८ वैशाख २०८१ शनिबार
राजनीति

‘शासक नसुध्रिए जनताले पन्छाउँछन्’

अमेरिकी निर्वाचन

यही नोभेम्बर ३ मा सम्पन्न अमेरिकी निर्वाचनको परिणामअनुसार डेमेक्र्याट्स उम्मेदवार जोसेफ रोबिनेट्टे बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति निर्वाचित भएका छन् । वर्तमान राष्ट्रपतिसमेत रहेका प्रतिस्पर्धी डोनाल्ड ट्रम्पलाई भारी मतले पराजित गर्दै उनी विजयी भएका हुन् । बाइडेन सन् २००९ देखि २०१७ सम्म तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति थिए । बाइडेनसँग पराजित भएसँगै ट्रम्प अमेरिकी इतिहासमा दुई कार्यकाल राष्ट्रपति हुन नपाउने १०औं राजनीतिकर्मी बनेका छन् । सन् १९९० यता दुई कार्यकाल राष्ट्रपति बन्न नपाउने उनी नै पहिलो हुन् ।

अमेरिकामा सन् २०१६ को निर्वाचनसँगै उदाएका ट्रम्प सन्की स्वभावका छन् । अमेरिकी जनताले ४५औं राष्ट्रपतिका रूपमा निर्वाचित गरेपछि पनि उनको स्वभावमा कुनै परिवर्तन आएन, बरु सन्कीपन बढ्दै गयो । यो वर्षको सुरुदेखि फैलिएको महामारी कोभिड–१९ ले त्राहिमाम बनाइरहेका बेला सारा विश्वले आशा गरिरहेका राष्ट्रपति ट्रम्प भने भाइरससँग लड्न उपयुक्त रणनीति बनाउनतिर नलागेर ‘चिनियाँ भाइरस’ भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिन व्यस्त रहे । जसको परिणामस्वरूप झन्डै अढाइ लाख अमेरिकी नागरिकले कोभिड–१९ का कारण ज्यान गुमाए भने झन्डै एक करोड संक्रमित भए । यो संख्या अझै बढ्दो क्रममा छ । ट्रम्प आफैं पनि यो रोगबाट संक्रमित हुन पुगे ।  

राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले पेरिस सम्झौतालगायत जलवायु परिवर्तनको प्रभाव कम गर्न भएका महत्वपूर्ण सम्झौताबाट हात झिके । उनले विश्वशक्तिका रूपमा अमेरिकाले गर्न सक्ने धेरै महत्वपूर्ण काम गरेनन् नै, बरु कयौँ अनपेक्षित निर्णय गर्दै गए । जसको परिणाम शक्तिराष्ट्रका रूपमा लामो समयदेखि विश्वलाई नेतृत्व गर्दै आएको अमेरिकी नेतृत्वमाथि विश्वासको संकट देखाप-यो । शासकका रूपमा ट्रम्पले सुध्रने संकेत नगरेपछि हालै सम्पन्न निर्वाचनमार्फत अमेरिकी जनताले नै आफ्नो निर्णयमा पुनर्विचार गरेका हुन् । अमेरिकी जनताले अघिल्लो निर्वाचनमा आफैंले गरेको गल्ती सच्याउँदै ट्रम्पलाई दोस्रो कार्यकालका लागि अस्वीकृत गरिदिएका छन् ।  

अमेरिकामा राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा नेपालसहित विश्वभर त्यसको प्रभाव देखिएको छ । अमेरिकी निर्वाचनमा ट्रम्पको हार र बाइडेनको जितलाई लिएर सामाजिक सञ्जालमार्फत नेपालीले पनि आफ्ना शासकलाई खबरदारी गरिरहेका छन् । तर अमेरिकी निर्वाचनले शासकलाई भन्दा पनि जनतालाई महत्वपूर्ण सन्देश दिएको छ । ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित गरेर आफूहरूले गल्ती गरेको भन्दै अमेरिकी जनताले महसुस गरे, सुध्रने कुनै संकेत नगरेपछि उनीहरूले जवाफ पनि दिए । अर्थात् शासक नसुध्रिएपछि यो निर्वाचनमा अमेरिकी जनता आफैं सच्चिएका हुन् ।  

