेता पाण्डेले ‘मदन भण्डारी फाउण्डेसनमार्फत गुटबन्दी भएको बताएपछि नाराबाजी सुरु भएको राप्ती नगरकमिटीका नगर इन्चार्ज मानबहादुर स्याङ्बोले बताए। पाण्डेले पार्टी कार्यदलले मदन भण्डारी फाउण्डेसनको गतिविधि अहिलेलाई स्थगित गर्नुपर्छ भनेर सिफारिस गरेको भन्ने जानकारी गराउनासाथ होहल्ला भएको स्याङ्बोले बताए। नाराबाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध समेत भएको थियो।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले चितवनमा नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्सर्ना गरेका छन्। सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवम् सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन्। यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भएको भएको उनले बताएका छन्।

नेता नेपालले विज्ञप्तिमा भनेका छन्, ‘अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवम् भत्सर्ना गर्दछु। सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जोसुकै भए पनि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउँछु।’

प्रकाशित: ६ मंसिर २०७७ १३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App