८ वैशाख २०८१ शनिबार
राजनीति

लुम्बिनी प्रदेशको स्थायी राजधानीमा ‘हिउँदे अधिवेशन’ को तीव्र तयारी

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन स्थायी राजधानी देउखुरीमै सञ्चालनका लागि प्रदेश सरकार तथा प्रदेशसभाले तयारी तीव्र पारेका छन्। प्रदेशको हिउँदे अधिवेशन आगामी दुई महिनापछि सुरु हुँदै छ। प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिएपछि स्थायी राजधानीमै प्रदेशसभा स्थापना गरेर आगामी हिउँदे अधिवेशन सञ्चालन गर्ने तयारी अनुरुप स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारको अनुगमन तीव्र पारिएको छ। 

यसैक्रममा प्रदेशसभाका सभामुख पूर्णवहादुर घर्ती र आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले शुक्रबार प्रदेशससभा सञ्चालनका लागि भौतिक पूर्वाधारको अवस्था बारे अनुगमन गरेका छन्। साथै उनीहरुले स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिका स्थित राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा उपलब्ध हुन सके प्रदेशको आगामी हिउँदे अधिवेशन स्थायी राजधानीमै हुने बताए।  

‘यदि राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा उपलब्ध हुन सके प्रदेश सभा स्थापना गरेर आगामी हिउँदे अधिवेशन स्थायी राजधानीबाटै चलाउन सकिन्छ,’ उनीहरुको भनाई उदृत गर्दै प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले भने ‘त्यसका लागि भौतिक पूर्वाधारको व्यवस्थापनको प्रकृया तत्कालै थालिनु पर्छ।’ प्राविधिक शिक्षालयका ३५ वटा भवन छन् भने २८ विघा जग्गा एकै कम्पाउण्डमा छ।  

प्राविधिक शिक्षालयो भवन प्रदेशसभालाई दिइए राप्ती प्राविधिक शिक्षालयलाई त्यहाँबाट स्थानान्तरण गरिनु पर्छ। त्यसका लागि देउखुरी गढवाको गोबरडिहामा रहेको सामुदायिक विद्यालयको भवन विकल्पका रुपमा अघि सारिएको छ। यो विद्यालयको ४० विघा जग्गा छ। यसैगरि ७ विघा जग्गासहितको लालमटिया स्थित आदर्श माविको भवनमा पनि राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण गर्न सकिने अर्को विकल्प देखाईएको छ। ‘यि दुई विद्यालय मध्य एउटा विद्यालयको भवनमा राप्ती प्राविधिक शिक्षालयलाई स्थानान्तरण गर्न सकिने गरि प्रकृया सुरु भैसकेको छ,’ प्रदेशसभा सदस्य चौधरीले भने ‘त्यसका लागि यि भवनहरुको अनुगमन समेत गरिएको छ।’  

शुक्रबार प्रदेशसभा सञ्चालनका लागि स्थायी राजधानीको भौतिक पूर्वाधारको अवस्था अनुगमन गरेका प्रदेशसभाका सभामुख घर्ती र कानुन मन्त्री केसीले स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारको अवस्था बारे मुख्यमन्त्री शंकर पोख्रेललाई जानकारी गराउने छन्। प्रदेशसभा सदस्य चौधरीका अनुसार उनीहरुले स्थायी राधजानी देउखुरीमै संसदको हिउँदे अधिवेशन सञ्चालन गर्न सकिने आधारसहितको सकारात्मक सुझाव मुख्यन्त्री समक्ष प्रस्तुत गर्ने विश्वास ब्यक्त गरे। ‘यहाँको भौतिक पूर्वाधार र जग्गाको अवस्था बारे अनुगमन गरेका सभामुख र कानुन मन्त्री ज्यू हिउँदे अधिवेशन स्थायी राजधानीमै सञ्चालन गर्न सकिने कुरामा ढुक्क देखिनु भएको छ,’ उनले भने ‘आगामी हिउँदे अधिवेशन अब स्थायी राजधानीमै सञ्चालन हुने कुरामा त्यति शंका अब देखिन्न।’  

यसअघि प्रदेश पूर्वाधार विकास प्राधिकरणको टोलीले भने स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारहरुको अवस्था बारे अनुगमन गरिसकेको छ भने प्रदेशका प्रमुख सचिव र अर्थ सचिवले पनि भौतिक पूर्वाधारको अवस्था अनुगमन गरेर फर्किसकेका छन्।

प्रकाशित: १४ कार्तिक २०७७ १०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App