नेपालको हकमा पनि जनताको खबरदारीले मात्र शासक सुध्रदैनन् भन्ने उदाहरण शासकहरूको व्यवहारले देखाइरहेको छ ।  

महामारीका बेला जनता अभाव, संकट र मृत्युसँग जुधिरहेका छन्, सरकारको नेतृत्व गर्ने सत्तारूढ र प्रतिपक्षी दलका नेताहरू भने व्यक्तिगत स्वार्थ र लाभका लागि जुहारी खेलिरहेका छन् । उनीहरूले आफैंले गरेका प्रतिबद्धता बिर्सेर जनताको पीडामा नुनचुक छर्किने काम गरिरहेका छन् । यसको संकेत हो शासक सुध्रिन चाहँदैनन् । अर्थात्, अमेरिकामा जस्तै नेपाली जनता पनि आफैं सुध्रिनुपर्छ ।  

दुई कार्यकाल राष्ट्रपति बन्न नपाउने अमेरिकी राजनीतिज्ञ
पछिल्लो तीन दशकमा अमेरिकामा निरन्तर एकै व्यक्ति दुई कार्यकालसम्म राष्ट्रपतिमा निर्वाचित हुँदै आएका थिए । त्यसअघि पनि केही अपवादबाहेक एकै व्यक्ति दुई कार्यकाल जिम्मेवारीमा रहँदै आएका थिए । तर त्यही अपवादमा ट्रम्प पनि परेका छन् । उनी पछिल्लो तीन दशकमा पहिलो र अमेरिकाको इतिहासमा दुई कार्यकाल राष्ट्रपति बन्न नपाउने १०औं व्यक्ति बनेका छन् ।  

एक कार्यकाल मात्र राष्ट्रपति बन्ने त्यस्ता अभागी अमेरिकी राष्ट्रपतिहरू जोन आडम्स (सन् १७९७–१८०१०), जोन क्वाइन्सी आदम्स (सन् १८२५–१८२९), मार्टिन भन बुरेन (सन् १८३७–१८४१), फांकलिन पिअर्स (सन् १८५३–१८५७), बेन्जामिन ह्यारसन (सन् १८८९–१८९३), विलियम होवार्ड टफ्ट (सन् १९०९–१९१३), हर्वट हुभर (सन् १९२९–१९३३), जिम्मी कार्टर (सन् १९७७–१९८१), जर्ज एच डब्लु बुस (सन् १९८९–१९९३ र डोनाल्ड ट्रम्प (सन् २०१६–२०२०) हुन् ।

कमला पहिलो महिला उपराष्ट्रपति
अमेरिकी उपराष्ट्रपतिमा विजयी हुने कमला ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला नेत्री बनेकी छन् । उनी गोरा समुदायभन्दा बाहिरबाट उपराष्ट्रपति हुने पनि पहिलो महिला हुन् । जमैकाका बाबु र भारतीय मूलकी आमाबाट जन्मिएकी कमला बाबुआमाको सम्बन्ध विच्छेदपछि आमासँगै बसेर हुर्केकी थिइन् । सन् २०१९ मा वासिङ्टन पोस्टसँग कुरा गर्दै कमलाले राजनेताहरूलाई उनीहरूको पृष्ठभूमि र छालाको रङका कारण छुट्याउन नहुने बताएकी थिइन् । क्यालिफोर्नियामा डेमोक्र्याट्सका तर्फबाट राजनीति गर्दै आएकी उनले उपराष्ट्रपतिमा निर्वाचित भएसँगै उक्त पदमा पुग्ने आफू अन्तिम महिला नहुने बताएकी छन् ।

प्रकाशित: २४ कार्तिक २०७७ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App