ताप्लेजुङको सुकेटार विमानस्थलमा कम्तिमा ४२ सिटे क्षमताका जहाज बस्न मिल्ने गरी स्तरोन्नती गर्ने गृहकार्यका लागि प्रारम्भिक सम्भाव्यता थालिएको छ। त्यसकै प्रयास स्वरुप मन्त्री भट्टराईले शुक्रबार निर्माणाधीन सुकेटार विमानस्थलको निरीक्षण तथा थप स्तरोन्नतीका लागि प्राविधिक जानकारी लिएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजनकुमार पोखरेल र गौरवका आयोजना प्रमुख प्रदीप अधिकारीका साथ मन्त्री भट्टराईले शुक्रबार सुकेटार विमानस्थलको थप स्तरोन्नतीका लागि गर्न सकिने प्रयासका बारेमा स्थलगत अवलोकन गरेका हुन्। मन्त्री भट्टराईले थप स्तरोन्नतीका प्रयास गर्दा हुन सक्ने प्रभाव र त्यसको व्यवस्थापनका बारेमा पूर्व सांसद, प्रदेशसभाका सांसद, जिल्ला समन्वय समिति प्रमुख र नगरप्रमुखसहितका सरोकारवालासंग राय समेत लिएका छन्।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पोखरेलले कम्तिमा ४२ सिट क्षमताका जहाजको सहज उडान र अवतरण हुन मिल्ने गरी सुकेटार जिमानस्थलको थप स्तरोन्नतीको गृहकार्य भइरहेको जानकारी दिए। ‘मन्त्री ज्यूले कम्तिमा ४२ सिट क्षमताका जहाज सञ्चालन हुने तहको बनाउने कार्यका लागि प्रकृया अघि बढाउन भन्नु भएको छ’ पोखरेलले भने। अहिले ताप्लेजुङको सुकेटार विमानस्थलको धावनमार्ग ७ सय मिटर लम्बाइको छ। ७ सय मिटरलाई थप १ सय ५० मिटर लम्बाइ थप गरी ८ सय ५० मिटर लम्बाइ बनाउने कार्य धमाधम भइरहेको छ।
नागरिक उड्डयन कार्यालय सुकेटारका प्रमुख सूर्यबहादुर खत्रीका अनुसार १ सय ५० मिटर लम्बाइ थप गर्ने, डाँडा कटान, व्याबिङ र विमानस्थल क्षेत्रमा बिभिन्न संरचनाको निर्माण तथा मर्मतको कार्य आगामी चैत भित्र पूरा हुने छ। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पोखरेलले धानवमार्गको लम्बाइ ३ सय ५० मिटर थप गर्न सकिएमा ४२ सिटे क्षमताका जहाज र दुइतर्फबाटै उडान तथा अवतरण गर्न सकिने जानकारी दिए। उनले भने जस्तो हुनका लागि सुकेटार विमानस्थलको लम्बाइ १ हजार २ सय मिटर हुनुपर्ने हुन्छ।
‘हामी त्यो प्रयासमा जुटेका छौं’ शुक्रबारको भ्रमणले त्यसकार्यमा लाग्न आधार तयार गरेको बताउँदै पोखरेलले भने। अहिले सुकेटार विमानस्थलमा एकतर्फबाट मात्र जहाजको उडान तथा अवतरण हुँदै आएको छ भने ट्विन अटर जहाजले मात्र उडान भर्दै आइरहेको छ। महानिर्देशक पोखरेलले देशभरका ५५ वटा विमानस्थलको निर्माण तथा स्तरोन्नतीका कार्यहरु भइरहेको भन्दै ति कार्यहरु चाँडै पूरा हुने बिश्वास लिए। ‘हामी निर्माण, मर्मत तथा स्तरोन्नतीका कार्यको नियमित प्रगति हेरिरहेका छौं’उनले भने ‘बिश्वास छ थालिएका कार्यहरु चाँडै पूरा हुनेछन्।
प्रकाशित: २१ कार्तिक २०७७ ०८:५९ शुक्रबार